सुचना, समाचार र मनोरन्जन

सन्दर्भ ६४ औं वार्षिकत्सव : पृथ्वीनारायण क्याम्पसको शैक्षिक यात्रा

पोखराको शैक्षिक विकासमा पृथ्वीनारायण क्याम्पसको योगदान प्रशंसनिय छ ।

सन्तोष बस्याल, पोखरा ।

नेपालकै सबैभन्दा विशाल क्याम्पसका रुपमा रहेको पृथ्वीनारायण क्याम्पसमा झण्डै १५ हजार विद्यार्थी अध्ययन गर्छन् । क्याम्पसमा प्राध्यापन गराउने प्राध्यापकको संख्या ५ सय भन्दा बढी छ । १ सय कर्मचारीले क्याम्पसको सम्पूर्ण व्यवस्थापनको पाटोलाई सम्हालेका छन् । ८५ हजार भन्दा बढी पुस्तक संग्रहित रहेको पुस्तकालयको विशेषता पनि आफ्नै किसिमको छ । २८ सय जति थेसिस पनि संग्रहित गरेर राखिएको छ । खेलकुदका लागि आवश्यक क्षेत्र तथा पर्याप्त भौतिक सुविधाहरु उपलब्ध हुनु क्याम्पसको विशेषता हो ।

उसो त नेपालकै सुन्दर शहरको उपमा पाएको पोखराको मनमोहक दृश्यले हरकोहि लालयित नहुने कुरै भएन । त्यसमा पनि पोखरा प्रवेश गर्ने पहिलो विदेशी जापानीज नागरिक इकाई कावागुचीलाई सम्झिनेहरु पनि भेटिन्छन् । कावागुजी उनै हुन् जसले वि.सं. १९५५ चैत ४ गते पोखराको भूमीमा पाइला टेकेका थिए । त्यस अघि कोहि विदेशी यस ठाउँमा नआएको इतिहास छ ।

कावाकुचीले आफ्नो पुस्तक थ्री इयर्स इन तिबेतमा पोखराको वर्णन नै गरेर लेखेका छन् । नेपालका सबै ठाउँ हिडेरै भ्रमण गर्ने स्विस भूगर्भविद टोनी हेगनको पनि प्रिय ठाउँ पोखरा नै थियो ।

वि.सं. १५२४ मा कास्कीका राजा कुलमण्डन शाहले म्याग्दी राखुका पद्यपाणी पाध्यालाई हालको बरपाटन नजिकै पाखामा जमिन बिर्ता उपलब्ध गराई पिँढी शिक्षाको शुरुवात गराएका थिए । यसपछी कास्की शिक्षाको लागी प्रख्यात हुन थाल्यो । बाइसे चौबिसे राज्यका राजकुमारहरु शिक्षाको लागी कास्की आउन थाले । त्यसपछी एउटा कहावत नै बन्न गयो, ‘संस्कृत अध्ययन गर्न कि कास्की जानु कि काशी जानु ।’

साथै न्याय हराए गोर्खा जानु विद्या हराए कास्की जानु भन्ने कहावत पनि त्यतिबेला नै सुरुवात भएको थियो ।

पृथ्वीनारायण क्याम्पसको पुरानो रुप

यसरी राणा प्रधानमन्त्री श्री ३ देवशम्शेरबाट वि.सं. १९५८ सालमा नेपालका विभिन्न जिल्लामा भाषा पाठशाला खोल्ने क्रम शुरू भयो । त्यहि क्रममा पोखराको विन्ध्यावासिनी प्राङ्गणमा पनि भाषा पाठशाला स्थापना गरियो । पोखराको आधिकारिक सरकारी पाठशालाको रूपमा स्थापित भयो । विस्तारै पोखरा आधुनिकता तर्फ ढल्कदै गयो । २००४ सालमा राणा प्रधानमनत्री पद्मशम्शेरले नेपालमा आधार शिक्षाको शुभारम्भ गरे ।

