सुचना, समाचार र मनोरन्जन

संघीयताको पक्षमा लड्नुस्, सहयोग गर्छौं: पृथ्वीसुब्बा गुरुङ

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

गण्डकी प्रदेश सरकारको प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयताको पक्षमा डटेर लाग्ने काम अहिलेको सरकारले गरेको खण्डमा आफ्नो पार्टीको सहयोग रहने बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विश्वासको मतको प्रस्ताव राखेपछि उनले अहिलेको सरकार अवसरवादी गठबन्धनको रुपमा रहेकाले अहिलेको अवस्थामा विश्वासको मत आफु र आफ्नो पार्टीले दिन नसक्ने तर संघीयताका पक्षमा डटेर लागे सहयोग अवश्य गर्ने बताएका हुन् ।

निर्वतमान मुख्यमन्त्री समेत रहेका गुरुङले काठमाडौं बसेका सबै नेताहरु प्रयोगवादी भएको बताए ।

उनले अधिकारका खातिर औंला ठडाउन सक्ने प्रदेश सरकार हुनुपर्ने अभिव्यक्ति राखे । असल शासनका लागि असल व्यक्ति चाहिने र कार्यकर्ताका आधारमा कर्मचारी छनोट गरिनुनहुने उनको भनाई थियो । विज्ञताका आधारमा कर्मचारी नियुक्ति गर्नुपर्ने आवश्यकता प्रति उनले जोड दिएका छन् ।

सही सिष्टम भत्काएको खण्डमा प्रदेश सरकारको विरुद्ध आफुहरु डटेर सामाना गर्ने उनले बताए । “हामीले कोरेको बाटोमा हिड्नुपर्छ भन्ने मत होइन । सही बाटोमा हिड्नुपर्ने आवश्यकता हो । प्रदेश सरकार जनताप्रति उत्तरदायि बन्न सकोस् ।”, उनले भने ।

जातिय सदभाव, सांस्कृतिक सदभाव गण्डकी प्रदेशको ठूलो सम्पत्ति भएको उल्लेख गर्दै सानो दुखले आर्जेको गण्डकी प्रदेश नभएको उनले जानकारी गराए । सामाजिक एक्यबद्धताका लागि पहल गरेको खण्डमा सरकारलाई सहयोग गर्ने उनले बताए । हिजोको प्रदेश सरकारले गरेका कामलाई पूर्णता गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । प्रदेश सरकारको गौरवगाथा बोक्ने संरचना उठाउनुपर्ने आवश्यकता प्रति उनले ध्यानार्कषण गराएका छन् ।

विभिन्न समस्याका कारण आफु मुख्यमन्त्री रहँदा सांस्कृतिक क्षमता अभिवृद्धि गर्न नपाइएको प्रति दुख व्यक्त गरे । उनले भने,“डेढ वर्ष प्रदेश सरकारको तयारीमा नै बित्यो । त्यसपछि राजनीतिक प्रतिस्पर्धा भएकाले सोचेअनुरुपको काम हुन सकेन । पूँजीगत खर्च ९५ प्रतिशत कटाउने रहेछौं । जनतालाई सेवा दिने संरचना र कर्मचारीको आवश्यकता छ । प्रदेश सरकार हुनुको औचित्यता जनतालाई प्रत्याभूति हुनुपर्ने देख्छु । प्रदेशलाई समृद्ध बनाउने रोड म्यापमा एउटै यात्रामा भए दायाँबायाँ हुनुपर्ने छैन ।”

जनशक्ति उत्पादनमा सिङ्गापुर लागेजस्तो प्रदेशको पनि दायित्व त्यतातर्फ हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । जसलाई परिपूर्ती गर्न गण्डकी विश्वविद्यालयको स्थापना गरिएको समेत जानकारी उनले गराए । प्राविधिक शिक्षामा जोड दिनुपर्नेमा उनको मत छ । ठूलो उदेश्यबाट नै सफलता प्राप्त गर्न सकिने भएकाले सोहि बमोजिम काम गर्न प्रदेश सरकारलाई उनले आग्रह गरेका छन् ।

सिटीभिटी भ्रष्टाचारको अखडा बनेको बताउँदै गुरुङले भर्ना गर्न विद्यार्थीसँग पैसा लिएको अवस्था प्रति प्रदेश सरकारलाई ध्यानाकर्षण गराए । आधुनिक शिक्षामा आधारित कोर्ष बनाएर लाग्नुपर्ने तर्क उनले गरेका छन् ।

४० महिना काम गर्दा मन्त्रालयहरुको जुन ढंगले संरचना भएको थियो, त्यो भद्रगोल भएको उनले बताए । गण्डकी प्रदेश सरकारको कार्यक्षमता अनुसार मन्त्रालयको बाँडफाँड हुनुपर्ने तर्फ उनी केन्द्रित रहे । संघीयताको मुल जड प्रदेश सरकार भएकाले प्रदेश सरकारलाई डमरु बनाइनु गलत भएको उनले बताए । माथि सुकेको, बिचमा फुकेको र तल सुकेको जस्तो प्रदेश सरकारको कुनै औचित्य नभएको उनले बताए । यस्तो प्रवृतिको अन्त्यमा प्रदेश सरकार आफै अग्रसर हुनुपर्ने आवश्यकता प्रति उनले प्रष्ट पारेका छन् ।

प्रदेशको इन्भेष्टमेन्ट कम भएता पनि तुलनात्मक रुपमा अहिले लगानी बढी भएको उनले जानकारी गराएका छन् । नेपालको सातौं प्रदेश मध्ये गण्डकी प्रदेश सुरक्षित प्रदेश भएको र प्रदेशको औद्योगिकीकरणमा अहिलेको सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । राजश्व उठाउने कार्यालयलाई व्यवस्थित गर्न सकिएको खण्डमा घुसपीठ कम हुने उनले बताए । डिजिटललाइज प्रदेश बनाउन सकियो भने भ्रष्टाचार नियन्त्रण हुने र हाइटेकमा शासन प्रणालीमा प्रदेश सरकार चल्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।

“अन्तर सरकारी सम्बन्ध चाहेको जस्तो हुन सकेको छैन । प्रदेश र वडा, संघ र प्रदेशको सम्बन्ध बलियो छैन । माथि भइरहेको प्रवृतिको विरुद्ध हामी लड्नुपर्ने आवश्यकता छ । विदेशी संघसंस्था मिलेर काम गर्न चाहन्छन । विकासका आयोजनामा सहज ढंगले वातावरण निर्माण गर्नुपर्ने आवश्यकता देख्छु । यस तर्फ प्रदेश सरकारको ध्यान पुगोस् ”, उनले भने ।

कमेन्ट्स
Loading...