काठमाडौं ।
क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको ७५० औँ गोल गर्दा युभेन्टसले डाइनामो किएभमाथि ३–० को सहज जीत हासिल गरेको छ ।
खेलमा युभेन्टसले फेडेरिको चिएसाको गोलको मद्दतले अग्रता लिएको थियो । एलेक्स सान्ड्रोको क्रसमा हेडमार्फत गोल गर्दै चिएसाले गोल गरे ।
दोस्रो हाफमा रोनाल्डोले इटालियन च्याम्पियनका लागि दोस्रो गोल गरे । अल्भारो मोराटोको प्रहार रिबाउन्ड भएर आएपछि रोनाल्डोले त्यसलाई सहजै गोलमा परिणत गरे ।
रोनाल्डोले आफ्नो करियरमा रियलका लागि ४५०, म्यानचेस्टर युनाइटेडका लागि ११८, पोर्चुगलका लागि १०२, युभेन्टसका लागि ७५ र स्पोर्टिङ लिस्बनका लागि ५ गोल गरेका छन् ।
६६ औँ मिनेटमा मोराटाले यो सिजन च्याम्पियन्स लिगमा छैटौँ गोल गर्दै युभेलाई सहज जीत दिलाए ।
युभेन्टस यसअघि नै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।
अब समूह जीको शीर्ष स्थानमा को रहने भन्ने निश्चित गर्न समूह चरणको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनाको सामना गर्नेछ । एजेन्सीको सहयोगमा