२००६ सालमा आधुनिक शिक्षाका लागि अंग्रेजी विषय समेत पढाउने उद्देश्यले पोखराको नदिपुरमा छाप्रो बनाएर पोखरा पब्लिक स्कुलको शुभारम्भ भयो । यसरी पोखरामा आधुनिक शिक्षाको शुरुवात भएको पाइन्छ ।

२०१६ सालसम्म आइपुग्दा पोखरा क्षेत्रमा ९ वटा विद्यालय खुलिसकेका थिए । तर उच्च शिक्षाका लागि भने राजधानी र भारत जानुपथ्र्यो । २००६ सालमा खुलेको पोखरा पब्लिक स्कुलका विद्यार्थीहरू मल्टी पर्पस हाइस्कुल बनेर पनि मैट्रिक परिक्षा उतिर्ण गरिसकेका थिए । उनिहरूले उच्च शिक्षाको लागी पोखरामा नै कलेज स्थापना गर्न अनुरोध गरिरहेका थिए ।

अन्तत सुनवाइ नभए पछि पोखराको मुख्य बजार क्षेत्रमा २०१६ को बैशाख तिर जुलुस पनि निकालिएको थियो । जुलुस निकाले पनि सुनवाई नभएपछि केहि विद्यार्थीहरु उच्च शिक्षाका लागि राजधानी धाउन थाले ।

तत्कालिन समयमा विद्यार्थीहरुको माग पुरा नभएता पनि त्यसको झिल्को कहिँकतै पुगेको थियो । ठ्याक्कै एक वर्ष पछि वि.सं. २०१७ सालको असारमा तत्कालिन बडाहाकिम नारायणप्रसाद उपाध्यायको निवासमा छलफल भई बडाहाकिम उपाध्यायकै अध्यक्षतामा १४ सदस्यीय कलेज सञ्चालक समिति गठन भयो । दुइ महिना सम्म विभिन्न छलफलहरु प्नि भए । सोहि संचालक समितिका सदस्यहरु योग्य प्रिन्सिपलको खोजीमा व्यस्त रहन थाले । यस्तैमा काठमाडौमा बसेर ट्यूशन पढाउने गरिरहेका जर्ज जोन माथी सञ्चालक समितिका सचिव शिवबहादुर थापाका भाई बिमलबहादुर थापाको नजर पर्यो ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख, पूर्व प्रमुख, स्थापनकालिन समयका विद्यार्थीसँग सुनिल उलक

संयोगले ट्यूशन पढ्न पुगेका बिमलबहादुर थापाले जोन सरको बारेमा आफ्ना दाजु शिवबहादुरलाई जानकारी पठाए । यता अकस्मात बसेको बैठकले जर्ज जोनलाई पोखरा झिकाउने निर्णय गर्यो । जसको सम्पूर्ण जिम्मेबारी बिमलबहादुर समक्ष आइपर्यो । बिमलले जर्ज जोनलाई पोखरा घुम्नका लागि डाके । जर्ज जोनले पनि बिमलको प्रस्ताव सहर्ष स्विकार गरि पोखरा आए । घुम्नका लागि पोखरा आएका जर्ज जोनलाई पृथ्वीनारायण क्याम्पसको प्रमुखको रुपमा नियुक्ति गरियो ।

जर्ज जोन त्यतिबेला पोखरा आए जतिबेला पोखरा आउन सडक संजालको विस्तार भइसकेको थिएन । हवाईयात्रा भने थियो । २०१७ भाद्र १६ गते जहाजबाट जर्ज जोन पोखरा झरे । भाद्र १६ गते साँझ नै उनको उपस्थितिमा अचानक बसेको सञ्चालक समितिको आकस्मिक बैठकले देवीरमण सुवेदीको नियुक्ति गर्ने निर्णयका साथ २०१७ भाद्र १७ गतेबाट नै पोखराको नदीपुरमा रहेको कन्या स्कुलको भवनमा रात्री कक्षाका साथ पृथ्वीनारायण इन्टर कलेजको शुभारम्भ गर्ने निर्णय भयो ।

