सुचना, समाचार र मनोरन्जन

दसैं, देश र परदेश

  •  
  •  
  •  
  •  

घनश्याम पौडेल /                                                       

                                                                          परिचय फिचर…

यो देशमा बडा दसैं बडाहरूका लागि आउँछ । छोटाहरूका लागि त दसैंले ऋणको भारी बोकाएर जान्छ । नवदुर्गाको दोस्रो दिन देशले डेढ दर्जन मन्त्री पायो । तर देशले जित्न सकेन । नवनियुक्त मन्त्री र उनका आफन्तलाई सोचेजस्तै असली दसैं आयो, सानमानका साथ आफ्नो पहुँच देखाउन ।

मलाई पनि सानोमा दसैंै आउन लागे पछि औधी खुसी लाग्थ्यो । दसैंैको बेला पारेर किनिदिएका कपडा लगाएर साथीभाइको अगाडि सान देखाउँदाको मज्जा भिन्न हुन्थ्यो । अझ् खसी काट्दाको मज्जा, लिङ्गे पिङ् र टाढाटाढा रहेका आफन्ती मन र भाइसाथीको भेटघाटको मौकाले दसैंैको वास्तविक अर्थ थाहा हुन्थ्यो । यो मेरो र म जस्ता सामान्य परिवारमा गाउँघरतिर जन्मे हुर्केका केटाकेटीको अनुभव हो ।

यो रमाइलो चाडको पनि एउटै सिक्काका दुई पाटा भए जस्तै उज्यालो र अँध्यारो पक्ष हुन्छन् भन्ने अलि जवान भएपछि बुझ्दै गएँ । म आँगनमा रमाइलो दसैं मानिरहँदा यही दसैंैलाई आयो ‘आयो दसैंै ढोल बजाई, गयो दसैंै रिन बोकाइ’ भन्नु हुन्थ्यो बा । जसलाई घर व्यवहार सम्हाल्नु परेको छ, सामान्य आम्दानीमा पारिवार पालेर सन्तानको मन खुसी राख्ने जिम्मेवारी छ, उनीहरूलाई दसैंै सिक्काको अर्को नरमाइलो पाटो बन्दोरहेछ । जसलाई आफ्नो खुसी बाहेक अरू कोही कसैको मतलव छैन्, अन्जान छ उसैका लागि दसैंैको उज्जालो पक्षमात्र थाहा हुँदो रहेछ।

बजारमा मुस्ताङगे च्याङ्ग्रा आएपछि यसघडी पोखरालाई पनि दसैंैले छोइसकेको छ । च्याङ्ग्राको भाऊ प्रति गोटा आधा लाखको हाराहारमीमा छ । तिब्बतबाट यसपाली च्याङ्ग्रा आएनन् । साकाहारीका लागि हैन दसैंै मांसाहारी कै लागि मात्र हो भन्ने भान परेको छ । च्याङग्रा तिब्बत र हिमालको, कपडा बैंककको, पैसा विदेशको, दसैंै हाम्रो मौलिक चाड बनिरहेको छ ।

तिब्बतको सिमाना मुस्ताङ छोसेरका पेम्बा गुरुङ यसपाली पनि पोखरेलीको दसैंै मनाउने च्याङ्ग्रा लिएर पोखरा झरे । पोखराको याम्दीमा भेट भएका पेम्बाले ५ सय च्याङ्ग्रा ल्याएका छन् । केही जोमसोमवासीलाई पनि बेचेछन् । यसरी नै हिमालका भेँडा च्याङ्ग्रा पोखरा ल्याएर बेच्ने उनी जस्ता अरू दर्जन व्यापारी पनि त्यही वरपर देखिए ।

घरमा हिमाली च्याङ्ग्रा नकाटे वा नपाके पोखरेलीको दसैं खल्लो हुन्छ । च्याङ्ग्राले चरनमा हिमाली जडीबुटी र हावापानी खाएकाले मासु तागतिलो र स्वादिलो हुने जनविश्वास छ । पेम्बाले च्याङ्ग्रा महङ्गिनुमा आफ्नो कुरा राखे, हामीले मुस्ताङमा नै ३५ हजारमा किनेका छौं यहाँसम्म ल्याउँदा ४५÷५० हजार पर्नु स्वाभाविकै हो । यसपाली पोखरामा च्याङ्ग्राको मासु २३ सयदेखि ३ हजारसम्म पर्ने अनुमान गरिएको छ ।

