सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय ठट्टा महोत्सव

  कविता

–तेजविलास अधिकारी

आउनुहोस् एक–एक ठट्टा सुनाउनुहोस्
सिक्नुहोस् नयाँ शैलीका प्यारोडी
थप्नुहोस् मान पदवी
बन्नुहोस् केन्द्रीय प्रतिभा

खुल्ला विज्ञापन छ
अनलाइन प्रसारण छ
यो हो मौका, यो हो मेला
हो आउनुहोस्
दोषा–दोष गर्नुहोस् एकले अर्कालाई
छर्दैछन् जति पनि माध्यम
नभए किन्नुहोस् एउटा कुनै माध्यम
अनि सुनाइ देखाइ प्रचारमा ल्याउनुहोस्

गाँस, बास, कपास
कहाँ छ खै ?
श्रमको क्षेत्र के हो खै ?
बनेका छन् महल कसरी नयाँ शासकका ?
चल्छ पार्टी र पाटी कसरी ?

अनेक यावत् प्रश्न भो नगर्नुस् अब
यो मेहफिल मै रमाउनुहोस्
हो आउनुहोस्
कहिले एकेडेमीको हलमा
कहिले सरकारी निवासमा
कहिले वैङ्क्वेट वा फुटसलहरूमा

ढिलो नगर्नुहोस् यो महोत्सवमा
उखान–तुक्का, दोहोरी, प्यारोडी, कटाक्ष
अझ् सकेको प्रमाण पेश गर्दै
चरित्र हत्या गर्न
शतप्रतिशत छुट पो छ
त्यसैले, चुनावमा भाग लिन वा नलिन
अदालतलाई प्रभावित पार्न वा गुहार्न
अथवा, बाँढेरै लाभका पद
सडक सडकमा सस्तो टिकटमा

अझ सित्तैमा सहभागी हुने
राष्ट्रिय ठट्टा महोत्सवमा
ढिलो नगर्नुहोस्
प्रिय कलाप्रेमी
अब सबै नेता अभिनेता
सबै अभिनेता नेता
र सबै जनता हास्यकलाकार

कमेन्ट्स
Loading...