त्यसबेला छलफलमा सहभागी हुने सञ्चालक समितिका शिक्षाप्रेमी सदस्यहरूमा सञ्चालक समितिको अध्यक्षमा वडाहाकिम नारायणप्रसाद शर्मा, सचिवमा शिवबहादुर थापा, सहसचिवमा प्रेमराज मुल्मी, कोषाध्यक्षमा दिलबहादुर भारी तथा सदस्यहरूमा त्रैलोक्यनाथ श्रेष्ठ, अमृतप्रसाद शेरचन, सुन्दरप्रसाद मर्सानी, भोलानाथ पराजुली, रमेशकान्त सिग्देल, हिकबहादुर शाक्य, ऋषिकेशव पराजुली र श्रीप्रसाद गुरूङ रहेको पृथ्वीनारायण क्याम्पसको शुरुवातका क्षणहरु सम्झदै जर्ज जोन भन्छन् ।

क्याम्पसको पहिलो दिन आफु र देवीरमण सुवेदीले मात्र अध्यापन गराएको उनको सम्झना छ । १३ जना विद्यार्थीहरु कृष्णदेव प्रधानाङ्ग, दीपकलाल बाटाजु, घनश्याम मर्सानी, सूर्यरत्न शाक्य, सूर्यनाथ अधिकारी, केशव पराजुली, बासुदेव पौडेल, दयाप्रसाद मर्सानी, रत्नकुमार कायस्थ, बुद्धिप्रसाद श्रेष्ठ, केशवराज राजभण्डारी तथा सुरेश राजभण्डारी र एक महिला उर्मिला दुवेको सहभागिता थियो ।

क्याम्पस खुले पनि आफ्नै भवन नहुँदा समस्याहरू सिर्जना हुनु स्वभाविकै थियो । भाद्रमा शुरू गरिएको कलेज मंसिरमा उद्घाटन गर्ने भनिएता पनि अचानक मन्त्रीको आगमन र स्वागतको लागि कन्या स्कुलमा भएको बैठकको कारण विवाद भए पछि विद्यार्थीहरू कन्या स्कुलको कक्षा कोठामा नपढ्ने निर्णय गरे । अव नयाँ स्थानको खोजी गर्नुपर्ने आवश्यकता देखियो ।

कन्या स्कुलको पछाडी नारायणस्थानको मन्दिर थियो । त्यहि एउटा पौवा पनि थियो । विद्यार्थीहरू दुखसुख गरेर त्यहि पौवामा पढ्ने निधो गरे । ‘तुच्छ व्यवहार गरेको कारण विद्यार्थी रिसाईरहेका थिए । त्यसैले कन्या स्कुलको कोठा छोडेर नारायणस्थानको पौवामा पढाइ शुरू भयो । पौवाको चिसो सिँढीमा गुन्द्री ओछ्याएर पढाई हुन थाल्यो ।’, जर्ज जोनले भने ।

पछि विवाद मिल्दै गयो र फेरि विद्यार्थीहरु पठपाठनका लागि कन्या स्कुलको भवनमा नै फर्किए । कलेजको पढाइ भइ नै रह्यो, स्थानको खोजी पनि भइ नै रह्यो । यस बीचमा देशमा प्रजातान्त्रिक सरकारको अन्त भएर पनि पञ्चायती व्यवस्थाको उदय भइसकेको थियो । पोखरामा नया बडाहाकिमको आगमन पनि भइसकेको थियो ।

बडाहाकिमको रूपमा तेजबहादुर प्रसाइको आगमन हुनु पृथ्वीनारायण क्याम्पसका लागि सकरात्मक पक्ष थियो । त्रिचन्द्र कलेजका शिक्षक रहेका तेजबहादुर प्रसाई र जर्ज जोनले एक अर्कालाई चिन्दथे । चिनजान राम्रै भएकाले पनि आफुले तेजप्रसाद प्रसाईलाई पृथ्वीनारायण क्याम्पसका लागि उपयुक्त स्थानको व्यवस्था गर्न अनुरोध गरेको जर्ज जोन समझन्छन् ।

