सुचना, समाचार र मनोरन्जन

तनहुँकी शिरमती आफैँ हिँड्‌डुल गर्ने भइन्

  •  
  •  
  •  
  •  

आर्थिक अभावमा करिब साढे सात महिनादेखि ओछ्यानमा थलिएकी तनहुँकी शिरमती गुरुङ अब आफैँ हिँडडुल गर्न सक्ने भएकी छन् । आगोले पोलेको घाउ निको नभएपछि ओछा्यानमा थलिएकी शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरे घरेडीकी ५७ वर्षीया गुरुङको दुवै खुट्टा नचल्ने भएको थियो । वडाध्यक्ष मनराज गुरुङले उद्धार गरेर अस्पताल पु¥याएपछि उनी निको भएर घर फर्किएकी छन् ।

घाउ निको भएर खुट्टा चल्न थालेपछि उनी आफैँ हिँडडुल गर्न सक्ने भएको वडाध्यक्ष गुरुङले बताए । हरियोखर्क अस्पताल पोखरामा ३५ दिनको उपचारपछि शिरमतीलाई शुक्रबार डिस्चार्ज गरेर घर ल्याइएको उनले बताए । उनका अनुसार उपचारमा करिब दुई लाख रुपैयाँ खर्च भएको छ । दुई लाख ५० हजार रुपैयाँ शिरमतीको उपचारका लागी आर्थिक संकलन भएको वडाध्यक्ष गुरुङले जानकारी दिए । ‘बचत भएको ५० हजार रुपैयाँ पनि शिरमतीको परिवारलाई दिने हो’, उनले भने ।

२३ माघ २०७७ मा नुहाउन पानी तताउने क्रममा आगोले शिरमतीको शरीर जलेको थियो । श्रीमान् यामबहादुरका अनुसार शरीर जलेपछि पोखराको मेडिप्लस हस्पिटलमा १४ दिन उपचार गराइएको थियो । ज्यालामजदुरीको भरमा दैनिक गुजरा चलाउँदै आउनु भएका गुरुङले पैसा सकिएपछि घाउ नओभ्याउँदै अस्पतालबाट घर ल्याए । यामबहादुरले भने, ‘ऋणधन गरेर उपचारमा दुई लाख रुपैयाँ खर्चिए । पैसा सकिएपछि घाउ निको नहुँदै घर फिर्ता ल्याउनुपर्‍यो’ उनले भने , ‘अरु पैसा जुटाउन सक्ने अवस्था नभएकाले घाउ निको नहुुँदै घरमा फर्काएँ ।’

वडाध्यक्षले अस्पताल पुर्‍याएर उपचार पाएपछि श्रीमती हिँड्न सक्ने भएको उनले बताए । ‘अलि अलि आफैँ हिँड्न सक्ने भएको छ । एक महिनापछि फेरि डाक्टर बोलाएको छ’, यामबहादुरले भने । ओछ्यानमा थलिएको श्रीमती निको भएपछि खुसी लागेको उनको भनाई छ । ‘उपचार होला, निको होला भन्ने सोच नै थिएन् । आफुसँग पैसा थिएन् । कहिल्यै उपचार गारउन सक्दिन होला भन्ने लाग्थ्यो’, उनले सुनाए ।

१४ दिनको उपचारपछि घरमा आएकी शिरमतीको साढे सात महिनासम्म आगोले पोलेको घाउ निको भएको थिएन । घाउसँगै कम्मरमुनिको भाग पनि चल्न छोड्यो । आर्थिक अभावकै कारण थला परेकी श्रीमतीलाई उपचार गर्न अस्पताल लैजान नसकेको यामबहादुरले बताए । ३ भदौमा वडाध्यक्ष गुरुङले थलापरेकी शिरमतीलाई हरियोखर्क अस्पताल पोखरा लगेका थिए ।

कमेन्ट्स
Loading...