काठमाडौं :
फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण टिमले नेपाली र हिन्दी भर्सनमा दोस्रो टिजर सार्वजनिक गरेको हो ।
फिल्मको हिन्दी टिजरलाई जी म्यूजिक कम्पनी र नेपाली भर्सनको टिजरलाई ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ । यस फिल्मको पहिलो हिन्दी र नेपाली भर्सनको टिजर एक साता अघि मात्रै रिलिज भएको थियो । जुन टिजरमा एक्सनले भरिएको थियो ।
अघिल्लो टिजरमा प्रदीप खड्काले प्रेम र राजगद्दीमध्ये एक रोज्नुपर्ने बाध्यतालाई देखाइएको थियो भने यस पटक अलिक फरक रहेको छ । टिजरमा प्रदीप एक्सन र रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । बडा दशैंलाई लक्षित गर्दै आगामी असोज १४ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेम गीत ३’ हिन्दीमा डब भएर भारतमा प्रदर्शन हुन पहिलो नेपाली फिल्म मानिएको छ ।
फिल्ममा प्रदीपका साथमा क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, पुस्कर कार्की, प्रेम पुरी, माओत्से गुरुङ, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतको अभिनय रहेको छ । ,छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन रहेको छ ।
