काठमाडौं :
तीन दशक भन्दा लामो समय नेपाली सांगितिक क्षेत्रमा रमाइरहेका गायक तथा संगीतकार हुन् रामजी नेपाली । वि.स.२०५३ सालमा ‘स्काई ब्याण्ड बाग्लुङ’ एल्वममा पहिलो पटक ‘वर्ष दिन को मेला चैते दशैमा , घुम्न जाउँला कान्छी बागलुङ्ग बजार,ए है सररर मिनी बसैमा’बोलको गीत रेकर्ड गराएर सांगितिक क्षेत्रमा प्रवेश गरेका थिए । उनी निकै लक्की गायकहरुमध्येमा पर्दछन् ।
किनभने पहिलो गीतले नै उनलाई चर्चाको शिखरमा ल्याएको थियो भने यो गीत सुनेर नै मान्छेहरुले बाग्लुङ जाने बाटो मज्जाले पत्ता लगाउने गर्दथेँ । आफ्नै ठाउँलाई चिनाउन उनले यो गीतको भाका बनाएका थिए ।
रामजी कै स्वर , शब्द र संगीतमा रहेको यो गीतले अत्यधिक चर्चामा आएपछि अन्य गीतहरु लगातार गीत रेकर्ड गराउने मौका पाए । त्यस्तै उनकै अर्को ‘जवानीमा तानेको गाँजा अहिले मलाई लाइराछ नमज्जा’ बोलको गीतले युवापुस्तामाझ लोकप्रिय बनेको थियो । थुप्रै गीतका सर्जक राजमी पछिल्लो केहि वर्ष यता गुमनाम जस्तै रहेका छन् ।
कहिले जन्मघर तिरका पाखा पखेरामा रमाइरहेका हुन्छन् भने कहिले पोखराका सुन्दरनगरीमा । उनी आफ्ना आफन्त तथा साथीभाईमाझ पनि त्यति पहिलाको जस्तो घुलमिल हुन चाहादैनन् । दशक यता दैनिक काँधमा राष्ट्रिय झण्डा बोकेर आफ्नो लक्ष्य बोकेर विश्वयात्रा गरिरहेका छन् ।
उनी नेपाली गीतसंगीतमा मात्र सिमित नभएर विदेशका गीतहरु गाउन पनि सिकिरहेका छन् ।
विश्वका अधिकांश कांश देशका राष्ट्रगानलाई उनले कण्ठस्त गाउन सक्ने भएका छन् । उनले नेपाल सहित भारत, चीन, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, रसिया, बेल्जियम, रसिया, स्वीजरल्याण्ड, फ्रान्स, इटाली, जापान, कोरिया, नेदरल्याण्ड, स्पेन, ब्राजिल, पोर्चुगल, कतार बहराइन, सिंगापूर, श्रीलंका, बंगलादेश, माल्दिब्स, जर्मनी, थाइल्याण्ड, डेनमार्क, मलेसिया लगायत १५० देशका राष्ट्रिय गीत कण्ठस्थ गाउँछन् । हालै काठमाडौं आइपुगेका रामजीसँग भोला अधिकारीले संक्षित कुराकानी :
के छ हालखर ?
एकदमै ठिक छु ।
तपाई त निकै समय हराउनु भयो है ? के कारणले होला ?
म हराएजस्तै भएको छु । हराएको चाही छैन । विश्व यात्रामा निस्किने तयारी गरिरहेको हुनाले अलिक व्यस्त भएको हो ।
कहाँ जाने तयारी भइरहेको छ ?
अहिले विश्ववल्ड कपमा जाने तयारीमा छ । नेपाल पर्यटन बोर्डबाट समेत पत्र लिइसके । सायद शुक्रबारसम्ममा भिषा पनि लाग्छ होला ।
तपाईले वल्डकपको कभर गीत पनि तयार पार्नुभएको रहेछ?
यहि गीत र विभिन्न देशको राष्ट्रगान गाउनका लागि म त्यहाँ जान लागेको हो । सबै वातावरण मिलिरहेको छ ।
त्यहाँ पुग्न तपाईलाई सजिलो होला त ? विभिन्न बाधा अड्चन होलान् ? त्यसमा आर्थिकको कुरा पनि जोडिएला ? के छ यसबारेको तयारी ?
मलाई नेपाल पर्यटन बोर्डले एउटा पत्र थमाएको छ । भिषा पनि केहि दिनमा आउने कुरा छ । अब मलाई अहिले आर्थिक पाटोको चिन्ता हो । त्यो पनि कतैबाट मिल्ला भन्ने आस छ । भगवानले तँ आँट म पुर्याउछु भन्नु हुन्छ रे । अहिलेसम्म पुगेकै छ हेरुम ।
तपाईले विभिन्न देशका राष्ट्रगान गाउन थाल्नुभएको कति भयो ?
