सुचना, समाचार र मनोरन्जन

भूकम्पको ६ वर्षमा पनि ठडिएन गोरखा दरबार

फेरि पुरानै ठेकेदारलाई ठेक्का

  •  
  •  
  •  
  •  

१२ वैशाख ०७२ को विनाशकारी भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै ढलेको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माणको काम अझै सकिएको छैन । पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बहानाबाजी र ढिलासुस्तीका कारण साढे ६ वर्षसम्म पनि दरबारको पुनर्निर्माण सम्पन्न हुन नसकेको हो ।

पुरातात्विक विभागले ०७४ कात्तिकमा दुई वर्षभित्रै दरबारको पुनर्निर्माण सिध्याउने भन्दै कुल चार करोड ३५ लाख रुपैयाँमा पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौताअनुसार ०७६ मंसिर मसान्तसम्ममा गोरखा दरबारको पुनर्निर्माण सम्पन्न भईसक्नुपर्ने थियो । तर, विभिन्न बहाना देखाउँदै ठेकेदार कम्पनीले काममा ढिलासुस्ती गरिरह्यो । विभागले तीनपटकसम्म म्याद थप गरेको थियो । तर, पटक पटक म्याद थप भए पनि काममा तदारुकता नदेखाएपछि विभागले बाध्य भएर सार्वजनिक खरिद नियम अनुसार ठेक्का रद्द गरेको थियो ।

तोकिएको समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई तीनपटकसम्म म्याद थप गर्दा पनि करिब ८५ प्रतिशत मात्रै पुनर्निर्माण सम्पन्न भएको थियो । पहिलोपटक ठेक्का पाएको पचली सिवाको जेभी कन्सट्रक्सन कम्पनीले दरबारको छानो छाउने, बार्दलीहरू राख्नेसम्म मात्रै काम सम्पन्न गरेको थियो ।

दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालका अनुसार दरबारको पेटी निर्माण, रंगमहलमा पेटी, इँटा बिछ्याउन, गाह्रोमा प्लास्टर गर्ने, झ्याल–ढोकामा खापा राख्नेलगायतका भित्री काम बाँकी छ । बाँकी काम सम्पन्न गर्न पुरातत्व विभागबाट प्राविधिकसहितको एउटा टोली आएर स्थलगत अध्ययन गरेर लागत स्टिमेट तयार गरी टेन्डर खोलेको थियो ।

तर, बाँकी कामको जिम्मा पनि यसअघि समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले पाएको छ । विभागका लेखा अधिकृत राजन रेग्मीका अनुसार बाँकी काम ७३ लाख ३८ हजार रुपैयाँमा सम्पन्न गर्ने गरी टेन्डर आह्वान गरिएकोमा २१ दशमलव ३३ प्रतिशत घटेर ५६ लाख १६ हजार रुपैयाँमा सिवाको-यरिसा-रोयल जेभीले कामको जिम्मा लिएको छ । शिवाले यसअघि र अहिले पनि साझेदार ठेकेदार कम्पनी बन्ने मौका पाएको छ । विगतमा समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीले अहिले पनि बाँकी निर्माणको काम पाउँदा समयमै काम पूरा हुनेमा आशंका उत्पन्न भएको छ ।

कमेन्ट्स
Loading...