काठमाडौं :
नेपाल फिल्म सोसाइटीद्वारा भर्खरै मात्र निर्वाचित प्रदेश सांसद द्वय माननीय मदु कुमार श्रेष्ठ र रोज राणालाई बधाई तथा सम्मान गरेको छ। शनिबार राजधानिमा एक कार्यक्रमको आयोजना गरि नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा फिल्मकर्मी कृष्ण मल्लको सभापतित्वमा सम्मान गरिएको हो ।
मदु कुमार श्रेष्ठ बागमती प्रदेश धादिङ क्षेत्र न. १ (क) बाट प्रदेश सभाको लागि विजय भएका थिए भने रोज राणा लुम्बिनी प्रदेश प्युठान(ख) बाट निर्वाचित छन् । उक्त कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा, नेपाल सांस्कृतिक संघका सभापति तिर्थ थापा, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, वरिष्ठ अभिनेत्री शर्मिला मल्ल, कलाकार कृष्ण ढुंगानाका साथमा निर्माता तथा चलचित्र वितरक गोपालकाजी कायस्थ, चलचित्रकर्मी अशोक शर्मा, कलाकार शिवहरि बैरागी, मनोज केसी लगायतको उपस्थिति रहेको थियो।
नवनिर्वाचित प्रदेश सांसद नायक निर्माता माननीय मदुकुमार श्रेष्ठले पनि आफूले फिल्म क्षेत्रका लागि सक्दो सहयोग गर्ने बताए ।
‘म राजनीतिका अलवा फिल्म क्षेत्रबाट पनि चिनिएको छु’ श्रेष्ठले भने– ‘फिल्म क्षेत्रका लागि बागमती प्रदेशबाट हुने कामका लागि म पहल गर्नेछु ।’
सांसदको ५ वर्ष आफु घुस नखाने, भ्रष्टाचार नगर्ने र पाउने तलव भत्ता समेत गरिबको स्वास्थ्य र शिक्षामा खर्च गर्ने बताएका श्रेष्ठले चलचित्रकर्मीको साथ र सहयोगबाट आजको स्थानमा आउन सफल भएको धारणा राखे ।
‘फिल्मकर्मीको साथ र सहयोगको पनि अहिलेको सफलतामा हात छ’ श्रेष्ठले अगाडि भने, ‘त्यो साथ र सहयोग आगामी दिनमा पनि आवश्यक छ । म पनि यो क्षेत्रका लागि सक्दो सहयोग गर्नेछु ।’
त्यस्तै अर्का फिल्मकर्मी तथा नव निर्वाचित प्रदेश
सांसद रोज राणा (सरोज थापा) ले प्रदेशको माध्यमबाट चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउन आफूले सक्दो पहल गर्ने बताए ।
‘म प्रदेश सांसद हो। हाम्रो काम प्रदेशका लागि नीति नियम निर्माण गर्ने हो’ राणाले भने– ‘म गठबन्धनको तर्फबाट विजय भएको हो । यदि केन्द्रमा हाम्रो सरकार बन्यो भने बोर्डको स्वायत्तताका लागि विशेष पहल रहनेछ ।’
सातैवटा प्रदेशमा चलचित्र विकास बोर्ड गठन हुनपर्ने धारणा समेत राखेका राणाले आफ्नो बेस चलचित्र र पेसा पनि चलचित्र भएकोले यो क्षेत्रको विकासका लागि सक्दो पहल गर्ने बताए ।
‘चलचित्रको नीति बनाउने केन्द्रीय तहमा मेरो प्रतिनिधित्व छैन’ राणाले थपे– ‘सोही कारण पनि हामीले धेरै काम गर्न नसक्ने हुनसक्छ । यो सबैले मनन गर्नुपर्ने हुन्छ । सकेको सहयोग भने गर्नेछु ।’
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायतले सांसदले फिल्म क्षेत्रको समस्याको विषयमा सदनमा कुरा उठाउनुपर्ने धारणा राखे।
उक्त बधाई तथा शुभकामना कार्यक्रममा नेपाल फिल्म सोसाइटी युकेका महासचिव गीतकार, चलचित्रकर्मी हिराकाजी थापालाइ समेत स्वागत सम्मान गरिएको थियो।