मैले अरु देशको राष्ट्रगान गाउन थालेको सन् २०१०बाट हो । अलिक बढि लगाव चाही मलाई गएको लकडाउनबाट हो । अरु यो समयमा घरमा बसे । राष्ट्रगाउनमा अभ्यास गरे । मैले एकदिन पनि खालि बसिन् । त्यसैको फलस्वरुप मैले एक सय ५० भन्दा बढि देशका राष्ट्रगान गाउन सिके ।
अहिले त्यो अभियान कहाँ पुग्यो ?
चलिरहेको छ । यो रोकिने कुरै छैन । किनभने मैले एक दशक भन्दा लामो परिश्रम यसैमा गरेको छु । यसबारे फेरि भाग्ने कुरै भएन । म आफु मात्र नभएर मेरो देश पनि विदेशमा चिनाउने छु । यो मेरो अठोट पनि हो ।
सबै देशको राष्ट्रगान बुझ्न त सक्नुभएन होला ? कसरी सिक्नुभयो ?
पहिलाको तुलनामा अहिले अरु देशको राष्ट्रगान खोज्न र गाउन एकदमै सजिलो छ। कतिपय गुगलबाट खोजेर सिके भने कतिपय उनीहरुको एम्बेसीमार्फत राष्ट्रगानका शब्दहरु खोजेर भनेर सिकेको हो । आफु सानैबाट गायन तथा म्युजिकमा लागेको हुनाले संगीतमा गाह्रो परेन । शब्द चाही बुझ्न निकै मुस्किल लाग्छ र लाग्थ्यो पनि ।
कतिवटा देशको राष्ट्रगान गाउने सौख छ ?
विश्वमा जति वटा देश छन् । ति सबैका राष्ट्रगाउन गाउने र त्यहि देशमा पुगेर उनीहरुकै राष्ट्रगान गाएर सुनाउने मेरो लक्ष्य हो । हेरुम कतिसम्म सफल भइन्छ ।
तपाईले लकडाउन अघि नै विदेश यात्रा थाल्नु भएको थियो हैन ? के भएर रोकिएको हो ?
हो नि । मैले पहिलो यात्रा युरोपबाट सुरु गरेको थिए । युरोप पुगेर केहि स्थानमा त्यहाँका राष्ट्रगान गाए । धेरैको माया पाए । त्यसपछि नेपाल आए र भारत हुँदै बंगलादेश जाँदै थिए । झापाको मेचिपुल तरेर भारत प्रवेश गरे । भारतका विभन्न ठाउँमा मैले भारतकै राष्ट्रगान गाए । त्यहाँका मान्छेहरु मैले उनीहरुको राष्ट्रगान गाउँदा सारै खुसी भए । खान बस्नको कुनै चिन्ता नै परेन । यो समयमा कोभिडले संसारभर च्यापिरहेको थियो । नेपाल भारत लगायतका देशले लकडाउन गर्ने हल्ला चलेपछि फेरि सिलगुडी हुँदै नेपाल प्रवेश गरे । त्यसपछि नेपालकै पुर्वका सुन्दर नगरि क्षेत्र इमाल,झापा,विर्तामोड,मोरङ र धरानका विभिन्न स्थानमा पुग्न सफल भए । भेडेटारको नाम सुनेको थिए तर पुगेको थिइनँ । यहि अभियानले त्यहाँ मैले पाइला राख्ने मौका पाए । त्यसपछि देशभर लकडाउन लागेपछि आफ्नै जन्मथलो बाग्लुङ आए ।
नेपालको पुर्वी जिल्लाहरु घुम्दा कस्तो अनुभुति भयो ? कस्तो लाग्यो ?
नेपालको पश्चिम भन्दा पुर्व धेरै विकसित रहेछन् । त्यहाँका मान्छेहरु निकै पढे लेखेका लाग्यो । मेरो ठाउँहेरि हरेक ठाउँमा बाटोघाटो पुगेको पाए । फेरि पनि कुनै समय मिलेको खण्डमा जाने इच्छा पनि छ ।
यसरी विदेश यात्रामा निस्किने अभियानमा हुनुहुन्छ ? परिवारलाई समय कसरी मिलाइरहनुभएको छ ?
मेरो परिवार यहि काठमाडौंमा नै बस्छन् । उनीहरुसँग मेरो फोन कुराकानी भइरहन्छ । कुनै कुनै समय भेट्न पनि गइरहेको हुन्छु। अर्को कुरा अभियानमा हिडेको हुनाले त्यता पनि त्यतिधेरै ध्यान दिन्नँ । किनभने त्यता समय दिन थाले भने म मेरो लक्ष्यमा पुग्न सक्दिनँ ।
यो अभियानमा परिवारको कतिको सपोर्ट छ त ?
एकदमै सपोर्ट छ । उहाँहरुले मलाई एकदमै सपार्ट गर्नुभएको छ ।