सुचना, समाचार र मनोरन्जन

महिलाहरुका लागि चुनौती र सम्भावना बोकेको पत्रकारिता

  •  
  •  
  •  
  •  
  • विमला ढकाल

बर्दिया l पत्रकारिता पेसासँग आबद्ध हुने सपना देख्नुकतिपयको लागि  ठूलो विषय हो। कतिपयका लागि सपना साकार बनाउने एक माध्यम। पत्रकारीता पेशामा लामोसमयसम्म जोडिरहनु बडो चुनौतिपुर्ण छ, त्यसमाथी महिला पत्रकारको हकमा।

देशमा महिला पत्रकारको उपस्थिती कम छ।

पत्रकार बन्ने सपना देखेर यसतर्फ आकर्षित भएका धेरै महिलाहरु पनि स्टुडियोको बन्द कोठामै सिमित बनेका छन्। कतिपय न्युनतम पारिश्रमिककै व्यवस्था नहुदा

अन्य पेशामा पलायन हुने गरेका छन्।

धेरै महिलाको पत्रकारीताको उदय रेडियो स्टुडियोका बन्द कोठाबाटै सुरु भएको मैले देखेको छु।  यसबाट आफूलाई विकास गर्दै बामे सर्नेको संख्या पनि बढ्दो छ।

मेरो छोटो समयको अनुभव र अग्रज महिला पत्रकारहरुको भोगाइलाई हेर्न हो भने पनि पुरुषलाई जस्तो सहज छैन महिलाहरुका लागि यो पेशा।  यात्राको दौरानमा आइपर्ने सबै चुनौतिहरुको सामना गर्ने महिलाहरुका लागि पत्रकारीता क्षेत्र पक्कै सफलतासंग जोडिएको छ।

म पेशासँग परिचित भएको झण्डै ३–४ बर्ष जति भैसक्यो।  सुरुवाती चरणका २–३ वर्ष भने रेडियोमा कार्यक्रम चलाउने र अरुले तयार पारिदिएका समाचार वाचन गर्नमै बित्यो।

त्यहाँबाट पत्रकारिताका सामान्य ज्ञान बुझ्ने अवसर मिलेको छ। महिला त्यसमाथी  सहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा अझ बढि चुनौतिपुर्ण छ।

म बर्दियाकै एक स्थानीय रेडियोमा कार्यरत छु। म विगत झण्डै साढे ३ बर्ष पहिले स्नातक पढ्दै गर्दा यो पेशामा आवद्ध भएकी थिए।

एस.एल.सी पछि कक्षा ११ मा पढ्दै गर्दा भुरिगाउँमा रेडियो टाइगर खुल्यो। त्यसपछि रेडियोमा रेडियो उद्घोषण तालिम खुल्दै छ भन्ने थाहा पाएपछि म दैनिक ३ घण्टा स्कुलबाट भागेर तालिममा सहभागी हुन आउथे।

म मात्रै हैन मेरो एक जना साथि पनि म संगै तालिममा सहभागी हुन जान्थीन्। सुष्मा तिमिल्सेना, जो अहिले पनि म संगै कार्यरत छिन्। हामी एउटै रेडियोमा काम गर्छौ।

हामी दुबै जना क्लास छोडेर गएपछी एकदिन एकाउन्ट पढाउने सरले क्लास छोडेर जाने भन्दै गालि गर्नुभयो। सरको गालीलाई स्विकार गर्दै थप हप्ताको तालिम पुरा गर्यौ।

मलाई यो पेशामा आकर्षित गर्ने रेडियोमा कार्यरत एकजना साथी थिइन्। जो आफु अहिले रेडियोमा पारिश्रमीक नभएकै कारण यो पेशा छोड्न बाध्य भइन्। १ हप्ताको तालिममा महिला पुरुष गरि झण्डै ३०–४० जना सहभागी थिए होलान्। ति सबै काँहा हराए थाहा छैन्। हामीलाई भने रेडियोमा काम गर्ने अवसर मिल्यो।

व्यवस्थापन संकायमा प्लस २ पढेकी पत्रकारीता पेशामा जोडिए पत्तै छैन। तर जबदेखि यो पेशामा आवद्ध भए, आफुमा खुबै परिवर्तन पाएको छु। आफूमा आत्मविश्वास जगाउने काम यो पेशाले मलाई दिएको छ।

विकट क्षेत्रमा जन्मिएकी  म  रेडियोमा काम गर्दै जादा केहि सिक्ने र बुझ्ने अवसर प्राप्त भयो। रेडियोको सैद्धान्तीक र प्राविधिक बुझ्न थालियो। कार्यालयको सहयोगले आफुमा आत्मविश्वास भरिदै गयो सायद।

प्राविधिक पाटोको ज्ञान पनि आवश्यक हुन्छ भन्ने लोक्चन रावत हुनुहुन्थ्यो। जो आज आर्थिक कै कारण रेडियो छोडेर जान बाध्य हुनुभयो।उहाँमात्र होइन भाबुक योगी , रामबहादुर चौधरी, सौगात श्रेष्ठ, भिमा कंडेल दिदि, गोपाल घिमिरे सरहरले मेरो यात्रामा सहज बनाइदिनु भयो।

उहाँहरु नभएको भए  नै यो पेशा छोडिसकेको हुने थिए सायद। उहाँहरुको सहयोगकै कारण  अहिले थाहा खबर अनलाईनको बर्दिया सम्बाददाताको रुपमा कार्यरत  छु।

