सुचना, समाचार र मनोरन्जन

‘उपहार’को भुमिका बारे पूजा शर्माको नयाँ खुलासा, भन्छिन् : अहिलेसम्मकै फरक चरित्रमा देखिँदैछु

काठमाडौं :

अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका फिल्ममा भन्दा फरक चरित्रमा देख्नेछन् ।

‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु। काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले उसले गलत बाटो पनि अपनाउँछ । अहिलेका टिनएजमा भइरहेको घटनालाई ममार्फत देखाएको छु’, पूजा भन्छिन् ।
पूजाको अनुभवमा अहिलेको समयमा विशेषत युवापुस्ताको ध्यान नै कसरी पैसा कमाउने भन्ने मै छ । ‘उपहारमा पूजाले पनि जस्तो सुकै काम गरेर भए पनि पैसा कमाउनुपर्यो भन्ने सोच राख्छे । तर उसमा आफूले गलत काम गरिरहेको छु र गलत काम गर्नुहुँदैन भन्ने सोच पनि हुन्छ’, आफ्नो फिल्मी चरित्रबारे पूजा खुल्छिन् ।

पूजाका अनुसार उनीबाहेक धेरै अभिनेत्रीलाई ‘पूजा’ चरित्र निभाउन प्रस्ताव गरिएको थियो । तर अधिकांशले त्यो चरित्र निर्वाह गर्न चाहेनन् । अन्ततः त्यो चरित्र निभाउने जिम्मा पूजाकै काँधमा आइलाग्यो ।

फोटो : सुरेन्द्र थापा

‘अन्तिममा बेनिशालाई यो कथा सुनाउँदा उसले ‘दिदी यो कथा मलाई सुहाउँदैन’ भनेपछि मैले यो चरित्र निभाएँ । खासमा बेनिशाको क्यारेक्टर मैले गर्न लागेको थिएँ । तर बेनिशाले ‘पूजा’को चरित्र नगर्ने भएपछि अन्ततः मैले नै निभाएँ’, पूजाले भनिन् ।

पूजाका अनुभवमा मान्छेहरु फिल्ममा अभिनय गर्दा आफूलाई नकारात्मक भूमिकामा देखाउन चाहँदैनन् । त्यसकारण पनि अन्य अभिनेत्रीहरुले ‘पूजा’ चरित्रलाई अस्वीकार गरे ।

‘एउटा कलाकार भएपछि जुनसुकै चरित्र निभाउनुपर्छ । यो मेरो लागि नयाँ चिज हो भन्ने मलाई भयो । मैले चरित्रमा जोखिम नै मोलेको हो’,पूजा भन्छिन्, ‘तर मेरो अपोजिटमा शिशिर राणा हुनुहुन्छ भन्ने थाहा पाएपछि मलाई यो चरित्र निभाउन सहज भयो । किनकी उहाँ मेरा लागि अभिभावक हो र पहिलादेखि पनि सहकार्य गरेकाले सहज भयो ।’

हरेक फिल्ममा सकारात्मक भूमिकामा मात्र देखिने पूजा आफैंलाई पनि नकारात्मक चरित्र मनपर्दैन। ‘यो चरित्र निभाइरहँदा कस्तो नराम्रो देखिँदो रहेछ भन्ने पनि भयो । तर कलाकारले जस्तो पनि क्यारेक्टर निभाउनुपर्छ । अहिले पुरुषका लागि बोलिदिने कोही छैनन् । तर नारीका लागि मिडियाहरु यति सहयोगी भइदिए कि उनीहरु मिडियामा खुलेर आफ्नो कुरा राख्न सक्छन्’, उनी भन्छिन् ।

पूजाका लागि ‘पूजा’ चरित्र उत्तिकै चुनौतिपूर्ण पनि बनेको रहेछ । किनकी यो चरित्रमा उनीबाहेक कोही पनि अभिनेत्रीले काम गर्न चाहेका थिएनन् । ‘यस्तो चरित्र भएको मान्छे समाजमा धेरै देखेको छु । उनीहरुलाई यस्तो काम नगर भनेर सल्लाह पनि दिने गरेकी छु’, उनी भन्छिन् ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

Leave A Reply

Your email address will not be published.