काठमाडौं :
रामबाबु गुरुङद्वारा निर्देशित फिल्म ‘फूलबारी’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सोमवार दिउँसो म्यूजिकल टिजर रिलिज गरेको हो । टिजरमा परिवारभित्रको माया प्रेमका कथालाई प्रस्तुत गरेको छ ।
टिजरमा अभिनेता विपिन कार्की र अरुणा कार्कीलाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ । जहाँ उनीहरुबीचको बुढ्यौली प्रेम, सन्तानप्रतिको कर्तव्य र दायित्व, पारिवारिक कलहलाई टिजरमा अटाइएको छ । फिल्ममा विपिनलाई अर्धवैंशे पुरुषको भुमिकामा देखाइएको छ ।

फिल्मको टिजरमा विपिन र अरुणाका साथमा दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङलाई देख्न सकिन्छ । यस फिल्ममा अन्य कलाकारमा रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्की, सोफिया राई लगायत रहेका छन् ।
यशोधा फिल्मस्ले निर्माण गरेको फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । यो फिल्मको गीतमा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत सुन्न सकिन्छ । अमेरिकी छायाँकार जोस हेरमले खिचेको फिल्ममा मनिष ढकाल निर्माता र कार्यकारी निर्माता मणीराम पोखरेल हुन् । फिल्म आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने निर्माण पक्षको भनाई छ ।