सुचना, समाचार र मनोरन्जन

मणिपाल शिक्षण अस्पताल पोखरेली व्यावसायीको हातमा

  •  
  •  
  •  
  •  

पोखरा /

स्वास्थ्य र शिक्षामा गण्डकी प्रदेशको गहनाका रूपमा चिनिएको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल पोखरेली व्यावसायिक घराना बतास अर्गनाइजेसन र अटोवेज गु्रपले संयुक्त रूपमा खरिद गरेको छ।
बतास अर्गनाइजेसनका आनन्द बतास र अटोवेज ग्रुपका नारायण पौडेलले ३ अर्ब २२ करोड ६० लाखमा अस्पताल किनेका हुन् । साझेदारीमा किनिएको अस्पतालमा बतासको ६० प्रतिशत र अटोवेजको ४० प्रतिशत लगानी रहेको जनाइएको छ । शुक्रबार स्वामित्व हस्तान्तरण सम्बन्धी संझौतामा हस्ताक्षर गर्ने स्रोतले जानकारी दिएको छ ।

बिरोधको बतासः

मणिपाल शिक्षण अस्पताल पोखरेली व्यवसायीले आफ्नो हातमा लिएपछि विरोधको बतास चल्न सुरु भएको छ । नेपाल सरकारसँग गरिएको तत्कालीन संझौतामा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्रण गर्नु पर्ने प्रावधानलाई लत्याएर मणिपाल गु्रपले निजी क्षेत्रलाई अस्पताल विक्री गरेकोमा विरोध सुरु भएको हो । सरकारसँग गरेको संझौता पारदर्शी रूपमा सार्वजनिक गर्नका लागि पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले आग्रह गरेका छन् ।

यसैबिच विदेशी समूहले चलाएको मेडिकल कलेज पोखरेलीको हातमा पर्नु सकारात्मक मान्न सञ्चालकद्वयले आग्रह गरेका छन् । ‘पोखरेली व्यवसायीले मणिपाल लिँदा विरोधभन्दा स्वागत र स्यावासी दिनुपर्ने हो तर पूर्वाग्राही मानसिकतामा जकडिएकाहरूले विरोध जनाएका हुन् । मनको तुस कम गर्न विमती जाहेर गरेका हुन् । हामीले कलेज नकिन्दा पनि काठमाडौंको कुनै घरानाले किनिछाड्थ्यो । ’

अध्यक्ष आनन्द बतासले भने ‘जग्गाको विषयमा कसैलाई टाउको दुखाइ भएको हुनसक्छ, ४० रोपनीभन्दा वाहेकको १ सय ६० रोपनी जग्गा लिजको हो । २५ वर्षपछि लिजको जग्गा सरकारको मातहतमा स्वतः जान्छ नै । जग्गा कसैले हड्प्ने सवाल नै होइन । व्यवसायमा आखिर लगानी नै गर्ने हो, काठमाडौंमै पनि अवसर थियो तर महङ्गो प्रोजेक्ट किन्नु हाम्रो रहर भन्दा पनि पोखराप्रतिको माया हो । ’ पोखरेलीको स्वास्थ्य र शिक्षामा हाम्रा लागि केही गर्ने अवसर हो भन्ने ठानेर नै हामीले जोखिम मोलेका हौं, अब एयर एम्बुलेन्स युगको अन्त्य गर्न चाहान्छौ परिचयसँगको कुराकानीमा बतासले बताए ।

कसरी जान्छ नयाँ व्यवस्थापन :

