सुचना, समाचार र मनोरन्जन

नवनियुक्त उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

४८ घन्टा बित्न नपाउँदै पदबाट राजीनामा

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। मन्त्री हमालले केही समयअघि बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएक थिए ।

उनी शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

सांसद नभए पनि ६ महिनाका लागि मन्त्री बनाउन पाउने व्यवस्था अनुसार प्रधानमन्त्री देउवाले शुक्रबार हमाललाई मन्त्रीमा नियुक्त गरेका थिए । तर ४८ घन्टा बित्न नपाउँदै उनले पदबाट राजीनामा दिएका छन्।

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका छन्। आफ्नो नियुक्तिलाई लिएर विवादमा परेपछि हमालले राजीनामा दिएका हुन् । यसले पनि उनी जबराकै कोटामा मन्त्री बनेको प्रष्ट हुने स्वयं सत्तारुढ दलका नेताहरु बताउँछन् ।

हमाल लामो समयदेखि कांग्रेसको राजनीतिमा क्रियाशिल थिए। उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन्।

कमेन्ट्स
Loading...