सुचना, समाचार र मनोरन्जन

संखुवासभा सामूहिक हत्याकाण्ड : पक्राउ परे भतिजा नाता पर्ने लोकबहादुर

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । हत्या आरोपमा शनिबार बिहान प्रहरीले छिमेकी २६ वर्षीय लोकबहादुर कार्कीलालाई पक्राउ गरेको हो ।

नातामा भतिजा पर्ने उम्लिङकै २६ वर्षीय कार्कीलाई प्रहरीले पक्राउ गरेको हो। आइतबार सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले हत्या आरोपी कार्कीको पूरै परिचय भने खुलाएको छैन । मृतकको घर र लोकबहादुरको घर डेढ सय मिटरको दुरीमा छ। प्रहरीले पक्राउ परेका व्यक्तिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिने भनेको छ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी युवक शङ्काको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार कार्की केही समय पहिले वैदेशिक रोजगारीबाट फर्किएका थिए।

गत सोमबार मादी-–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल पुगेको थियो । घटनामा संम्लग्न भएको आरोपमा कार्की परिवारकै आफन्त भएको डिएसपी प्रमुख लालध्वज सुवेदीले बताएका छन् ।

घटना एकाबिहानै भएको पनि अनुसन्धानमा खुलेको छ। प्रहरीका अनुसार घटना साढे ५ देखि ६ बजेको बीचमा भएको देखिएको छ। कार्कीले सुरूमा तेजबहादुरलाई प्रहार गरेको र त्यसपछि क्रमश: पालैपालो अरूलाई प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

कमेन्ट्स
Loading...