सुचना, समाचार र मनोरन्जन

इलाममा पर्यटकको आकर्षण बन्दैछ पानीटार

  •  
  •  
  •  
  •  

काठमाडौं ।

तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए ।

चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने गरे पनि पानीटारको नाम कहिल्यै आउँदैनथ्यो ।

स्थानीय तह र सम्बन्धित निकाय (पर्यटनसम्बद्ध) ले चासो नदिएकै कारण पानीटार ओझेलमा पर्यो तर अहिले पानीटारले पूरै काँचुली फेरेको छ । स्थानीयवासी मात्र होइन, अन्तर जिल्लाको पर्यटकको पनि नयाँ गन्तव्य बनेको छ पानीटार । कतै अग्लो र कतै होचो तर मिलेको चियाबारी यहाँको मुख्य आकर्षण हो ।

अन्तु बिर्साउने चिसो र पर्यटक तान्ने वनभोजस्थल यहाँको अर्को विशेषता हो । पर्यटक मात्र होइन, पानीटारमा अहिले चलचित्र खिच्ने र म्युजिक भिडियो बनाउने क्रम पनि शुरु भएको छ ।

इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ पुगेर केही तलतिर झर्नुपर्छ ।

सदरमुकामबाट गाग्रेभञ्ज्याङसम्म पक्की र गाग्रेभञ्ज्याङदेखि केही ओरोलो कच्ची बाटो हिँडेपछि पानीटार पुगिन्छ । यसका साथै झापाको विर्तामोड–शनिश्चरे हुँदै मङ्गलबारेको बाटो पनि पानीटार पुग्न सकिन्छ ।

पछिल्लो समय सदरमुकामको बाटोभन्दा झापाबाट आउने बाटो छोटो भएकाले बढी पर्यटक यही बाटो आउँछन् । यो बाटो झापाबाट ५३ किमी हिँड्दा नै मङ्गलबारे पुगिन्छ ।

हिउँदमा मनोरञ्जनका लागि आउने गतिलो गन्तव्य पानीटार बनेको यहाँका पर्यटन व्यवसायी पासाङ शेर्पा बताउँछन् ।

शेर्पाका अनुसार मिडियाको प्रचारले नै पानीटार पर्यटकीय क्षेत्र बनेको हो । “कुनै निकायले यसको प्रचारका लागि चासो देखाएनन् । मिडियाको प्रचारले नै अहिले पानीटार पर्यटकीय क्षेत्र बन्दैछ”, शेर्पाले भने, “आउँदो साल माथिल्लो क्षेत्र ९गाग्रेभञ्ज्याङ० बाट आउने कच्ची सडक पक्की भएपछि आवागमनका लागि झनै सहज हुन्छ ।”

पछिल्लो समय म्युजिक भिडियो र चलचित्रको छायाङ्कन गर्ने स्थल हो पानीटार । केही समयअघि मात्रै युट्युबमा सर्वाधिक रुचाइएको म्युजिक भिडियो ‘तीनपाते’ देखि प्रियङ्का कार्की र आयुष्मान देशराज जोशी अभिनित ‘प्रेम दिवस’ चलचित्रमा समेत पानीटारको सुन्दर चियाबारी राखिएको छ ।

प्राकृतिक छायाङ्कनस्थलका रूपमा विकास हुँदै गरेको यहाँ आकर्षक चियाबारी र शान्त क्षेत्र भएकाले आफूहरू यस क्षेत्रमा सुटिङ गर्न आउने गरेको चलचित्र निर्देशक केवल तामाङ बताउँछन् ।

प्राकृतिक क्षेत्रको प्रचार अनि दर्शकको आँखा अड्याउने ‘भर्जिन ल्याण्ड’ भएकाले धेरै रजतपटकर्मी आउने गरेको तामाङ बताउँछन् । रासस

कमेन्ट्स
Loading...