सुचना, समाचार र मनोरन्जन

पोखरामा प्याराग्लाईडिङ गर्नेहरुको घुईंचो (फोटो फिचर)

सन्तोष बस्याल
पोखरा / 

पोखरा विभिन्न पर्यटकिय माध्यमहरुद्वारा परिचित छ । फेवाताल, धार्मिक मठमन्दिर, गुम्बा, क्लाइम्बिङ, क्यानोनिङ यहाँको प्रमुख विशेषता हो । जसमा थपिन आउँछ प्याराग्लाईडिङ । माछापुच्छ«े हिमालको काखमा रहेको पोखराको सुन्दर दृश्यले सबैको आँखा नचाउँछ । एक दिनका लागि पोखरा आएका पर्यटकलाई बारबार आउने गराउँछ ।

प्राकृतिक सौन्दर्यता सँगै हाँस्दै गरेको हिमालले मुस्कुराउँदै बोलाइरहेको आभाष हुन्छ । फलस्वरुप नेपालका प्रमुख शहर सँगै विदेशबाट समेत यहाँ पर्यटकहरु पाल्ने गर्छन् । आगन्तुक पर्यटकका लागि रमाउने उत्कृष्ट माध्यम बनेको छ प्याराग्लाईडिङ । धर्ती छोडेर एकैछिन हावाको वेग सँगै आकाशमा रमाउनुको मज्जा अरु कहाँ ।

साहसिक खेलको परिचय बनेको प्याराग्लाईडिङ यतिबेला पोखरामा पर्यटक तान्ने गतिलो माध्यम बनेको छ । केही समय कोरोना महामारीका कारण ठप्प रहेको पोखराको प्याराग्लाईडिङ क्षेत्रलाई भ्याईनभ्याई छ । सिजनसँगै उडान भर्नेहरुको घुईंचो लागेको देख्न सकिन्छ ।

पोखरामा हाल विदेशी पर्यटकहरु सिमित संख्यामा छन् । कोरोना अघि खासगरी बाह्य पर्यटकले नै बढी प्याराग्लाईडिङ गर्ने गर्थे । तर यतिबेला आन्तरिक पर्यटकहरुको समेत फ्लो बढेको देख्न सकिन्छ । प्याराग्लाईडिङ कम्पनीलाई अहिलेको समयमा व्यवस्थापन गर्नै हम्मेहम्मे परेको छ । कारण हो सहुलियत दर । कोरोनाले थिलो पारेको प्याराग्लाईडिङ क्षेत्रलाई विस्तारै माथि उकास्न प्याराग्लाईडिङ कम्पनीहरुले सहुलियत दरमा उडाउन थालेपछि आन्तरिक पर्यटकको भीडभाड ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् ।

पहिले प्याराग्लाईडिङ गर्नेलाई औषतमा एक जनाको १२ हजार देखि ७ हजार रुपैंया सम्म लिने गरिन्थ्यो । अहिले घटाएर ३ हजार पुगेको छ । असोज १ गतेदेखि हवाई उडान संचालन भएसँगै प्याराग्लाईडिङ संचालनमा आए पनि शुरुमा केही कम्पनीले मात्र तीन हजारमा उडाए । त्यसपछि विस्तारै सबै कम्पनी मार्फत उक्त रकममा उडाउने गरिएको हो ।

जीवनमा एक पटक प्याराग्लाईडिङको अनुभव लिनको लागि पनि मानिसहरु उड्न थालेका छन् ।

यतिबेला प्याराग्लाईडिङ कम्पनीहरु ५ दिन अघि देखिनै अग्रिम बुकिङ लिन बाध्य छन् । पर्यटनको सिजनमा समेत यस्तो अवस्था नआएको व्यवासायीहरु बताउँछन् । पोखरामा अहिले दैनिक ५ सय जनालाई उडाउँदै आइएको छ । बिहान ९ः०० र ११ः३० बजे र दिउँसो १ः०० र २ः३० बजे चार सिफ्टमा उडाउने गरिएको छ ।

पोखरा १८ सराङकोटका तीन ठाउँबाट र तोरीपानीबाट उडान भर्ने गरिएको फ्लाईङ मंकी एयरभेन्चर लेकसाइड स्ट्रिट १७ का अपरेसन म्यानेजर मौसम ठकुरीले जानकारी गराएका छन् । उनका अनुसार सो ठाउँबाट पाइलटले पोखराको खपौंदी, इन अफ द लेक, वाटरफन्ट रिसोर्ट अगाडिको चौर र चंखपुरमा अवतरण गर्ने गरेका छन् ।

कोरोना महामारीका बेला पर्यटकहरुको आगमनलाई बढाउनका लागि आफूहरुले विशेष छुटको व्यवस्था गरेको उनको भनाई छ । अब विस्तारै सरकारको सामाजिक सुरक्षाको मापदण्डलाई अवलम्बन गर्दै आर्थिक चलायमानको बाटोमा आफूहरु लागेकोे उनले बताए ।

पोखरामा हाल ६३ वटा प्याराग्लाइडिङ कम्पनी दर्ता भएको ठकुरीले जानकारी गराए । उनका अनुसार जसमध्ये हाल ५० वटा मात्र संचालनमा छन् । प्रत्येकमा ६ जनाका दरले पाइलटहरुको व्यवस्थापन गरिएको उनले जानकारी गराए ।

तस्बिरः प्रेम थापा, परिचय नेटवर्क

कमेन्ट्स
Loading...