हरितालिका तीजको अन्तिम दिन आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै छ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमीमा अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने र स्नान गर्ने चलन छ ।
हिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन्। सप्तऋषिको पूजा गरेमा रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भएको भए त्यसबाट मुक्ति पाइने हिन्दु धर्मावलम्बीको विश्वास छ ।
हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको गौतमले बताए ।
- तस्बिरहरु हेर्नुहाेस् :
