सुचना, समाचार र मनोरन्जन

पोखरामा सर्वोच्च अदालतको फैसलाविरुद्ध राष्ट्रिय युवासंघ नेपालको प्रदर्शन (तस्बिर सहित)

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा /

पोखरामा सर्वोच्च अदालतको फैसलाविरुद्ध राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश र कास्कीले प्रदर्शन गरेको छ । सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना सँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएसँगै युवा संघ सडकमा उत्रिएको हो । जिरो किलोमिटरबाट शुरु भएको प्रदर्शन सभागृहचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरुले ‘हामी केही जान्दैनौं, असंवैधानिक फैसला मान्दैनौं’, ‘अदालतको राजनीतिक हस्तक्षेप मुर्दावाद’,‘अदालत भित्रका विदेशी मतियार होशियार’, ‘चोलेन्द्र शमशेर मुर्दावाद’, ‘राष्ट्रिय युवा संघ नेपाल जिन्दावाद’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनपछिको कोणसभामा बोल्दै राष्ट्रिय युवा संघ नेपालका पूर्व अध्यक्ष गण्डकी प्रदेशका सांसद राजीव पहारीले सर्वोच्च अदालतले गरेको फैसला नेपालको इतिहासमै असंवैधानिक भएको बताए । उनले सर्वोच्च अदालतले आज गरेको फैसला कालो दिनको रुपमा इंगित गरे । उनका अनुसार सर्वोच्चको फैसला अग्रगमन, लोकतन्त्र, सार्वभौम सत्ता जनतामा निहित रहेको कुराको विपक्षमा छ । संविधानले दलहरुलाई बलियो बनाएता पनि सर्वोच्चले प्रणाली नै लत्ताएको आरोप उनले लगाए । प्रतिनिधि सभा पटकपटक पुनःस्थापना हुँदा कुनै निकास निकाल्न नसकेको अभिव्यक्ति उनको थियो । पहारीले प्रतिनिधि सभा थारो भैंसी जस्तो भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको प्रावधान अनुसार नै विघटन गर्नुपरेको भनाई उनको थियो । उनले सर्वोच्च अदालतलाई प्रधानमन्त्री छान्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेका छन् । प्रधानमन्त्री कसलाई बनाउने वा नबनाउने संसद अधिकार भित्रको कुरा भएको बताउँदै प्रतिनिधि सभाको अधिकारलाई कुण्ठित गरेर सर्वोच्च अदालतले गरेको फैसला मान्य नभएको उनले बताए ।

राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष महेन्द्र गुरुङले आफुहरु नेपाली नागरिकको हितका लागि सडकमा आएको बताए । उनले जनताले सेवासुविधा पाउँदै गरेको देखिनसहेर मतियाराहरु सल्बलाएको आरोप लगाए । सर्वोच्च अदालतको फैसला गैरसंवैधानिक रहेको तर्क उनले गरेका छन् । अदालतलाई नै किनेर परमादेश आफ्नो पक्षमा पार्ने ‘कु’ का विरुद्ध राष्ट्रिय युवा संघ गण्डकी प्रदेशले प्रदर्शन गरेको उनले बताए ।

राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटी सदस्य तथा युवा संघ कास्कीका पूर्व अध्यक्ष हरि लम्सालले नेपालको इतिहासमा युवा संघले राजनीतिक आन्दोलन, लोकतान्त्रिक आन्दोलन र मानवअधिकारको पक्षमा सक्रियता पूर्वक काम गरेको स्मरण गराए । सर्वोच्च अदालतको फैसला संविधान बर्खिलाप भएको भन्दै कदापी स्विकार्य नहुने अभिव्यक्ति उनले दिए । अदालतले सेटिङको भरमा निर्णय गरेको आरोप उनको छ । उनले केपी ओली समूहका नेताहरुलाई सर्वोच्च अदालतका विरुद्ध आवाज बुलन्द पार्न आग्रह गर्दै युवा संघ साथमा रहेको बताए ।

तस्बिर : प्रेम थापा/ परिचय डटकम

कमेन्ट्स
Loading...