सुचना, समाचार र मनोरन्जन

दिनभरि सुटिङमा व्यस्त हुन्थेँ भने साँझ परेपछि डान्सबारमा नाच्थेँ : गुन्द्रुेक

काठमाडौं :

२०६० सालबाट निरन्तर अभिनयमा रहेका कलाकार हुन् राजेन्द्र गिरी (गुन्द्रुके) । दर्जनौ टेलिचित्र तथा चलचित्रमा अभिनय गरेका राजेन्द्रलाई दर्शकले हालै प्रसारण भइरहेको सिरियल ‘हर्के हल्दार’को गुन्द्रेके उपनामले चिन्ने गरेका छन् । सिन्धुपाल्चोकबाट दुइ दशक अघि सिन्धुपाल्चोकबाट काठमाडौँ आएका राजेन्द्रले पहिलो पल्ट ‘को भन्दा को कम’ नामक सिरियलमा अभिनय गरेका थिए । महादेश त्रिपाठीहरुले निर्माण गरेको त्यो सिरियल नेपाल टेलिभिजनबाट तीन भाग प्रसारण भयो ।

तीन भागपछि निर्माणपक्षको आन्तरिक कलहका कारण सिरियल बन्द भएपछि उनले अर्को सिरियल ‘तितो सत्य,जिरो खोर्सानी’ लगायतमा कुद्ने र दगुर्नेमा अभिनय गरे । उनको अभिनयको भोग झन् झन् बढ्दै गयो । उनले सोही समयमा नेपाल टेलिभिजनकै अर्को हिट सिरियल ‘मेरी बास्सै’मा काम गर्ने मौका पाए । ठुलो रोल नभएता पनि आफुलाई चिनाउन पाए हुन्थ्यो भन्ने राजेन्द्रलाई लागेको थियो ।

उनले सिरियलमा काम गरेर काठमाडौँमा जिविका चलाउन सकिदैन भन्ने थियो । कामको खोजिमा काठमाडौँका विभिन्न डान्सबारमा नाच्न थाले । सानैबाट अभिनयमा रुचि भएका राजेन्द्रलाई डान्सबारमा नाच्न बाध्यताले पुर्यायो । उनको कला यात्रामा भएको र गरेको संघर्षका बारेमा भोला अधिकारीले गरेको संक्षित कुराकानी :

के मा व्यस्त हुुनुहन्छ ?

अहिले सिरियल तथा म्युजिक भिडियो तिर नै बढि व्यस्त भएको छ । विशेष गरि ‘हर्के हल्दार’ मा छु । फ्याट्टफुट्ट महोत्वसहरु पनि भइरहेका छन् । हालसालै तराईका विभिन्न ठाउँमा कार्यक्रम सकेर काठमाडौँ आइपुगेको छु ।

तपाई पछिल्लो समय निकै व्यस्त मान्छे है ? यतिको व्यस्त हुन्छु भन्ने लागेको थियो ?

मलाई थिएन । यसो टिभीमा अनुहार देखाइएला । कसैले बोलाइहाले म्युजिक भिडियोमा अभिनय गरिएला भन्ने चाही थियो । तर, अहिले त स्टेज कार्यक्रम पनि राम्रै पाइरहेको छु । बर्खा लागेको कारण अलिक कम भएको हो ।

तपाईको कलाकारिता यात्रा कहिलेबाट सुरुभएको हो कुनै याद छ?

मलाई पुरै याद छ । आफ्नो भोगाई पिडाका कुरा कहिले पनि बिर्षन सक्दैन होला । २०६० वैशाख २५ गते मैले पहिलो पटक क्यामेरामा अभिनय गरेको हो । महादेव त्रिपाठी दाइहरुको ‘को भन्दा को कम’ भन्ने सिरियल थियो । पहिलो पटक यसैमा क्यामेरा फेस गरेको हो ।

पहिलो पटक क्यामेरा फेस गर्दाको अनुभव कस्तो रह्यो ?

निकै डर लाग्ने । एउटा डाइलक बोल्न पनि निकै समय लाग्थ्यो । अहिले पनि डर लाग्छ तर,पहिलाको जस्तो भने होइन । बाहिर नर्मल गर्नु र क्यामेरामा खेल्नु निकै गाह्रो कुरो रहेछ । मैले पहिलो पटक क्यामेरा फेस गरेको सिरियल तीन भागमा नै बन्द भएपछि अरु सिरियलमा गए ।
कुन कुनमा जानुभयो ?
यो सिरियल बन्द भएपछि ‘तितो सत्य,जिरो खोर्सानी’ तिर गइयो । त्यहाँ हामीलाई रोल त दिदैन थिए । यसो कुद्ने रोल पाइन्थ्यो । कहिलेकाँही डाइलक बोल्न दिन्थेँ । हामी सानातिना कलाकारलाई कसलेपे पो गन्थ्यो र ? अहिलेका कलाकार बन्छु भन्नेलाई सजिलो छ । त्यो समयमा साना तिना साइडका कलाकारलाई न डाइलक न के ,केहि थिएन ।

मैले सुने अनुसार त्यो समयमा पारिश्रमिक पनि पाइदैन थियो रे भन्ने हल्ला चल्छ ? खास कुरा के थियो ?

