सुचना, समाचार र मनोरन्जन

पुतली बाजेको अन्त्येष्टी (तस्बिर सहित)

स्व.कलिनको अन्तिम बिदाइ तथा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण बटरफ्लाई म्युजियमको प्राङ्गणमा राखिएको थियो । जहाँ उनले संग्रहित गरेका नेपालमा पाइने विभिन्न प्रजातीका पुतलीहरु संरक्षण गरेर राखिएको छ । त्यसपछि शवयात्रासहित क्रिश्चियन परम्परा अनुसार उनको अन्तिम संस्कार भएको हो ।

पोखरा ।

स्वर्गीय कलिन स्मिथ ‘पुतली बाजे’ को सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । बेलायती नागरिक तथा नेपाल सम्मानित नागरिक उनको क्रिश्चियन परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख डा. जर्ज जोन, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, एमाले नेता रश्मी आचार्य, कवि रमेश श्रेष्ठ लगायतको उपस्थितिमा उनलाई अन्तिम श्रद्धाञ्जली दिइएको हो । मेयर आचार्यले नेपालको झण्डा र पोखरा महानगरको झण्डा ओढाई सम्मान प्रकट गरेका थिए ।

स्व.कलिनको अन्तिम बिदाइ तथा श्रद्धाञ्जलीका लागि पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको अन्नपूर्ण बटरफ्लाई म्युजियमको प्राङ्गणमा राखिएको थियो । जहाँ उनले संग्रहित गरेका नेपालमा पाइने विभिन्न प्रजातीका पुतलीहरु संरक्षण गरेर राखिएको छ । त्यसपछि शवयात्रासहित क्रिश्चियन परम्परा अनुसार उनको अन्तिम संस्कार भएको हो ।

पुतली बाजेको शनिबार बिहान ८७ वर्षको उमेरमा उपचारका क्रममा हरियो खर्क अस्पतालमा निधन भएको हो । सन् १९३६ मा जन्मिएका कलिन ३० वर्षको युवा उमेरमा सन् १९६६ मा युनाइटेड मिसनमार्फत शिक्षण पेसाका लागि नेपाल आएका थिए । त्यसपछि ५७ वर्ष उनी नेपाल रहे । पोखरालाई नै घर बनाए । ३० वर्ष अघिदेखि उनले नेपाली नागरिकताका लागि आवेदन दिए । आजभन्दा ४ वर्षअघि २०७६ सालमा मात्र उनलाई सम्मानित नागरिकता प्रदा नगरिएको थियो ।

सानैदेखि हिसाब र विज्ञानमा तीक्ष्ण क्षमता भएका कलिन आफ्नै मामाको पुतली सङ्कलन गर्ने सोखबाट प्रभावित हुँदै नेपालमा पुतलीको अध्ययनमा लागेका व्यक्ति हुन् । नेपालका डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर सात सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरी पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङ्ग्रहालयको स्थापना गरेका छन् । पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उनले अतुलनीय योगदान गरेका छन् ।

कलिन स्मिथको योगदानको कदर गर्दै नेपाल सरकारले २ डिसेम्बर २०१९ मा उनलाई सम्मानित नागरिकको दर्जा दिँदै सम्मानार्थ नागरिकता समेत प्रदान गरेको हो । नेपाल सरकारबाट सम्मानार्थ नागरिकता पाउनेमा उनी भूगोलविद टोनी हेगन, सगरमाथा आरोही एडमन्ड हिलारी पछिका तेस्रा व्यक्ति बने ।

उनी विगत लामो समयदेखि पोखरा १८ लामागाउँमा बस्दै आएका थिए । पेटको रोगबाट ग्रसित स्मिथ लामो समयदेखि हरियो खर्क अस्पताल, पोखरामा उपचाररत थिए । जहाँ उनले शनिबार बिहान करिब ३ बजे ८७ वर्षको उमेरमा देह त्याग गरे ।

तस्बिर : प्रेम थापा 

Leave A Reply

Your email address will not be published.