सुचना, समाचार र मनोरन्जन

सुस्ताएको पोखरेली सङ्गीत

कता हराए पोखराबाटै पहिचान बनाएका गायक ?

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा / 

यतिबेला रहरले संगीतमा लाग्नेको जमात बाक्लो छ । समय बित्दै जाँदा पछि यही रहरलाई पेशामा ढाल्ने कलाकारको समेत कमी छैन । पोखरा नेपालको दोस्रो ठूलो सांगीतिक शहर । काठमाडौं पश्चात संगीतमा रम्नेहरू यहाँ धेरै छन् । पोखराको संगीतलाई विश्वभरका नेपालीहरूले मन पराउँदै आएका छन् । स्वर्गीय बुद्धि परियारको सिर्जनामा रहेको गीत ‘रेशम फिरीरी रेशम फिरीरी, उडेर जाउँकी डाँडामा भञ्ज्याङ रेशम फिरीरी’ यसको ज्वलन्त उदाहरण हो ।

स्वर्गीय धर्मराज थापा, स्वर्गीय सरोज गोपाल बज्राचार्य, बाबा राणा, हरिदेवी कोइराला, प्रजापती पराजुली, पुरुषोत्तम न्यौपानेलाई पोखराले नै चर्चाको शिखरमा पु¥यायो भन्दा अत्युक्ति नहोला । स्वर्गीय झलकमान गन्धर्वका गीतलाई त विदेशी गायकले समेत कभर गरेर गाउन थालेका छन् ।

पोखराको संगीतमा एक किसिमको मौलिकता पाइन्छ । यहाँको माटोमा सुरको सुगन्ध छ । नेपालका अधिकांश चर्चामा आएका कलाकारको शुरूआती विन्दु पोखरा नै हो । पोखरासँग कलाकारको एक किसिमको अटुट सम्बन्ध छ । स्वरसम्राट नारायण गोपालदेखि अरुण थापालाई यसको उदाहरणको रूपमा लिन सकिन्छ ।

अहिलेका चर्चामा आएका संगीतकारहरूमध्ये केहीको शुरूआती समय पोखरामा नै बित्यो । बसन्त सापकोटा, बीबी अनुरागी, विनोद बाजुराली, राजकुमार बगर जस्ता अधिकांश कलाकार यसका उदाहरण हुन् । सुमधुर स्वरका धनी कर्ण दासलाई समेत पोखराले चिनायो । अहिलेका सुप्रसिद्ध कलाकार प्रमोद खरेललाई पोखराका गीतकार शितल गिरीले लेखेको गीत ‘म बिना कसैकसैलाई मुस्किल छ पोखरामा’ले चर्चामा पु¥यायो । त्यसपछि उनले फर्केर हेर्नुपरेन । शिव परियारले‘फेवातालमा साइँली’ गाए । त्यसपछि उनको सांगीतिक गति ह्वात्तै बढ्यो ।

पोखराको ब्याण्ड समेत चर्चामा छ । पोखराबाटै स्थापित नेपथ्य अहिलेको नेपालको नम्बर वान ब्याण्डको रूपमा परिचित छ । देश विदेशका स्टेज कार्यक्रममा उसलाई भ्याईनभ्याई छ । अमृत गुरुङलगायतको टीमलाई समेत पोखरा र यहाँको डाँडाकाँडा कुना कन्दराले नै चर्चामा पु¥यायो । पश्चिम पोखराको सुमधुर भाकालाई गीतमा परिणत गरी पस्कन सफल रह्यो नेपथ्य ।

कन्दरा ब्याण्ड पोखराको संगीत क्षेत्रको उचाईको एउटा अर्को गतिलो उदाहरण हो । विवेक श्रेष्ठ र सुनिल थापाको यो टीमले लोक फ्युजनमा राम्रा सिर्जनाहरू पस्केर दर्शक स्रोताको मन जित्यो । यस्तै, द एज ब्याण्डको पनि पोखरेली संगीतलाई माथि उठाउनमा ठूलो योगदान छ । युवापुस्ता उमेर समूहका मनोभावनालाई बुझेर सिर्जना पस्कने यो ब्याण्डलाई पनि पोखराले उचाई दिलायो । मोफसलमा बसेर नेपालको सर्वाधिक चर्चाको ब्याण्डको लिस्टमा आफूलाई दर्ता गर्न सफल रह्यो द एज । गायक जीवन गुरुङको गाउने शैलीबाटै सबै प्रभावित भए । यसमा उनको टीमको समेत ठूलो साथ छ ।