हामीलाई पारिश्रमिक कहाँबाट पाउँनु । तपाईले जे सुन्नु भयो त्यहि हो । त्यो समयमा पारिश्रमिकको खासै चर्चा हुँदैन थियो । खेल्न पाए हुन्थ्यो भन्ने नै मनमा ध्यान हुन्थ्यो । कतिपय यस्ता दिन पनि थिए की भोकै सुटिङमा गइन्थ्यो । त्यहाँ दिनभरि आफ्नो रोल कहिले आउछ भनेर कुर्दा कुर्दै रात परेका दिन पनि छन् । आफुसँग पैसा भए होटलमा पसेर खान सकिन्थ्यो । नत्र भोकै ।

कसैले खाना खाएका छौँ,छैनौ भनेर सोध्दैन थिए त ?

अहँ । त्यो चलन नै थिएन ।

तितो सत्य , जिरो खोर्सानी जस्तो सिरियलमा पनि तपाईले हल्का फल्का अभिनय गर्ने मौका पाउनुभयो ? तपाईलाई कतिको याद छ ति कुराहरु ?

संघर्षका दिनहरु एकदमै याद आउने रहेछन् । किनभने त्यो समय सिरियलमा अनुहार देखाउन पाए पनि हुन्थ्यो भन्ने थियो । जिरे खोर्सानीको सुटिङ नयाँ बानेश्वरको मिलन चोकमा कलाकार मनोज आचार्यको घरमा हुन्थ्यो । सुटिङमा जाँदा अग्रज दाजुहरुलाई कल गरेर जानुपर्थो । विहानै सुटिङमा बोलाएको छ भने समयमा नै पुग्नु पर्यो नत्र अरुले नै रोल खाइदेला भन्ने चिन्ता थियो ।

त्यसैले म सबेरै सुटिङ स्पोर्टमा पुग्थेँ ।आफ्नो पालो कतिखेर आउला भनेर कुरेर बस्नुपर्ने अवस्था थियो । कति खेर उनीहरुको सिन सकिन्छ र हामीलाई बोलाउलान् भनेर । उहाँहरुले हामीलाई चिन्नुहुन्न थियो । तर, हामी त उहाँहरुको जुत्ता हेरेर पनि चिन्ने गर्थो । इन्डोरको सुटिङ भएको थियो भने को बाहिर आउदै हुनुहुन्छ भन्ने कुरा जुत्ता हेरेर नै पत्ता लगाइन्थ्यो । अब चाही हाम्रो पालो आयो भनेर । तितो सत्यमा पनि त्यस्तै थियो । ति दिन सम्झिन्छु । हुन त अहिले पनि संघर्ष छ । तर, पहिलाको तुलनामा अहिले प्लेटफर्म धेरै छ ।

मलाई अलि अलि याद छ ? तपाईले मेरी बास्सैमा पनि काम गर्नुभएको थियो । कहाँ र कसरी त्यहाँ प्रवेश गर्नुभयो ?

निकै अगाडीको कुरा हो । वि.स. २०६५ सालतिर होला । यहाँ मलाई सुरज चापागाईले लैजानुभएको हो । यसको आफ्नै कहानी छ । म त्यहाँ कसरी पुगे भन्नेमा । मलाई तितो सत्य,जिरे खोर्सानी भन्दा पनि मेरी बास्सैमा अभिनय गर्न पाए हुन्थ्यो । त्यहाँ काम मात्रै गर्न पाए पनि हुन्थ्यो भन्ने लागेको थियो । तर, कसैलाई भेटाउने माध्यम नै भएन । किनभने त्यो समयमा फोन थिएन । एक दिन अचानक सुरज दाइसँग भेट भयो । उहाँलाई मैले मेरी बास्सै हेर्नका लागि रिकोइस्ट गरे । उहाँले मान्नु भएको थिएन । म सानैबाट बाइक चढ्ने भएको हुँदा एक दिन उहाँको बाइक बिग्रिएछ । बाइक बिग्रिएपछि सुरज दाईले मलाई मेरी बास्सैको सुटिङमा लगिदे भन्नुभयो । उहाँ असनमा बस्नुहुन्थ्यो ।

उहाँले मलाई मेरो घर मुनी सेल रोटी पकाउने ठाउँ छ त्यहाँ आएर मेरो नाम लिनु उहाँहरुले बताउनुहुन्छ भन्नुभयो । नभन्दै विहानै ५ बजे नै सुरज दाइको घरमा पुगे । उहाँ बसेको ठाउँ नभेटेर घुम्दा घुम्दा बल्ल भेटे । त्यसपछि उहााँलाई बोकेर सुटिङमा पुगे । भक्तपुरको पल्लो ठाउँमा सुटिङ थियो । सुटिङमा पुगेपछि एक जना कलाकारको आवश्यक पर्ने कुरा केदार घिमिरे (माग्नेबुढा’ले भन्नुभयो । त्यो समयमा कलाकार फ्याट्टै पाउने पनि होइन । उहाँले यो मान्छेलाई कसले ल्यायो भनेर हल्ला खल्ला गर्दै मलाई खेल्ने हो भनेर सोध्नुभयो । मैले ओके भन्न सकिनँ । टाउकोले हुन्छ भने । त्यसदिन मैले पहिलो पटक मेरी बास्सैमा अभिनय गरेको हो ।

तपाईका कतिको याद छ ,तपाईको रोल के थियो ?

