सुचना, समाचार र मनोरन्जन

पोखरामा ‘म यस्तो गीत गाउँछु २’ हेर्नेको घुँईचो, दर्शकसँगै खुशी साट्दै पुजा

पोखरा ।

कोभिडका कारण थलिएको नेपाली चलचित्र क्षेत्र विस्तारै माथि उठ्ने प्रयासमा छ । सुदर्शन थापा निर्देशित चलचित्र “म यस्तो गीत गाउछु २” ले आशा जगाएको पाइन्छ । गत शुक्रबार बाट प्रदर्शनमा आएको उक्त चलचित्र हेर्न हलमा दर्शकको घुईचो देखिन्छ । निर्माण भएर लामो समय थन्किएर बसेको आफ्नो चलचित्र प्रदर्शन हुँदा र दर्शकको अथाह माया पाउँदा निर्माण टोली पनि उत्साहित छन् । उनीहरु दर्शकसँगै खुशी साट्न नेपालका हरेक जिल्ला पुग्ने गरेका छन् । फिल्मका बारे प्रतिक्रिया लिने गरेका छन् ।

यसैक्रममा विहिबार “म यस्तो गीत गाउँछु २” टीमले पोखराका हलहरुमा भिजिट गरेको छ । प्रदर्शन भएको साता पुग्नै लाग्दा पनि दर्शकको उत्साह जनक सहभागिता देख्दा निर्देशक सुदर्शन थापा खुशी छन् । फिल्मको हालसम्मको ग्रस कलेक्सन पनि राम्रै छ । नढाटी भन्दा लगानी उठाएर चलचित्र नाफामा गइरहेको निर्देशक तथा निर्माता थापा बताउँछन् । भन्छन्,‘ चलचित्रले सोचे भन्दा पनि राम्रो सफलता पाइरहेको छ । कोभिडका कारण लामो समय थन्किएर रहेको चलचित्र पदर्शन गर्दा दर्शकको रोजाईमा परिदैन कि भन्ने डर थियो हामीलाई । तर त्यस्तो भएन दर्शकहरुबाट अथाह माया पाइरहेका छौं ।’

चलचित्रकी नायिका पुजा शर्माले लामो समयको गुप्तबास पछि आफु अभिनित फिल्म मार्फत हलमा दर्शक भेट्न पाउँदा खुशी लागेको बताइन् । हल भिजिट पछि चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गर्दा पुजाका आँखाले पललाई खोजिरहेको थियो । थुनामा रहेका पलको सन्देश सुनाउँदै पुजाले भनिन्,‘पल फिल्म चल्दा निकै खुशी छन् । सबै दर्शकलाई मुटुभरिको माया सुनाइदिनु है भनेका छन् । फिल्म हेर्नु नै तपाईका लागि पल प्रतिको सच्चा माया हुनेछ ।’

प्रेमील कथावस्तुलाई पर्दामा उतार्न खप्पिस सुदर्शनको ‘म यस्तो गाउछु २’ ले पोखराबाट पनि माया पाइरहेको आभाष हुन्छ । जुन विहिबार पोखराको सिनेप्लेक्स ट्रेड मलमा दर्शकको उपस्थितिले पनि झल्काउथ्यो । एउटा संगीतको पुजारीले उक्त क्षेत्रमा भोग्नुपरेका तितामिठा विषवस्तुलाई चलचित्रमा उतारिएको छ । संगीतको परिभाषालाई बुझ्न सहज भएर पनि होला दर्शकको रोजाईमा ‘म यस्तो गीत गाउँछु २’ पर्न सफल भएको छ । कथावस्तु अनुसार संगीतकार अर्जुन पोखरेलको संगीतमा पनि मिठास भेटिन्छ । विहिबार दर्शकसँगै हामीले पनि हलमा चलचित्र हेर्दा गुनगुनाइरहेको दृश्य देख्यौं । बच्चा देखि वृद्ध उमेरसमूहका दर्शकको उपस्थिति हलमा थियो । फिल्म हेर्दैगर्दा कसैको त आँखा रसाएको समेत हामीले महशुस गर्न सक्यौं ।

सुदर्शन थापाले पल शाहको विषय व्यक्तिगत रहेको हुँदा चलचित्रसँग गाँसेर टिकाटिप्पणी नगर्न अनुरोध गरेका छन् । ‘पल शाहको केसको फाइदा उठाएर हामीले फिल्म चलाउन खोजेका होइनौं’, एक पत्रकारको प्रशनको उत्तर दिँदै उनले भने, ‘उनको विषय कानूनी प्रक्रियामा आगडि बढिरहेको छ, कानून भन्दा माथि कोहि छैन, यदि उनी दोषी छन् भने कारबाही अवश्य होला, यसलाई विभिन्न टिकाटिप्पणी गर्नुपर्ने जरुरी छैन ।’

कमेन्ट्स
Loading...