साझेदारीमा किनेको मणिपाल मेडिकल कलेज सञ्चालनका लागि सञ्चालक समिति बनेको छ । जसमा ६० प्रतिशतका भागिदार आनन्द बतास अध्यक्ष, ४० प्रतिशतका नारायण पौडेल उपाध्यक्ष र सदस्यमा बतास ब्रदरका शान्तराज बतास र विपेन्द्रराज बतास रहने छन् । अस्पताल खरिदपछि प्यारामेडिकल कोर्स र विडिएस, एमविए एन्ड इन्जिनियरिङ अध्ययन थप्ने सञ्चालकहरूले जनाएका छन् । मुटु रोगी र न्युरोका विरामीले काठमाडौं धाउनुपर्ने सास्तीलाई ध्यानमा राखेर पूर्वाधार र सेवा विस्तार गरेर व्यवस्थित रूपमा चलाउने आँटका साथ अस्पताल किनेको उपाध्यक्ष नारायण पौडेलले जानकारी दिएका छन् । पौडेलले नेपालकै मोडेल मेडिकल कलेज र अस्पताल बनाउने लक्ष्य रहेको जनाए ।

पौडेलले आमागी दिनमा अस्पताललाई पब्लिक कम्पनी लिमिटेडमा रूपान्तरण गर्ने योजना पनि खुलास गर्दै भने ‘अस्पतालको नाम फेरिएपछि पोखरेली जनताले शेयर हाल्न पाउने व्यवस्था गर्ने छौं ।’ पोखरालाई मेडिकल शिक्षा र स्वास्थ्यको हब बनाउने सपना पूरा हुने विश्वास गरिएको छ । थप १ अर्ब ५० करोड लगानी गर्ने योजना रहेको जानकारी अध्यक्ष आनन्द बतासले दिएका छन् ।

किन बाहिरियो मणिपाल :

वि.सं. २०४९ कात्र्तिक २ गते नेपाल सरकार र मणिपाल गु्रपबिच ४९ वर्षका लागि संझौता भएको थियो । २०५१ सालदेखि भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल गु्रपले निजी क्षेत्रबाट पोखरामा पहिलो पटक ४० रोपनी जमिनमा अत्याधुनिक अस्पताल र छात्रावास बनाएको थियो । अस्पतालले गण्डकी प्रदशेका वासिन्दालाई स्वास्थ्य सेवा प्रवाह गर्दै आएको थियो ।

सुरुवाती दिनदेखि स्थानीय वासिन्दाको अवरोध, नेपाल सरकारको असहयोग र अस्पतालभित्रकै कर्मचारी युनियनले गर्ने अड्ताल र आन्दोलनले आजित भएपछि मणिपाल गु्रप बाहिरिएको जनाइएको छ । चिकित्सकहरूले सेवा सुविधा सुनिश्चित गर्नका लागि निरन्तर आन्दोलन गर्नु पनि कारक तत्व रहेको छ । २५ वर्षको समयावधि हुँदाहुँदै अस्पतालले आफ्नो लगानी सुरक्षित तवरमा अवतरण गरेको छ । प्रक्रिया पु¥याएर एक महिनाभित्र अस्पताल छोड्ने जनाइएको छ ।

पोखरा महानगरपालिकासँग मणिपालको लामो समयदेखि तिक्तता रहेको छ । करवापतको ३० करोड भुक्तानी नगरेका कारण मणिपाल कालोसूचीमा रहँदै आएको छ । मणिपाल कलेज र अस्पतालको २ अर्ब २५ करोड र अस्पतालको ४० रोपनी जमिन साथै ९७ करोड दायित्वलाई पोखरेली व्यवसायीले सहर्ष स्वीकारेका छन् ।

मणिपाल अस्पताल भौतिक साधन र प्रविधिले सम्पन्न त थियो नै १ हजारभन्दा बढी कर्मचारीले रोजगारीमा छन् । ७ सय ५० भन्दा बढी बेडबाट विरामीले सेवा पाउनुका साथै हरेक वर्ष १ सय विद्यार्थीले एमविविएस शिक्षा लिइरहेका छन् । विएस्सी नर्सिङ र स्टार्फ नर्सको पठनपाठन पनि कलेजमा चलेको छ । भारत, श्रीलंका, बङ्गलादेशबाट एमविविएस अध्ययनका लागि मणिपाल रुचाइएको ठाऊँ हो ।

कमेन्ट्स
Loading...