सुचना, समाचार र मनोरन्जन

श्रमको मुल्य नदिने सञ्चार गृहमा अनशनसहित संघर्षका कार्यक्रम हुने

काठमाडौं /

नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको बहाना बनाई विभिन्न सञ्चार गृहमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलव–भत्ता कटौती गर्ने, अनुचित सरुवा गर्ने र नियमित पारिश्रमिक नदिनेजस्ता कार्यले श्रमजीवी पत्रकारका समस्या थप जटिल बन्दै गएको जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै महासंघले पटकपटक सम्बन्धित सञ्चार गृहसँग पत्राचार, संवाद तथा दबाबका विभिन्न कार्य अघि बढाउँदासमेत त्यसलाई बेवास्ता गर्दै महासंघको आग्रह र दबाबका बाबजूद केही सञ्चार गृह समस्या समाधानप्रति गम्भीर नबनेको बताएको छ।

‘नेपालीहरूको महान पर्व दशैसम्मुख आइपुग्दासम्म श्रमजीवी पत्रकारहरू एकातिर कोरोनाको कहर र अर्कोतिर तलवविहीन बन्नु पर्दाको पीडाले आक्रान्त छन्। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराई पत्रकारका समस्या समाधान गर्नुपर्नेतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन। सञ्चार गृहबाट श्रमजीवी पत्रकारहरूमाथि अन्याय भइरहेको यो अवस्थामा दबाबमार्फत सेवा सुविधाको माग गर्नुपर्ने अवस्था विद्यमान छ। महासंघ आउँदो दशैं अगावै आफ्नो संस्थामा कार्यरत सबै श्रमजीवी पत्रकारहरूको बाँकी बक्यौतासहित सबै प्रकारका सेवा सुविधा उपलब्ध गराई सहज वातावरण निर्माण गर्न मिडिया व्यवस्थापन पक्षसँग महासंघ आग्रह गर्दछ’, जारी विज्ञप्तीमा भनिएको छ। 

श्रमजीवी पत्रकारका समस्या थप गम्भीर र जटिल बन्दै गएको तथा पत्रकारहरूका अगाडि आन्दोलनमात्र विकल्प देखिएको अहिलेको अवस्थामा महासंघले केन्द्र, प्रदेश र शाखाहरूमार्फत् श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे मिडिया अनुगमन कार्यलाई तीव्रता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहविरुद्ध दबाबमूलक संघर्ष अघि बढाउने निर्णय गरेको छ।

महासंघले सम्पूर्ण शाखा, एसोसिएट तथा प्रदेश समितिलाई अनुगमन कार्यलाई निरन्तरता दिँदै जटिल समस्या देखिएका सञ्चार गृहमा घेराउ, धर्ना, अनशनसहित संघर्षका विविध कार्यक्रम अघि बढाउन आग्रह गरेको छ।

‘विभिन्न सञ्चार गृहका पीडित पत्रकारहरूले अघि बढाएको दबाबमूलक कार्यक्रमप्रति महासंघ जोडदार समर्थन र ऐक्यवद्धता जाहेर गर्दै श्रमजीवी पत्रकार हक, हितका लागि हुने सबै प्रकारका आन्दोलनमा महासंघको सहभागिता रहने स्पष्ट गर्दछ। पीडित पत्रकारहरुले अघि बढाएका मागहरूको हालसम्म पनि सञ्चार गृहबाट सुनुवाई हुन नसकेकोमा खेद व्यक्त गर्दै समयमै ती समस्याहरुको सुनुवाई नभए महासंघको निर्णय र समन्वयमा असोज १७ गतेपछि संघर्षका थप कार्यक्रमहरू अघि बढाइने जानकारी गराउँदछ’, जारी विज्ञप्तिमा भनिएको छ।

कमेन्ट्स
Loading...