काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली मङ्सिर ८ गते सीमा निरीक्षणको लागि इलामको जौबारी डाँडामा आउने भएका छन्। सन्दकपुर र माईजोगमाई गाउँपालिकाको संगमस्थलमा नेपाल भारत सीमा निरीक्षणका लागि प्रधानमन्त्री ओली सन्दकपुर कालपोखरी निरीक्षण गर्दै जौबारी आउने कार्यक्रम छ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंका अनुसार प्रधानमन्त्रीले सिमा निरक्षणसँगै नेपाल सरकारले जौबारीमा स्थापना गरेको बोर्डर आउट पोष्ट (बीओपी) उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको कार्यालयबाट ५ गतेका लागि कार्यक्रम तय भएको थियो। त्यसपछि ७ गते आउने भनिए पनि प्रधानमन्त्री ८ गते आउने तय भएको हो। ताप्लेजुङमा घुन्सा फाउण्डेसनद्वारा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन, हिमाली क्षेत्रका बासिन्दाको जनजीवन र सीमावर्ती क्षेत्रको निरीक्षणको कार्यक्रम सकेर प्रधानमन्त्रीले जौबारीमा आउनेछन्।
जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख नवीनराज राईका अनुसार प्रधानमन्त्री दिउँसो एक बजेदेखि दुई बजेको समयमा जौबारी आइपुग्ने जानकारी प्राप्त भएको छ। जौबारी आएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको राईले जानकारी दिए। प्रधानमन्त्री आउने भएपछि जौबारी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाउँदै चार वटै सुरक्षा निकायको सुरक्षा टोली कार्यक्रमस्थलमा परिचालन गरिएको छ।
इलामको सन्दकपुरदेखि जिर्मलेसम्म साढे ५२ किलोमिटरसम्म नेपाल भारत सीमा क्षेत्र रहेको छ। यी क्षेत्रमा सरकारले अहिले धमाधम बीओपी स्थापना गरिरहेको छ।
पशुपतिनगर, कालपोखरी, छब्बिसे, समालबुङ र सलकपुरमा सरकारले सशस्त्र प्रहरीको बीओपी स्थापना गरिसकेको छ। कोभिड–१९ नियन्त्रणका लागि जौबारी, मेघमा, मानेभञ्ज्याङ, छब्बिसे, हिले, खोलागोदाम, समालबुङ, सलकपुर र लाङ्केटमा राखिएका टोलीलाई नै स्थापना भएका बीओपीमा खटाइएको छ।