मलाई पुरै याद छ । माग्ने र मैया काम खोज्दै हिडेको बेला बाटोमा मलाई भेट्नुहुन्छ । बाटोमा भेटेको मान्छेलाई, ओ भाई यता कै काम पाइन्छ होला भन्ने उहाँको डाइलक थियो भने मैले चाही ‘यहाँ आफुले त काम नपाएर बसिरहेको छु । काम भएको भए म आफै गरिहाल्छु नि’ भन्ने थियो । पहिलो पटक भएर होला दुइ तीन टेक खाए । तीन टेकपछि चाही अलि अलि मिल्यो ।

अहिले उहाँहरु (केदार घिमिरे,सिताराम कट्टेल,शिवहरी पौडेल) लगायतसँग भेट हुदा ति दिनका बारेमा चर्चा हुन्छ कि हुँदैन?

कहिले काँही भेट भएको र प्रशंग निस्केको बेला हुन्छ ।अरु बेला त यसैलाई लिएर गफ गर्ने कुरा त भएन ।

फेरि एक पटक तपाईलाई पुरानै दिनमा फर्काउन चाहान्छु ? सिन्धुपाल्चोकबाट काठमाडौँ आएपछि यहाँ टिक्नका लागि डान्सबारमा नाच्ने काम गरे भन्नुभएको थियो ? के यो साँच्चै हो ?

साँचो कुरा हो । गाउँबाट आएको मान्छेले काठमाडौँमा केहि न केहि त गर्ने पथ्र्यो । मलाई सानैबाट नाच्न ,अभिनय गर्न मन लाग्थ्यो । मैले काठमाडौमा टिक्नका लागि नै डान्सबारमा नाच्ने गर्थे । रुम भाडा तिर्न नसकेर कति रात डान्सबारमा नै सुतेको छु । धेरै दुख गरेको छु नि मैले ।

छोरा मान्छेलाई डान्सबारमा त काम दिन मान्दैनन् भन्ने सुनेको थिए । तपाई चाही कसरी काम गर्नुभयो ?

छोरा मान्छेलाई डान्सबारका साहुले राख्दैन थिए । मैले त ढाँटेर काम गरेको हो । अरु डान्सबारमा काम गरिरहेको थिए । त्यहाँ मलाई समस्या भएको कारण यता आउन चाहेको भनेपछि मात्रै राख्थेँ । अझ साहुहरुले तलाई त मैले त्यो डान्सबारमा देखिको थिइन त भन्नेसम्मका कुराहरु गर्थे । आफु कमजोर भएपछि जसरी पनि काम त गर्नुपर्थो । बल्ल बल्ल अनुरोध गरेपछि मात्र राख्थेँ । त्यो पनि अरु डान्सर केटीहरु छन् भनेपछि । नत्र कहाँ राख्नु ।

तलव त राम्रै हुन्थ्यो होला नि ?

मैले अघि भनेनी रुम भाडा तिर्न नसकेर डान्सबारमा नै टेबुल जोडेर सुत्नु परेको थियो । पैसा त २ हजार चानचुन हुन्थ्यो । यहि पैसाले सबै थोक गर्नुपर्थो । कहाँ छोरा मान्छेलाई डान्सबारको साहुले पैसा दिन्थ्यो र ?

तपाईले डान्सबारमा कस्ता गीतमा नाच्नुहुन्थ्यो ?

मैले त्यहाँ कमेडी गीतमा नै डान्स गर्थे । अरु गीतमा मलाई लगाउदैनन् थिए । यो गीतमा नाचेपछि केहि टिप्सहरु पनि पाइन्थ्यो । त्यसले दैनिकी चल्थ्यो । तलवको त के आस हुन्थ्यो र ?

त्यस्तो अवस्थाबाट अहिले राम्रै भएको छ । विगतलाई कसरी सम्झिनुहुन्छ ?

मलाई अहिले असाध्यै खुशी लाग्छ । किनभने मैले हरेक कुराको अनुभव गर्ने मौका पाएको छु । मैले संघर्ष नगरेको भए सायद आज दर्शकमाझ गुन्द्रुके भनेर चिनिन पाउदिन थिए होला। हिजो भन्दा आज धेरै दर्शकले चिन्नुहुन्छ । मेरो परिचय बदलिएको छ ।

 

कमेन्ट्स
Loading...