महेन्द्र बटालियन रहेको फुलवारी (हाल रानीपौवा) को चौर, सोल्डर्स वोर्ड अस्पतालको चौर र भीमकाली पाटनको चौर मध्यमा एकको व्यवस्था गरिदिने आश्वासन पाए पछि जर्ज जोन ढुक्क भए । तेजबहादुर प्रसाइको सरूवा हुनु अगाडी उनले भीमकाली पाटनको ११० रोपनीको चौर पृथ्वीनारायण कलेजको नाममा लेखेर दिए । जग्गा दिलाएको केही समय पछि बडाहाकिम तेजबहादुर प्रसाइ सरूवा भए भने उनको स्थानमा नयाँ बडाहाकिम दानबहादुर शाक्य आइपुगे ।

कलेजको आफ्नै घर बनाउन कस्सिएका विद्यार्थी र शिक्षकहरूले सांस्कृतिक कार्यक्रम गरेर केही आर्थिक आर्जन गरे भने जर्ज जोन, महेन्द्रसिंह थापा तथा शिवपुजन यादवको नेतृत्वमा विभिन्न स्थानमा गएर बाँस तथा खर काटेर ल्याउन थालियो । यसरी २०१८ फागुन १७ गते आफ्नै भवन बनाउने शुरूवात पनि बडाहाकिम दानबहादुर शाक्यबाट नै भयो । उनले खाँबो गाडेर कलेज भवन (छाप्रो) निर्माणको शुभारम्भ गरेको पहिलो ब्याचका विद्यार्थी कृष्णदेव प्रधानांगले बताए ।

अहिलेको पृथ्वीनारायण क्याम्पस

 

उनका अनुसार त्यस जमिनका हकदार मानिएका वा भनौ बिर्तावाला पराजुलीहरू यसमा खुशी थिएनन् । समय समयमा व्यवधानहरू गरिरहे पनि विद्यार्थी र शिक्षकको हौसलाको अगाडी कसैले रोक्न सकेन ।

छात्रावास, कक्षाकोठा र प्रिन्सिपल निवास गरि तीनवटा कोठा तैयार भयो । यसको लागि विद्यार्थीहरू एवं शिक्षकहरू पनि दिनरात मेहनत गर्न थालेका थिए । बाँसको खाँबो, चित्राको बार तथा खरको छानो भएको कलेजको भवनमा २०१९ बैशाख १ गते सरियो । त्यसदिन शुक्रवार परेको हुदा आइतवार बैशाख ३, २०१९ देखी भीमकाली पाटनको आफ्नै भवनमा दिउँसो पढाइको शुभारम्भ भयो ।

होस्टेलमा पनि केही विद्यार्थीहरूले बस्ने निधो गरे । यसरी भीमकाली पाटनमा कलेज सरे पछि पनि प्रिन्सिपलमा जर्ज जोन नै रहे भने कर्मचारीको रूपमा नारायणबहादुर कार्की र अर्जुन बिक्रम राणा थपिए । विद्यार्थीको संख्या पनि ३६ जना पुगिसकेको थियो । शिक्षकहरू पनि चारजना भइसकेका थिए ।

