सुचना, समाचार र मनोरन्जन

भ्याक्सिन नपाएसम्म पोखराका पर्यटन बजार नखोल्ने चेतावनी

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

पोखराका पर्यटन व्यवसायीहरुले सरकारले सहजरुपमा भ्याक्सिनको उपलब्धता नगराएसम्म पर्यटन बजार नखोल्ने चेतावनी दिएका छन् । विहिबार पोखरा पर्यटन परिषदले पत्रकार सम्मलेनको आयोजना गर्दै भ्याक्सिन विना पर्यटन संचालन हुन नसक्ने हुँदा कोभिड १९ विरुद्धको भ्याक्सिन छिटो भन्दा छिटो उपलब्ध गराउन सरकार समक्ष माग गर्दै सो चेतावनी दिएका हो । परिषदका अध्यक्ष गोपी भट्टराईले पर्यटन क्षेत्रमा आबद्ध व्यवसाय, मजदुर र कर्मचारीलाई यथाशिघ्र भ्याक्सिन उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन् । उनले भनेका छन्, ‘जबसम्म पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायी, कर्मचारी र मजदुरहरुलाई भ्याक्सिन उपलब्ध गराइँदैन तबसम्म पर्यटन संचालन गर्न सम्भव छैन ।’

पर्यटन व्यवसायी अग्नी कँडेलले भ्याक्सिनको उपलब्धता नभएसम्म व्यवसाय संचालनको गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । उनले सरकारले पर्यटन व्यवसायीको हकमा स्पष्ट नीति निर्धारण गर्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । पर्यटन क्षेत्रको फ्रन्टलाइनमा बसेर काम गर्नेहरुलाई सरकारले भ्याक्सिनको व्यवस्था गरेको खण्डमा समस्याको समाधान गर्ने वातावरण तय हुन सक्ने भनाई उनको छ । पर्यटन व्यवसायी बासु त्रिपाठीले राजधानीको पर्यटन व्यवसायीहरुलाई १० हजार खोपको व्यवस्था गरिए पनि प्रदेशमा त्यस्तो नपाइएको गुनासो पोखेका छन् । उनले भनेका छन्, “राजधानीका ठमेलमा होटल संचालन गर्ने व्यवसायीहरुलाई संघ सरकारबाट १० हजार खोप उपलब्ध गराइएको छ । तर प्रदेशमा त्यस्तो अवस्था छैन । त्यसैले पनि सरकारलाई दबाब दिन हामीले ‘नो भ्याक्सिन, नो टुरिजम’ को अवधारणा ल्याएका हौं ।”

पर्यटन व्यवसायी गणेश भट्टराईले सर्वप्रथम सरकारले नेपाल सुरक्षित छ भन्ने विषयलाई प्रत्याभूति गर्नुपर्ने आवश्यकता रहेको बताए । पर्यटन क्षेत्रमा काम गर्नेले भ्याक्सिन नलगाउँदा विदेशबाट भएका बुकिङहरुलाई समेत क्यान्सिल गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । अन्तर्राष्ट्रिय बजारमा भ्याक्सिन विना टुरिजमको सम्भावना नभएको उनले स्पष्ट पारेका छन् ।

पोखरा पर्यटन परिषदले गत वर्षदेखि ल्याइएको मौद्रिक नीतिलाई समेत हालसम्म कार्यन्वयन नगरिएको हुँदा शिघ्र कार्यन्वयन गर्न माग गरेको छ । प्रेस विज्ञप्ति मार्फत उसले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेटले सम्बोधन गरिएका आर्थिक नीति तथा कार्यक्रमलाई समेत अभिलम्ब कार्यान्वयन गर्न आग्रह गरेको छ । पर्यटन क्षेत्रमा भएको बैंक तथा वित्तिय संस्थाहरुको लगानीको किस्ता, ब्याज पर्यटन क्षेत्र सहज रुपमा संचालन नहुँदासम्म तिर्न नसकिने व्यवसायीहरुले बताएका छन् । वित्तिय संस्थाहरुसँग सरकारले सहजीकरण गरी लकडाउनको समयअवधिभर बैंक ब्याज र घरभाडा सरकारले व्यहोर्नुपर्ने माग उनीहरुको छ ।

व्यवसाय नविकरण, अध्यावधिक शुल्क, घरभाडा कर, यातायात कर साथै सम्पूर्ण पर्यटन व्यवसाय शिर्षकका शुल्क तथा दस्तुरहरु पूर्ण रुपमा मिनाहा हुनुपर्ने पोखरा पर्यटन परिषदको माग छ । पर्यटन क्षेत्रमा आश्रित मजदुरहरुको सुरक्षाका लागि राहत र रोजगार सृजनाका प्याकेजको समेत व्यवस्थापन गर्न माग गरिएको छ ।

परिषदका अध्यक्ष भट्टराइका अनुसार गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा हालसम्म ५ खर्ब १५ करोडको लगानी छ । ७५ हजार भन्दा बढी मजदुर सो क्षेत्रमा आश्रित छन् । जसमध्ये ३० देखि ४० प्रतिशत मजदुर विस्थापित भएको उनले बताए । सरकारको जीवन रक्षा कोष पनि कागजमा सिमित हुँदा व्यवसायीहरुले लाभ लिन नसकेको गुनासो उनको छ । ‘बैंकहरुको झन्झटिलो प्रक्रियाले व्यवसायीहरु मर्कामा परेका छन्’, उनले भने, ‘बैंकिङ प्रोसेस ढिला हुने भएकाले पनि व्यवसायीहरु संस्थागत भन्दा व्यक्तिगत कर्जा लिन बाध्य छन् ।’

आफुहरुले पहिलो चरणको कोरोना भाइरसका कारण भएको लकडाउनका समयमा सरकार समक्ष ध्यानार्कषण गराए पनि सुनवाई नभएको भट्टराइले बताए । तर पोखराका पर्यटन व्यवसायीहरुमा आशा भने अझै जागेको छ । आफ्ना माग पुरा नभएसम्म शान्तिपूर्ण ढंगले आन्दोलन गर्ने तयारीमा व्यवसायीहरु रहेका छन् । सुनेर पनि नसुनेजस्तो गरेको खण्डमा आफ्ना व्यवसाय ठप्प गरी तालाचाबी नै सरकारलाई बुझाउने चेतावनी समेत पर्यटन व्यवसायीहरुले दिएका छन् ।

कमेन्ट्स
Loading...