सुचना, समाचार र मनोरन्जन

‘नमस्ते पे’ सञ्चालनमा, यसरी लिन सकिन्छ सेवा

  •  
  •  
  •  
  •  

पोखरा /

मोबाइल वित्तीय सेवा मार्फत वित्तीय पहुँचको विस्तार गर्न तथा डिजिटल नेपालको अवधारणा साकार पार्न नेपाल टेलिकमले पनि सघाउन थालेको छ । एक वर्षअघि स्थापित कम्पनी नेपाल डिजिटल पेमेन्ट्स कम्पनीले ‘नमस्ते पे’ नामको डिजिटल भुक्तानी सेवा सुरू गरेको हो ।

नमस्ते पे मोबाईल वित्तीय सेवाको प्रथम चरणको व्यावसायिक सञ्चालन भदौ २९ बाट सुरू भएको छ । २०७६ वैशाख १९ गते नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच औपचारिक समझदारीको फलस्वरूप नेपाल डिजिटल पेमेन्ट्स कम्पनी २०७७ साउन १३ गते स्थापित भएको हो ।

मंगलबार नमस्ते पे वालेट सेवाको लोगो अनावरण, एण्ड्रोइड मोबाइल एप अनावरण गरियो भने ५ सय सर्टकोड युएसएसडीबाट सो सेवा प्रयोग समेतको शुरुवात गरिएको छ । प्रथम चरणको सेवा कम्पनी स्थापना भएको लगभग १३ महिनाको अवधिमा सञ्चालनमा आएको हो ।

मोबाइल सेट बजारको ९५ प्रतिशतभन्दा बढी हिस्सा ओगटने एण्ड्रोइड सिस्टमको मोबाइल एप यस चरणमा उपलब्ध हुनेछ । आइओएसको लागि केही औपचारिक तयारी बाँकी भएकोले सो सिस्टमका मोबाइलको लागि पनि सेवा यथाशिघ्र सञ्चालनमा ल्याइनेछ ।

स्मार्ट फोनको अलाबा सामान्य फोनबाट पनि किबोर्ड प्रयोग गरी युएसएसडि प्रविधिको माध्यमबाट इन्टरनेट नभएको स्थानमा समेत मोबाइल वित्तीय सेवाको शुभारम्भ गरिएको छ । हाल नेपाल टेलिकमको नेटवर्कमा उपलब्ध सो सेवा प्रयोगको लागि स्टार५००ह्यास डायल गरी सेवा प्रयोग गर्न सकिनेछ । यस सेवालाई पनि क्रमशः थप विविधिकरण गर्दै लगिनेछ ।

यस प्रथम चरणको सेवामा नेपाल टेलिकमको मोबाइल टपअप, विद्युत महसुल तथा खानेपानी महसुल भुक्तानीको सेवाहरू उपलब्ध हुनेछन् । यसैगरी मोबाइल वालेटमा पैसा लोड गर्नको लागि नेपाल बैंक लिमिटेड, राष्ट्रिय बाणिज्य बैंक सहित करीब ९ वटा बैंकहरूको खाता लिंक गरी पैसा लोड गर्न सकिनेछ ।

बाँकी बैंकहरूबाट पैसा लोड गर्नको लागि क्रमशः व्यवस्था गर्दै लगिनेछ । बैंकहरूको अलावा यस कम्पनीको देशव्यापी एजेण्ट नेटवर्कबाट पैसा लोड गर्ने सुविधा पनि यथाशिघ्र शुरु गरिनेछ । यसको लागि एजेन्ट नेटवर्क तयार गर्ने कार्य भैरहेको छ ।

कमेन्ट्स
Loading...