सुचना, समाचार र मनोरन्जन

प्रचण्ड नेपालको राजनीतिबाट एक्लिँदै छन् : महेश बस्नेत

  •  
  •  
  •  
  •  

प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालकाे राजनीतिबाट एक्लो हुँदै गइरहेको बताएका छन् ।

एमाले जिल्ला कमिटी अर्घाखाँचीको बृहत् कार्यक्रता भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले अब प्रचण्डको च्याखे राजनीति नचल्ने दाबी गरेका हुन् ।

‘अस्ति प्रचण्डले म एक्लो हुँदैछु भन्नुभएछ । माओलाई श्रीमतीले समेत अन्तिममा साथ नदिएको, लेनिनले पनि साथ नपाएको के के भन्नुभएछ,’ उहाँले भन्नुभएकाे छ, ‘उहाँले सही भन्नुभएछ । प्रचण्ड कमरेड नेपालको राजनीतिबाट एक्लै हुँदै हुनुहुन्छ । उहाँको च्याखे राजनीति अब नेपालमा चल्नेवाला छैन ।’

बस्नेतले प्रचण्ड जता फाइदा देख्यो त्यतै लाग्ने गरेको आरोप पनि लगाए । ‘०७० को चुनावमा कांग्रेसतिर लाग्नुभयो । वामपन्थी हराउन महत्वपूर्ण भूमिका खेल्नुभयो,’ उनले भने , ‘०७४ को चुनावमा कांग्रेसतिर च्याखे दाउ लागेन भनेर केपी ओलीतिर लाग्नुभयो । एमालेतिर आउनुभयो ।’

बस्नेतले मदन भण्डारीको निधनपछि माधव नेपालले एमालेलाई कमजोर बनाएको आरोप पनि लगाएका छन् । ‘माधव नेपाल उकालो चढ्यो । एमाले ओरालो लाग्यो । हात्तीजत्रो एमालेलाई बोकोमात्र बनाए,’ बस्नेतले भने ।

कमेन्ट्स
Loading...