मोरङ :
एक समय नेपाली चलचित्रमा राज गरेकी अभिनेत्री हुन् रेखा थापा । एक दशक देखि नेपाली राजनितिको वरिपरी घुमेकी रेखा यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा उम्मेदवार बनेकी छन् ।
यही मंसिर ४ गतेको निर्वाचन बा पुस्ता र युवा पुस्ताबीचको जनमत संग्रह रहेको भन्दै आफुलाई भोट दिन अपिल गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई भ्रष्टाचारी र भ्रष्टाचार विरोधी पुस्ताको लडाईं भएको उल्लेख गरेकी छन् ।

मौन अवधि सुरु हुनु भन्दा केहि घण्टा अघि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘यो युवा बेच्ने र युवा बचाउनेबीचको प्रतिस्पर्धा हो । यो जनता रुवाउनेसँग जनताको सेवामा समर्पित हुनेहरूको दबाब हो । यो सत्ता भोगीविरुद्ध जनतामुखी पुस्ताको संघर्ष हो ।’
उनले स्टाटसको अन्तमा लेखेकी छन्,‘अझै पार्टी बचाउने नाममा छोरा–नाति विदेश पठाउने कि रोक्ने ?’
उनी एमालेका उम्मेदवार भानुभक्त ढकाल र कांग्रेसका सुनिल शर्माबीच प्रतिष्पर्धा गर्दैछिन् ।