सन्तोष बस्याल
पोखरा /
पोखरा संगीतको उर्भरभूमी थलोे । नेपालका थुपै्र कलाकार यहाँबाट स्थापित भएका छन् । कुनै बेला संगीतको राजधानीका रुपमा पोखरा हुने गथ्र्यो ।
गण्डकी प्रदेश लोकगीतको खानी मानिन्छ । यस क्षेत्रमा जन्मेका धेरै कलाकारले आफुलाई स्थापित गरेका छन् । खासगरी लोकदोहोरी । गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यताले धनी त छदैछ, सांस्कृतिक र सांगीतिक क्षेत्रमा समेत प्रदेशको नाम उत्तिकै सुनिन्छ ।
प्रदेशको राजधानी पोखरा । नेपालका चर्चित कलाकारहरुको उदगम थलो । पोखराका गीत संगीतले नेपालमा मात्रै नभई बाहिर समेत चर्चा पाएका छन् ।
पोखरा देखि केही माथि अहिलेको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा जन्मेकी गायिका हुन् पार्वती जिसी । नेपालको लोकदोहोरी क्षेत्रमा उनको नाम अगाडीनै आउँछ । बुबा चन्द्र बहादुर जिसी र आमा जमुना जिसीको कोखबाट जन्म लिएकी पार्वती सानै देखि गीत संगीतमा रुची राख्थिन् ।
६ दिदीबहिनी र १ भाईमा औपचारिक रुपमा सांगीतिक सुरुवात गर्ने गायिका हुन् पार्वती । पछि उनको गायन कला पछाउँदै बहिनी तुलसा क्षेत्री समेत सांगीतिक क्षेत्रमा छिन् । उसो त परिवारका सबै सदस्यले गाउने गर्छन । पार्वतीले भने प्यासनलाई पेशा बनाइन् ।
बाल्यकालबाटै संगीप्रतिको मोह
गाउँमा हुरी लगाउने चलन थियो । बाआमा फुपुहरु मेलाापात गर्दा गाउने गर्थे । उनीहरुकै गीत सुनेर गुनगुनाउने गर्थिन् पार्वती ।
वि.सं २०३६ फागुन २ गते जन्मेकी पार्वतीको बाल्यकाल कास्की घाहाचोकमा बित्यो । महेन्द्र माविमा पढिन् । त्यहीबाट उनको सांगीतिक यात्राले फड्को मार्यो । बाल्यकालदेखिनै हरेक कुरामा अरु भन्दा अगाडी हुनुपर्ने स्वभावकी थिइन् पार्वती । परिवारमा सबैको जातिबन्ने स्वभाव उनमा थियो । कक्षा एक पढेदेखिनै पार्वतीले लोकगीत प्रतियोगितामा सहभागिता जनाइन् । कहिले प्रथम कहिले द्धितिय उपाधि उनको हातमा परेकै हुन्थ्यो ।
पार्वतीका लागि बुबा प्रेरणाका स्रोत हुन् । बुबाले गाएको सालैजो, ठाडो भाका, सुनिमाया सुनेरै उनलाई सांगीतिक क्षेत्रमा लाग्न प्रेरित गर्यो । गाविस स्तरिय प्रतियोगितामा समेत सानैदेखि उनी सहभागी भइन् । २०५३ सालमा धम्पुसमा मेला हुँदा राष्ट्रियस्तरको दोहोरी गीत प्रतियोगितामा भाग लिइन् । त्यतिबेला उनी तेस्रो भइन् ।
दोहोरी साँझको यात्रा
पोखरा २०५४ सालमा झरिन् । सोल्टी दोहोरी साँझमा आबद्द भइन् । गीत गाएबापत अलिअलि आम्दानी आउन थाल्यो । त्यतिबेला नेपालमै पोखरामा मात्रै दोहोरी साँझ भएको उनी सम्झिन्छिन् । त्यसपछिमात्रै काठमाडौंमा पुकार दोहोरी साँझ खुलेको पार्वती बताउँछिन् ।
