पोखरा । पोखराका उद्योगी तथा व्यवसायीहरूलाई यतिबेला चुनावी माहोलले तताएको छ । आगामी पुस २४ र २५ गते हुने महाधिवेशनका लागि उम्मेदवारहरू अहिले भोट माग्न व्यस्त देखिन्छन् ।
अहिले अध्यक्षका उम्मेदवार नारायण कोइरालासहितको टोली घरदैलो अभियानमा निस्किएकव छ । पोखरा रामबजारमा लालदिप स्टोर्स सञ्चालन गरिरहेका निरज थापा लामो समयदेखि पोखरा उद्योग वाणिज्य संघमा निस्क्रिय भएर बसेका थिए । कारण थियो- राजनीतिक गन्ध । तर आइतबार नारायण कोइराला प्यानलसहित भोट माग्न जाँदा उनले खुशी हुँदै भने, ‘यो पटक राजनीतिक गन्ध देखिनँ । आस्थाको आधारमा एउटै भएपनि नारायणको प्यानलमा मैले त्यो स्वार्थ देखिनँ ।’
त्यस्तै सत्कार ग्रोसरीका सञ्चालक दिपकबहादुर थापाले नारायण कोइरालाको टीमका सबै उम्मेदवार पुराना अनुहार भएकोले चुनाव जित्ने बताए । उनले भने, ‘नयाँ सदस्यता लिएको केही वर्षमै ‘भाइटल’ पोष्ट खोज्नेहरूले हाम्रा समस्या बुझ्न सक्दैनन् । हाम्रो समस्या बुझेर समाधान गर्ने नारायण कोइराला कै प्यानल देखेँ ।’ बुद्धचोकमा ऋषि ब्रदर्स सञ्चालन गरेर बसेका ऋषि सापकोटाको पनि यस्तै धारणा छ ।

पोखरा प्रदेशको राजधानी भएकै कारण पनि पोखरा उद्योग वाणिज्य संघले समग्र प्रदेशकै प्रतिनिधित्व गनुपर्ने र त्यसका लागि सक्षम व्यक्तिले नेतृत्व गर्नुपर्ने उनको सुझाव छ । उनले भने, ‘पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष भनेको प्रदेशकै आइडल हो । त्यसकारण सही व्यक्तिको हातमा नेतृत्व पुग्नुपर्छ ।’
महासचिव पदका उम्मेदवार सुरेन्द्रमान विजुक्छे व्यक्तिवाद त्यागेर समूहगत निर्णयमा ध्यान दिने र उद्योग वाणिज्य संघमा प्रणालीको विकास गर्ने बताउँछन् । यो प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापति, वाणिज्य उपाध्यक्षमा अर्जुन पोखरेल, उद्योग उपाध्यक्षमा चिनुकुमारी गुरुङ, महासचिवमा सुरेन्द्रमान विजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्री छन् ।
सदस्यहरूमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । कुमानी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, ऋषिराम भण्डारी, रामेश्वर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी, हरिराज पन्त, देवेन्द्र केसी, शोभा गौतम, भरत केसी र सुदनबहादुर कोइराला कार्यसमिति सदस्यको उम्मेदवार छन् ।
यसैगरी एशोसियट्स सदस्यहरुमा हरिहर सापकोटा र हर्कबहादुर अधिकारी (मिराज) उम्मेदवार बनेका छन् । उद्योग वाणिज्य संघमा विगत लामो समयदेखि काम गरेको समूह भएकोले आफूहरूले चुनाव जित्ने दावी कोइराला प्यानलको छ । पोखरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि आगामी पुस २४ र २५ गते महाधिवेशन हुँदैछ ।