सुचना, समाचार र मनोरन्जन

अब पोखरामा कुकुर पाल्नेले एक सय रुपैयाँ शुल्क तिरेर दर्ता गर्नुपर्ने

  •  
  •  
  •  
  •  

पोखरा महानगरपालिका भित्र कुकर पाल्ने व्यक्तिले अव दर्ता गर्नुपर्ने भएको छ । महानगरमा कुकुर पालेर छाडा छाड्ने तथा सार्वजनिक ठाउँमा दिसा पिसाब गराउने गरेको गुनासो बढेपछि दर्ता प्रक्रिया शुरु गराइएको महानगरका प्रवक्ता धन बहादुर नेपालीले बताए।

हाल पशु महाशाखा सँगको सहकार्यमा पोखरा महानगरको वडा नम्बर ८ बाट दर्ता प्रक्रिया अघि बढाइएको र लगत्तै महानगरका सम्पूर्ण वडामा सो कार्य शुरु गरिने प्रवक्ता नेपालीको भनाई छ । कुकर दर्ताको लागि धनीले प्रति कुकुरको एक सय रुपैयाँ बुझाउनुपर्ने उनले बताए । सय रुपैयाँ तिरेर दर्ता गरेपछि रेबिज विरुद्धको खोप र रु २०० पर्ने बेल्ट नि: शुल्क प्रदान गरिने उनले जानकारी दिए ।

‘कुकुर पाल्नेले छाडा छाड्दा सडक दुर्घटना लगायतका समस्या भएका छन् त्यसमाथि सार्वजनिक ठाउँमै दिसा पिसाब गराउँदै हिँड्दा वातावरणमा नराम्रो असर परेको छ’, प्रवक्ता नेपालीले भने ‘ हामीले यस्तो समस्याको निराकरण गर्दै कुकर धनीलाई समाजप्रति उत्तरदायी बनाउन यो अभियान शुरु गरेका हौँ ।’

महानगरको वडा नम्बर ८ मा बिहीबार उपप्रमुख मञ्जु देवी गुरुङले कार्यक्रमको शुरुवात गरेको वडाध्यक्ष रुद्र बरालले जानकारी दिए । दर्ता सँगै निःशुल्क रूपमा रेबिज विरुद्धको खोप र पोखरा महानगरपालिका वडा नम्बर ८ लेखिएको बेल्ट प्रदान गरिएको वडाध्यक्ष बरालले बताए ।

कार्यक्रमको पहिलो चरणमा सम्पूर्ण कुकुरको दर्ता प्रक्रिया अघि बढाइने र दोस्रो चरणमा कुकुर सडकमा छाडा छोड्ने तथा जथाभाबी दिसा पिसाब गराउँदै हिँड्ने धनीलाई ५ देखि १५ हजारसम्म जरिवाना लगाइने उनले बताए।

कमेन्ट्स
Loading...