५ वर्ष सम्म सोल्टी दोहोरी साँझमै पार्वतीले दोहोरी गाइन् । त्यसपछि दौतरी दोहोरी साँझमा आबद्द भइन । उनको दोहोरी गायनले निरन्तरता पाउँदै गयो । विस्तारै खारिदै गइन् । दोहोरी गायनमा महिला आवाज कसैको खोजिन्थ्यो भने पार्वती अग्रपंक्तीमा थिइन् । पोखरा बसेर काठमाडौंलाई टक्कर दिने गायिका हुन् पार्वती ।
दौतरी दोहोरीमा केही समय काम गरिन् । त्यसपछि आफ्नै लगानीमा बिसौनी दोहोरी साँझको स्थापना गरिन् । सबै भन्दा लामो समय दोहोरी साँझमा काम गर्ने गायिकामा पर्छिन पार्वती । २०५३ सालदेखि लगातार १८ वर्षसम्म उनले दोहोरी साँझमा दोहोरी गाइन् ।
आफ्नो सुरुवाती चरणमा दोहोरी गीत सभ्य भएको उनी बताउँछिन् । त्यतिबेला कलाकार समेत औंलामा गन्ने थिए । पुरुष कलाकार धेरै थिए । महिलामा भने कमी थियो । पार्वती भगवान भण्डारी, रमेश बिजी, चन्द्र शर्मा, बद्री पराजुली जस्ता कलाकार सँग दोहोरी प्रतियोगितामा सहभागी भएको सम्झिन्छिन् । सिबु गिरी, ज्योती गौतम, शर्मिला गुरुङ, लक्ष्मी सुवेदी, धना पुन जस्ता कलाकार उनका समकालिन हुन् । शर्मिला गुरुङ अहिले पनि गीत संगीतको क्षेत्रमा छिन् ।
२०५३ देखि ०६० सम्म दोहोरी गीत सभ्य भएको पार्वती बताउँछिन् । दोहोरी प्रतियोगिता पनि अत्याधिक हुने गर्थे । अहिले दर्शक श्रोताले खोजे जस्तो दोहोरी नपाएको उनको भनाई छ । भन्छिन्,‘त्यो बेला दोहोरी गाउँदा ढंग पुर्याएर गाइने गरिन्थ्यो । अहिले त्यस्तो छैन । पारिवारिक दोहोरीमा ह्रास आएको छ । दोहोरी भन्ने बितिकै फोहोरीको दर्जा दिन थालेका छन् । यसमा कलाकारहरु चिन्तित हुनुपर्ने देखिन्छ ।’
पहिलो गीत
२०५५ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेपछि उनको सांगीतिक क्षेत्रले औपचारिकता पायो । रेकर्डको हकमा परिक्षा पास गर्नुभन्दा अगाडीनै उनको ‘वालिङ फिरफिरे….’ र ‘क्याम्पस गेटैमा…’ रेकर्ड भएको थियो । तर बजारमा आएको थिएन । त्यतिबेला रेडियो नेपालमा ३ तालका गीत गाउनुपथ्र्यो । ख्याली, रोइला र झ्याउरे । दुई वटा उनले अर्कैको गीत गाइन् । एउटा भने ‘वालिङ फिरफिरे…’ आफ्नै गीत गाएर उनले स्वर परिक्षा उतिर्ण गरिन् । पहिलो गीत उनको ‘वालिङ फिरफिरे…’ बजारमा आयो ।
सानैदेखि रेडियो सुन्ने बानी थियो । अरुका गीत रेडियोमा बज्दा आफ्ना गीत पनि रेडियोमा बजाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । स्वर परिक्षा उतिर्ण गरेपछि उनले देखेको सपना पुरा हुन गयो । यसमा उनको निरन्तर मेहनत र लगावको भूमिका ठूलो छ ।