२०१९ बैशाख ३ गतेबाट शुभारम्भ भएको यस पृथ्वीनारायण कलेजको त्यसपछि बिस्तारै सुदिनहरु आउन थाल्यो । काठमाडौमा २०१३ सालमा स्थापना भएको कलेज अफ एजुकेशनले पोखरामा पनि पढाइ शुरुवात गर्न थालेको थियो । पृथ्वीनारायण कलेजले छोडेको नारायणस्थानको पौवामा नर्मल स्कुलको शुरुवात भएको थियो । यता पृथ्वीनारायण कलेजका पक्की भवनहरु पनि बिस्तारै बन्न थाल्यो । २०१९ सालमा नै आइएस्सीको पढाइ शुरु भयो । तर अनुमति नदिइँदा पहिलो वर्षको परिक्षा दिन पाएनन् । यसरी बन्द भएको आइएस्सीको पढाइ अन्तत २०२५ सालबाट नियमित शुरु भयो । यसका साथै आइकम र बीए तहका कक्षाहरु पनि सञ्चालन भए तर पछि आइए बाहेक अन्यलाई अनुमति दिइएन । जसले गर्दा बन्द भए ।

२०२० सालको भदौ ४ मा बीए कक्षा पून सञ्चालन भयो । यहि समय अमेरिकी पिसकोर भोलेन्टियरका रुपमा अमेरिकी विद्यार्थीहरु नेपालमा आउन थाले । पोखराको पृथ्वीनारायण कलेजमा पनि डगलस बिंगहम, पिटर फार्को तथा डोरोथी मिरोले अंग्रेजी तथा अन्य विषय पढाएर सहयोग गरे । साथै नयाँ पक्की भवनहरु पनि बन्न शुरुवात भयो । डोरोथी मिरोले आफ्नो नीजि रकमले म्यूजियम भवन बनाइदिइन । यसरी पक्की भवनहरु क्रमश थपिन थाले ।

पृथ्वीनारायण क्याम्पसको संस्थापक प्रमुखमा जर्ज जोनलाई नियुक्ति गरिएको चिठी

२०२४ सालमा आइएस्सीको पढाइ पून शुरुवात भयो । २०२६ सालमा आइकमको पढाइ पनि शुरु भयो । उता कलेज अफ एजुकेशनले यस कलेजको उत्तरी भागमा अमेरिकी सरकारको सहयोगमा आइएडका लागि भवन बनाइदियो । २०२६ सालमा तैयार भएको यस भवनमा प्राथमिक कक्षाका लागि शिक्षकहरुलाई तैयार बनाइन्थ्यो र त्यहि भित्र रहेको प्राथमिक स्कुल (नर्मल स्कुल)मा तालिम दिइन्थ्यो ।

२०३० साल साउन १ गतेबाट पृथ्वीनारायण कलेजको नाम परिवर्तन भएर पृथ्वीनारायण क्याम्पस रहन गयो । २०३३ सालमा पहिलो पटक त्रिभुवन विश्वविद्यालयले आफ्नो डिनको कार्यालयलाई पोखरामा स्थानान्तरण गरायो । मानविकी तथा सामाजिक शास्त्रको डिनको कार्यालय पोखरामा राख्यो ।

यसरी २ जना शिक्षक १३ जना विद्यार्थीबाट सुरु भएको क्याम्पस अहिले ६४ औं वार्षिकत्सव मनाउँदै छ । ७ सय १५ रोपनी १२ आना ३ पैसा १ दाम क्षेत्रफल जग्गामा ठूला भवन ४० वटा रहेको क्याम्पसका प्रमुख डा. सरोज कोइराला बताउँछन् । ‘क्याम्पसमा ४० वटा ठूला भवन, ६८ वटा साना भवनहरु र ६९ वटा सटरहरु रहेका छन् ।’, उनले भने । आर्टस् (मानविकी) संकायबाट पढाई सुरु भएको क्याम्पसमा ४ वटा संकाय, एउटा अध्ययन संस्थान, ३४ वटा विभाग र विभिन्न विशेष शैक्षिक कार्यक्रम संचालनमा रहेको उनले बताए । क्याम्पस विश्वविद्यालयको बाटोमा रहेको समेत उनले उल्लेख गरेका छन् ।

 

(यो स्टोरी लेख्दा तस्बिर र अन्य आवश्यक सामाग्रीका लागि सुनिल उलकको समेत साथ रहेको छ ।)

Leave A Reply

Your email address will not be published.