’उडेर जुन छुन्छु भन्थे’, ‘के बर मागी फर्क्यौ भन’ जस्ता गीतका गायक रामभक्त जोजिजू समेत पोखराकै हुन् ।

गायक विनोद बानियाँलाई पोखराले नै परिचय दिलायो । उनी पोखरामै बसेर चर्चा कमाउन अब्बल रहे । त्यसैले संगीत साधनामा लिप्त रहेका बानियाँ पोखरा छोडेर अन्त जान चाहेनन् ।

केही समय जुर्मुराएको पोखरेली गीत संगीत अहिले सुस्ताएको आभाष हुन्छ । नाम कमाएका ब्याण्डका कलाकारहरू पनि तितरबितर भएका छन् । नेपथ्यले भने आफूलाई अहिलेसम्म स्थिर राखेको छ ।

कन्दराका विवेक श्रेष्ठ अष्ट्रिलया बस्छन् । उनी समयसमयमा नेपाल आउने तथा कार्यक्रममा सहभागी भइरहन्छन् । एज ब्याण्डले केही समय अगाडि मात्र कोरोना महामारीका कारण आफूहरू छुट्टिनु परेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । अवस्था सामान्य हुनासाथ फेरि लयमा फर्किने गरी आफूहरूं हाललाई आ–आफ्नो बाटो गरेको गायक जीवन गुरुङले यसअघिनै जानकारी दिएका हुन् । भाष्कर ध्वज श्रेष्ठलगायतको टीमको डिमर्चाले समयसमयमा आफ्ना सिर्जना बजारमा पस्किरहेको छ । लेकाली ब्याण्ड कता हरायो पत्तो छैन । देउराली ब्याण्डको समेत चर्चा त्यति सुनिदैन । ‘बस सुन्दरी ठण्डी महिना जाडो छ’ सर्वाधिक चर्चाको गीत रह्यो । जुन गीत पोखराकै ब्रोसिस ब्याण्डले प्रस्तुत गरेको थियो । अहिले उक्त ब्याण्ड समेत कता छ कसैलाई थाहा छैन ।

तिलकबम मल्लको ’परिवेश ब्याण्ड’ समेत सुस्तायो । ‘मुटु छुने लुम्लेको हावाले’, ‘भोटे ताल्चा मारेर छातीमा’ लगायतका चर्चित गीत पस्केको ब्याण्डका गायक मल्ल हाल अमेरिकामा बस्दै आएका छन् ।

पोखराको संगीतलाई जोगाइराख्न कलाकारको महत्वपूर्ण भूमिका हुन्छ । हाल पोखरामा संघर्षशील कलाकारले नै यहाँको संगीतलाई भरथेग गर्ने हो । तर त्यसका लागि सबै व्यवस्थापकीय पक्षको पनि उत्तिकै दायित्व हुन्छ ।

निरन्तरताका लागि एउटा कलाकारलाई सहज जीवनयापन गर्न सक्ने बाटोको आवश्यकता पर्छ । जुन पोखरामा अलिक गाह्रो छ । तर पनि ग¥यो भने नसकिने केही छैन । पोखराको संगीतलाई जोगाउन यहाँ संघर्षशील कलाकारको समन्वयको खाँचो छ । अग्रजले अनुजलाई अनुभव सुनाउँदै÷सिकाउने काममा ढिलाई गर्नुहुँदैन ।

अनुजले समेत सबै मै जान्नेसुन्ने हो भन्नु आफैंका लागि घातक साबित हुन्छ । त्यसैले सबै मिलेर पोखरेली संगीतको उत्थानका लागि लागौं ।

कमेन्ट्स
Loading...