पोखरा आसपासका व्यापारीले पनि मुस्ताङ पुगेर गोठमा वा थोकमा व्यापारीसँग किनेर साता दिन लगाई पाखेरामा च्याङ्ग्रा झार्छन् । तर च्याङ्ग्रा ल्याउन सोचे जस्तो सजिलो भने छैन, बाटोमा च्याङ्ग्रा हराउने, भिरबाट खस्ने, चोरी हुने, ठाउँठाउँमा कर तिर्नुपर्ने सास्तीहरू पनि छन् । तर पनि नगदमा विक्री हुनसाथ नाफा भने निस्किहाल्छ । यसरी दसैंै ताका पोखरामा करिब ३० हजार भेडाच्याङ्ग्रा आउँछन भने तराईका खसी र गाउँका खसीबोका त त्यसमाथि थप हुन । पोखरा आसपास र वरपरका जिल्लामा समेत च्याङ्ग्रा पुग्छन् । गत वर्षको दसैंमा १२ हजार खसीबोकाको माग थियो पोखरा सहरमा । पर्यटकीय लाहुरेको सहर पोखरा खर्चालु सहर पनि हो । त्यसैल महङ्गो पनि मानिन्छ । बाहिरबाट मनग्य रेमिट्यान्स यतै आउँछ ।

सामान्य समयमा पोखरामा ८ हजार किलो खसीको मासु र ३५ हजार किलो कुखुराको मासु विक्री हुन्छ भने दसैंै ताका खसीको मासु ३५ हजार किलो र कुखुराको मासु २५ हजार किलो विक्री हुन्छ । राँगाभैंसी, बङ्गुरको अनुपात पनि कम छैन् । पोखराको मासुजन्य पदार्थको बजारशास्त्रलाई हेर्दा वर्षेनी ४६ प्रतिशत कुखुराको मासु, ३३ प्रतिशत राँगाभंैसी, ४ प्रतिशत बङगुर र १७ प्रतिशत मात्र खसीको मासुको खपत हुन्छ ।
जहान परिवार र केटाकेटीले दसैंैको बेला घरमा खसी नबाधे दसैंै नआए जस्तो वा नमनाए सरह ठान्छन तर खसीको मूल्यले अब यो सोच परिर्वतन गर्ने अवस्था आएको छ । दसैंको ढर्रालाई अब परिमार्जनको खाँचो छ ।

नेपालीहरूको आयस्रोत बढेर हो वा हाम्रो चालचलन,परम्परामा परिर्वतन भएर हो हामी बढी मासुखाने कोटामा परेका छौं । सन् २०२० को एक तथ्याङ्क अनुसार नेपालीले एक वर्षमा ५ लाख ५५ हजार टन मासु खाए । नेपालीहरू प्रतिवर्ष प्रतिव्याक्ति १८ किलो मासुखानेमा परेका छन् ।

विश्व खाद्य संगठनले सन्तुलित भोजनका लागि १४ केजी प्रतिवर्ष ठिक्क मानेको छ । ५० वर्ष अगाडि नेपालीले वर्षमा केवल ६ केजी मासुले गुजारा चलाउँथे ।स्वास्थ्यको दृष्टिकोणले पनि खसीमा पाइने रातो मासु मानव शरीरका लागि त्यति उपयुक्त मानिदैन । तर पनि नेपाली आफ्नो दसैंै मनाउन जहाँ गए पनि, खसी खोजेर घरमा काट्न आनन्द मान्छन् त्यसैलाई दसैंका रमझ्म ठान्छन् ।

विदेशमा वस्ने नेपालीको आफ्नै बाध्यता र परिस्थिति छन् । त्यसैले आफ्नो अनुकुलतालाई मध्यनजर राखेर दसैंै मनाउँछन । मेरा दजर्न दसैँ अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सानफ्रान्सिस्को सहर नजिक बिते । जब दसैंै आउँथ्यो, हामी नेपाली साथीभाइ मिलेर ‘हाफमुन बे’ तिर खसी खोज्न जान्थ्यांै । उतै ढालेर सफा गरी घरमा ल्याएर काटकुट गरी साथीभाई बसेर रमाइलो गरेर मन त नेपालमे छ भन्थ्यौं ।

नेपाली जहाँ भए पनि दसैंैमा खास खसीले रमाइलो गर्ने हाम्रो पुरानो परम्परा कायम नै राखेका छन् । खसी ल्याउन नसक्ने वा परिस्थिति नमिलेकाहरू ग्रोसरी स्टोरमा पाइने प्याकेटको मासु ल्याएर भए पनि दसैंै मनाएकै हुन्छन् । समय र साधनस्रोतको अभावमा सँगै बस्न र खानपिन, रमाइलो गर्न नभ्याए पनि दसैंको शुभकामना दिन्छन् । फोन र समाजिक सञ्जाल मार्फत् नै आशीर्वाद लिने दिने गर्छन् । यसरी विश्लेषण गर्दा प्रवासी नेपाली मन ‘शब्दको दसैं र प्याकेटको खसी’ मा चित्त बुझाउन वाध्य छन् ।

विज्ञान र प्रविधिले पनि मानिसलाई परिर्वतन गराएको छ । भौतिकता र यान्त्रिकतामा जेलिएका मनले जेसुकै सोचे पनि सामाजिक सञ्जालमा ह्याप्पी दसैं लेख्न वाध्य छ । प्रिय पाठकलाई मेरो पनि दसैंको व्यापक शुभकामना……।

कमेन्ट्स
Loading...