सुचना, समाचार र मनोरन्जन

जिल्ला खेलकुद विकास समितीको शुभकामना आदान प्रदान,गुरुङले भने–“खेलकुद मार्फत पर्यटनको सम्भावना छ”

  •  
  •  
  •  
  •  

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशमा खेलकुद मार्फत पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिती कास्कीले पोखरा रंगशालामा आयोजना गरेको दशैं, तिहार, नेपाल सम्वत, छट लगायतका पर्वहरुको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व मुख्यमन्त्री गुरुङले उक्त कुरा बताएका हुन ।

उनले खेलकुदको विकासले पर्यटनको सम्भावना रहेको उल्लेख गर्दै यसका लागि योजनावद्ध रुपमा अघि बढ्नुपर्ने बताए । सवै विद्यागत खेलहरुको विकासका लागि प्रतिभावान खेलाडीहरुको खोजीका लागि समेत खेलकुद परिषदले योजना अघि सार्नुपर्ने धारणा अघि सार्दै पूर्व मुख्यमन्त्री गुरुङले भने–“प्रदेशको ११ वटै जिल्लामा त्यहाँको भौगोलिक अवस्था सहित खेलहरु समेत विविधिकरण गर्न आवश्यक छ ।”

उनले नेपालीहरुको शारिरिक वनावट अनुसार खेलाडीहरु तयार गर्न सके अन्तर्राष्ट्रिय ऐरिनामा पदकको सम्भावना रहेको बताए । प्रदेशको खेलकुद विकासका लागि प्रदेश सरकारका साथै नेपाल सरकार संग आफ्ना कुराहरु अघि सार्ने बताउँदै पोखरालाई खेलकुद शहरको रुपमा विकास गर्न आफ्नो तर्फबाट संधै सहयोग रहने प्रतिवद्धता जनाए ।

सो अवसरमा पूर्व मुख्यमन्त्री गुरुङले बक्सिङ खेलाडी पवन गुरुङलाई नगद १९ हजार प्रदान गरे । उक्त रकम राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङले पवनको खेल जिवनको सफलताको शुभकामना व्यक्त गर्दै सहयोग गरेका थिए । यसै गरी पूर्व मुख्यमन्त्री गुरुङले अन्नपूर्ण गाउँपालिका ल्याङघलेलस्थित वम बहादुर आधारभूत विद्यालयलाई स्व.लेख बहादुरको स्मिृती अक्षयकोष स्थापना गर्न नगद ४० हजार हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बोल्दै राखेप सदस्य राजेश कुमार गुरुङले अग्रज हरुले खेलकुद विकासमा देखाएको बाटोमा नै आफू हिंडिरहेको बताउँदै उहाँहरुकै प्रेरणाले आफू सदैव खेलकुद विकासमा अग्रसर भइरहने बताए । उनले कठिन घडिमामा समेत १३ औं साग सफल बनाउन कुनै कसर वाँकी नराखेको स्मरण गर्दै खेलकुद विकासका लागि सवै संग हातेमालो गर्दै अघि बढ्ने बताए ।

जिल्ला खेलकुद विकास समिती कास्कीले सो अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता समेत आयोजना गरेको थियो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी खेलाडीलाई गण्डकी प्रदेश सांसद राजिव पाहारी, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

जिल्ला खेलकुद विकासका अध्यक्ष तोरण बहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस निकट लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचन, जिल्ला खेलकुदका उपाध्यक्ष महेन्द्र गुरुङ, सचिव भिम पराजुली लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

कमेन्ट्स
Loading...