सुचना, समाचार र मनोरन्जन

रोजगारदाता परिषद्का सभापति संघईद्वारा आइएलओ बैठकलाई सम्बोधन

  •  
  •  
  •  
  •  

पोखरा / 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९औँ बैठकलाई नेपालको रोजगारदाताको तर्फबाट शुक्रबार साँझ सम्बोधन गरेका छन् ।

कोरोना महामारीको कारण पहिलो पटक भर्चुअल माध्यमबाट आयोजना भईरहेको उक्त सम्मेलनलाई संवोधन गर्ने क्रममा रोजगारदाता परिषदका सभापति संघईले कोभिड–१९ महामारीको पीडा सम्पूर्ण विश्वलेनै भोग्नु परेको र यो महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको बताए । उनले अगाडि भने–‘यसबाट भएको आर्थिक सामाजिक नोक्सानीको क्षतिपुर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुक बीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गर्दछु ।’

सम्बोधनको क्रममा सभापति संघईले गतवर्ष नेपालमा कोरोना संक्रमण फैलिन शुरू भए लगत्तै सरकारले देशव्यापी बन्दाबन्दी जारी गरेको र यो बन्दाबन्दी लगातार तीन महिनाभन्दा बढी कायम रहदा सम्पूर्ण आर्थिक गतिविधिहरू ठप्प हुन गई ठूलो नोक्सानी व्यहोर्नु परेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित हुनुको साथै पहिलो पटक दुई दशक यता मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल ग्राहस्थ उत्पादन घटन गएको, लाखौँको रोजगारी गुमेको र गरिवीको प्रतिशत बढ्न गएको उल्लेख गरे ।

महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयां भेरियन्ट तीब्र रूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महशुस गरी सरकारसंग सहकार्य गर्दै कोरोना प्रभावित जनतालाई विभिन्न माध्यमबाट सहयोग गरिरहेको सभापति संघईले बताए ।

मुलुकमा असल श्रम सम्बन्धको प्रवद्र्धनका साथै महामारीबाट सिर्जित परिस्थितिको सामना गर्न हामी रोजगारदाताले ट्रेड यूनियनसंगको संवादलाई महत्व दिएका छौँ र लकडाउन अवधिको ज्याला भुक्तानी लगायतका विषयमा सहमति समेत गरेको कुरा उल्लेख गर्दै परिवर्तित सन्र्दभमा सूचना प्रविधिको बढ्दो प्रयोग, कामगर्ने पद्धतिमा आएको परिवर्तनबाट श्रम बजार र श्रम सम्बन्धमा पनि परिवर्तन आउने र यसबाट रोजगारी कटौती तथा नयां शीपयुक्त जनशक्तिको आवश्यकता पर्ने उल्लेख गरे । साथै उनले कार्यस्थलको सुधार, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाका क्षेत्रमा थप लगानी गर्नु पर्ने आवश्यकता रहेको कुरामा पनि जोड दिए ।

सभापति संघईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सवै तहमा सामाजिक संवादको संयन्त्रणको सवलीकरण गर्ने काम गरिरहेको र रोजगारदाता संस्थाले तय गरेका रणनीति र कार्यक्रमहरू रोजगारी सिर्जना, आर्थिक वृद्धि र व्यसायको दीगोपनमा केन्द्रीत रहेको उल्लेख गर्दै आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने, साना तथा मझौला व्यवसायको प्रवद्र्धनमा प्राथमिकता दिई काम गरिरहेको जानकारी गराउदै रोजगारदाताले तय गरेका कार्यक्रमहरु संचालन गर्न आईएलओबाट थप सहयोग प्राप्त हुने अपेक्षा गरे ।

१७६ भन्दा वढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जून ३ देखि १८ सम्म सञ्चालन हुने र श्रम सम्मेलनमा कोभिड–१९ महामारीको संकटबाट मुक्त हुन अपनाउन पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुर्नउत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्र्तराष्ट्रिय श्रम संगठन शताव्दी घोषणाको कार्यान्वयन लगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

कमेन्ट्स
Loading...