चर्चामा आएका गीत
पार्वतीको पहिलो गीतको अडियो चर्चामा आउन थाल्यो । कार्यक्रममा उनलाई बोलाउन थालियो । नेपालका पूर्व देखि पश्चिम सम्मका धेरै स्टेज कार्यक्रममा उनले गाएकी छिन् । विदेशमा समेत कार्यक्रमको शिलशिलामा पुगेकी छिन् ।
एल्बम निकाल्ने चलन कम थियो त्यतिबेला । दोहोरी गायिकाको रुपमा परिचय बनाएकी पार्वतीले सिमित गीत गाइन तर सबैको मनमा बस्ने गीत गाइन् । चर्चाका गीत मध्ये उनको ‘ए भेना…’ लाई पनि सबैले रुचाए । उक्त गीतले कार्यक्रममा हिड्न सहयोग पुर्याएको पार्वती बताउँछिन् । त्यसपछि उनका ‘दिदि बहिनी…’, ‘पाइन हाँस्न…’, ‘जुनी जुनी…’, ‘भाउजुको भाई राम्रो…’ अडियो गीत बाहिर आए । केही राम्रै चले केही ठिकै । भिडियोमा भने पहिलो गीत उनको ‘सुन्तलाले छेकिनी…’ बजारमा आयो । उक्त गीतले समेत चर्चा पायो ।
अरुका गीतमा समेत उनले आवाज भरेकी छिन् । प्रजापती पराजुलीको ‘बँयरघारीमा…’ गीतको महिला आवाज उनकै हो । उनले हालसम्म आफ्नो अरुको गरेर एक सय गीत रेकर्ड गराएकी छिन् ।
पार्वती भन्छिन्,‘काठमाडौं बस भनेर धेरैले कर गरे । जन्मथलो र कर्मथलो पोखरा भएकाले छोड्न सकिन । पोखरालेनै मलाई गायिका बनायो ।’
अहिलेको गीत संगीत क्षेत्र
विस्तारै नेपाली गीतसंगीतमा टेक्नोलोजीको विकास भएको पाइन्छ । गीतको गुणस्तरियतामा यसले प्रश्न उठाएको पार्वती भन्छिन् । विकास सँगै विनाश भइरहेको उनी पाउँछिन् । उनका अनुसार अहिले सिक्ने कलाकारमा कमी आएको छ । पैसाका भरमा गायक बनेका छन् । टेक्नोलोजीले आवाजमा रुपान्तरण गरिदिएका कारण यस्तो भएको उनको बुझाई छ ।
पार्वती भन्छिन्,‘कलाकारले म को हो भनेर नचिनेर गीतसंगीतमा विकृति आएको जस्तो लाग्छ । लोकदोहोरीमा पछिल्लो समय धेरै विकृति आएको छ ।’
गीत संगीत महङ्गो भएको उनी पाउँछिन् । सामान्य कलाकारले एउटा राम्रो गीत रेकर्ड गरेर बजारमा ल्याउन फलामको चिउरा चपाए जस्तै छ । पछिल्लो समय एउटा गीत अडियो सहित भिडियो बनाउन कम्तीमा ५ लाख लाग्छ । लगानी गरेर पैसा उठ्ने हो होइन थाहा छैन । तर पनि कलाकारहरु लगानी गरीरहेका छन् ।
गायिकाबाट व्यवसायी र राजनीति
पार्वती जिसी गायन यात्रा सँगै अहिले व्यवसायलाई समेत समय दिएकी छिन् । पोखराको पृथ्वीचोकमा मिडटाउन होटल छ, उनको । पुरानो आनन्द होटललाई नाम परिवर्तन गरेर सञ्चालनमा छ मिडटाउन । चिनजानका कारण अक्सर कलाकारहरुको भिड लाग्ने गर्छ । व्यवसायले राम्रै सफलता पाएको पार्वती बताउँछिन् ।
राजनीतिमा समेत अहिले उनको सक्रियता छ । समाजवादी पार्टीको गण्डकी प्रदेशको सचिव हुन् पार्वती ।