काठमाडौ । अभिनेता राजेश हमालले अब बलिउड फिल्ममा अभिनय गर्ने भएका छन् । भारतीय निर्माता राजेश चौधरीले उनलाई लिएर बलिउड फिल्म बनाउने योजना रहेका बताएका छन् । निर्माता चौधरीले हमालसँग एउटा हिन्दी गीतमा सहकार्य गर्न लागेको बताउँदै निकट समयमा फिल्ममा समेत काम गर्ने बताए ।
भारतीय मिडियासँग कुराकानी गर्दै निर्माता चौधरीले राजेश हमालसँग पहिलो पटक गीतको म्युजिक भिडियोमा सहकार्य गर्न लागेको र फिल्मका बारेमा सोचिरहेको बताएका छन् । ‘राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनुहुनेछ । बलिउड फिल्मको पनि तयारी भइरहेको छ । उहाँसँग सहकार्य गर्नका लागि उत्साहित छु,’निर्माता चौधरीले भने ।
हमाल गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक समारोहमा पुगेका हुन् । जुन म्युजिक भिडियो नेपाल र भारतमा खिचिएको हो । जसमा नेपाली मोडल नीति शाहले अभिनय गरेकी छन् । भारतीय सञ्चारकर्मीसँग अभिनेता हमालले कुराकानी गर्दै भने,‘हिन्दी फिल्ममा तपाईं कसको फ्यान हो ?’ भनेर सोधेको प्रश्नमा हमालले भनेका थिए, ‘हिन्दी फिल्ममा म सबै कलाकारको फ्यान हुँ । बलिउडमा धेरै राम्रो कलाकारहरु हुनुहुन्छ । तर, सबैको बाप त अमिताभ बच्चन हुनुहुन्छ । मुम्बई आफैंमा फिल्मको शहर हो । त्यसैले मुम्बई आउँदा मलाई खुसी महशुस हुन्छ ।’
अभिनेता हमाल पछिल्लो समय नेपाली म्युजिक भिडियोमा व्यस्त रहेका छन् । हालै उनको स्वरमा एक गीत रेकर्डिङको तयारी भइरहेको छ भने फिल्म ‘सत्यम’मा अभिनय गर्दैछन् ।