यो बिचमा म लगायत महिला पत्रकारले भोगेका समस्याहरु थुप्रै रहेका छन्।  क्षमता हुदाँ हुदैँ  हरेक घेरामा  छोरी हुनको आभास दिलाउछ यो समाज। स्वतन्त्रताको बन्दि

कामबाट घर फर्किन केहि ढिलो भयो भने अनेक थरी कुरा चल्न थाल्छन्। एक्लै बाहिर हिड्ने वातावरण छैन् अझै पनि। अर्को तर्फ जुन अबसर मैले पाए त्यो अबसर सबै, सबै महिलाहरुले पाउदैनन्। भविष्यमा पत्रकार नै बन्छु भन्ने सपना यस्तै कारणले संकुचीत भएका छन्।

पहिलो परिवारले नै सजिलै कुनै पेशामा आबद्ध हुन रोकिदिन्छ। आफूसँग क्षमता  महिलालाई हेर्ने कमजोर मानसिकताले अवसर नपाउनु।

घर र समाज दिएको घेरालाई नाघेर पत्रकारितामा लागेपनि पारिवारीक जिम्मेवारी लगाएत समाजका विविध जिम्मेवारी पुरा गर्नु नै पर्छ। यस क्षेत्रलाई नै पेशा बनाउछु भन्ने मानसिकता सहित प्रवेश गरेका महिलाहरुलाई पनि टिकाउन सकिने अवस्था छैन।

एक त महिला पत्रकारको दोहोरो, तेहोरो, घर देखि पेशागत जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता, त्यसमाथि समाजले पत्रकारीताको मर्म, धर्म र कार्यगत प्रकृती नबुझेकाले महिला पत्रकारलाई हेर्ने दृष्टीकोणका कारण पनि यस क्षेत्रमा महिला पत्रकारहरु व्यवसायिक रुपमा टिक्न सकिरहेको अवस्था छैन्।

परिवार समाज र राष्ट्रका लागि महिलाको विकास अनिवार्य छ। कुल जनसंख्याको हिसावले ५१ प्रतिसत ओगटेको महिला वर्गको उपस्थिती राज्यका अन्य निकायमा न्युन रहे झै यो वर्गको उपस्थिती पत्रकारीतामा पनि अत्यन्त न्युन छ। यसमा अझ भन्ने हो भने तुलनात्मक रुपमा आदिवासी जनजाती महिला पत्रकारको संख्या न्युन छ।

झण्डै ५२ प्रतिसत थारु समुदायको बसोबास रहेको बर्दियामा पनि थारु समुदायका महिलाहरु पत्रकारीता पेशामा थोरै मात्र लागेको पाइन्छ। यस्तै विहे अघि यो पेशामा लागेर काम गरिरहेको भए पनि विहे पछि श्रिमानको घर जानुपर्ने लगाएतका विभिन्न कारणले महिलाहरु यो जिम्मेवारीबाट अलग्गीन पुग्छन्। त्यसैगरी कतिपय महिलाहरुलाई श्रीमान घर परिवार लगाएतको सपोर्ट मिलिहाले पनि पछि सन्तानको स्याहार सुसार गर्नुपर्ने लगाएतका कारण समय व्यवस्थापन गर्न नसकेर छोड्न विवश हुन्छन्।

त्यस्तै अर्को जटिल समस्या के पनि छ भने यहाँ विश्वासको समेत कमि छ। महिलाहरु विहेपछि छोडेरै गैहाल्छन भन्ने डरले पनि उनिहरुलाई विश्वास गरिदैन र जिम्मेवारी पद पनि दिइदैन्। लामो समय कुनै सञ्चार माध्याममा खटिएर काम गरेपनि उनिहरु रिपोटरमै सिमित रहन्छन्। त्यो भन्दा माथि उठ्न सक्दैनन्। जव आफ्नो कामको मुल्यांकन सम्म हुदैन, तव विचरा महिलाहरुलाई काँहाबाट काम गर्ने जागर चलोस्।

यस्ता थुप्रै कारणहरु छन्, जुन पत्रकारीता क्षेत्रमा महिलाहरुका लागि अवसर हुदा हुदै पनि तगोरो बनेर उभिएका छन्। जस्ले महिलाहरुलाई पत्रकारीता जगतमा जगमगाउन समस्या निम्त्याइरहेका छन्। तर अर्को तिर के पनि छ भने जुन महिलाले असर र सपोर्ट पाउछन्, उनिहरु पत्रकारीता क्षेत्रमा जिवन्त सम्म रहिरहेका पनि छन्। जो महिला पत्रकारका लागि प्रेरणको श्रोत बनेका छन्।

महिला पत्रकारका लागि राज्यले पनि केहि प्रयास थालेको देखिदैन्। स्थानीय सरकार आएपछि महिला पत्रकारहरुका पक्षमा पहल गर्न कि भन्ने आशा गरेका महिला पत्रकारहरु ३, ३ बर्ष सम्म केहि पहल नभएपछि निरास छन्। महिलाहरुलाई यस क्षेत्रमा रहिरहन र समाजका महिला वर्गका लुकेर गुम्सीएर रहेका क्षेत्रहरुलाई वाहिर ल्याउनका लागि राज्यका निकायबाट पहल थालेमा केहि सहज हुने थियो कि ?

कमेन्ट्स
Loading...