काठमाडौं ।
कोरोना संक्रमितको शव बोक्दा बोक्दै भक्तपुरमा एक व्यक्ति आफैं संक्रमित बनेका छन् ।
भक्तपुरका राजेन्द्र प्रजापति कोरोना संक्रमितको शव बोक्दा बोक्दै संक्रमित बनेका हुन् ।
उनलाई असोज २९ गते एक्कासि ज्वरो आएको थियो। ज्वरो आए पनि उनले साधारण ज्वरो होला भनेर वास्ता गरेनन्। तीन दिन लगातार ज्वरो आएपछि भक्तपुर जनस्वास्थ्य सेवा केन्द्र जँचाउन गएको उनले बताए । ‘एक्लै गएको थिएँ, तर जनस्वास्थ्यका स्वास्थ्यकर्मीहरू मेरो अवस्था देखेर डराए,’ उनले भने, ‘कसैले पनि मलाई छोएनन्। आफूलाई त याद भएन तर अरू बेलाभन्दा एकदम कालो अनि डराउँदो देखिएको भन्ने कुरा गरेका थिए जनस्वास्थ्यका साथीहरूले।’
त्यसपछि उनलाई स्वास्थ्यकर्मीले ‘जनस्वास्थ्यमा उपचार गर्न सकिँदैन’ भन्दै भक्तपुर अस्पताल पठाइदिए। त्यहाँ उनलाई इमर्जेन्सी वार्डमा राखियो।
त्यही दिन उनको पिसिआर परिक्षण गर्न स्वाब लिइयो। पिसिआर परिक्षण मेसिन नभएका कारण रिपोर्ट आउन झन्डै पाँच दिन लाग्यो। ती पाँच दिन उनलाई ज्वरोले झन् च्यापेको थियो।
साथै श्वास फेर्न गाह्रो हुने, खोकी लागिरहने जस्ता लक्षण देखापरेको उनी सुनाउँछन्। इमर्जेन्सीमा उनलाई गाह्रो भएपछि डाक्टरहरूसँग आग्रह गरेर जनरल वार्डमा लैजान भने।
तर, रिपोर्ट नआएका कारण स्वास्थ्यकर्मी पनि अलमलमा थिए। पाँचौं दिन पिसिआर रिपोर्ट आयो- कोरोना पोजिटिभ। ‘रिपोर्ट पोजिटिभ आउने बित्तिकै मलाई कोरोनाको आइसियु वार्डमा लगियो,’ उनले सुनाए।
