सन्तोष बस्याल
पोखरा /
दोस्रो लहरको कोरोना भाइरसका कारण नेपालमा दिन प्रतिदिन मृत्यु हुनेहरुको संख्या बढ्दो छ । विहिबार अपरान्हसम्मको स्वास्थ्य मन्त्रालयको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा मात्र २१४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ८ हजार ९६० थपिएको छ । उपचारका लागि अस्पतालमा बेड नपाएर विरामी छटपटिदैं मृत्युवरण गर्नुपर्ने अवस्था छ । पैसा भएर पनि बेड नहुँदा उपचार पाइरहेको अवस्था छैन । गरिब र दिनदुखीहरुको हालत बेहाल छ । यस्तो बेला सरकार अभिभावकत्व प्रदान गर्दै नागरिकको दुखमा सामेल हुनुभन्दा सत्ता जोगाउनमा लिप्त छ । कुर्सी फुस्किन नदिन हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली र दलका शिर्ष नेताहरु दिनरात नभनि लागिपरेका छन् ।

आम नागरिकको अवस्थाका बारे जानकार हुँदाहुँदै देखेको नदेखेझै गरी हिडिँरहेका छन् नेताहरु । पछिल्लो कोभिड रोकथामका लागि तपाईले के गर्नुभयो भन्दा उनीहरुको मुखमा कुनै जवाफ छैन । कारण कुनै तयारी नै भएको छैन । एकले अर्कोलाई दोश थुपार्नमै व्यस्त छन् नेताहरु । आँखै अगाडि आफन्त गुम्दा मुकदर्शक भएर टुलुटुलु हेर्नुपरेको अवस्था छ । स्वास्थ्यकर्मीका लागि हौसला थपिदिने सरकार नभएको महशुस गर्नुपरिरहेको छ । देशका अधिकांश जिल्लामा लकडाउन त गरिएको छ । तर त्यसको कुनै असर रोकथाममा देखिएको छैन । अबको स्थिति कस्तो हुने हो कसैले भन्न सक्ने अवस्था छैन ।
दोस्रो भेरियन्टको कोरोना भाइरस भूसको आगो जस्तो फैलिरहेको छ । हामीले सोच्दै नसोचेका नजिकका व्यक्तिहरु गुमाउनुपर्ने स्थिति छ । तर सरकारको ध्यान अझै सत्ता जोगाउन शिवाय अरु केहीमा छैन ।
यो बेला त सबै दल एक भएर कोरोना विरुद्धको लडाईमा खटिनुपर्ने हो । सत्ताधारीका कामकाजमा विपक्षीले पनि अनुगमन गर्ने बेला हो । सरकारले आफ्ना सबै संयन्त्र कोरोना रोकथाममा लगाउनुपर्ने हो । तर नागरिक दिनप्रतिदिन कोरोनाका कारण थला परेको सरकारले देखेन । अथवा भनौं देखे पनि नदेखेझै गर्यो ।
अस्पतालमा गयो उपचारका लागि बेड छैन भन्छ । अक्सिजन त छ तर सिलिण्डर अभावका कारण बिरामीले मृत्युवरण गरिराख्नुपरेको छ । सरकारले विदेशी दातृ निकायसँग सहयोग मागेको छु भन्छ तर त्यो सहयोग खै कहाँसम्म आयो पत्तो छैन । स्वास्थ्य जस्तो संवेदशील क्षेत्रमा पनि हाम्रो नेताहरु भ्रष्टाचार गर्न पछाडि परेका छैनन् । उनीहरुलाई आफ्नो मात्र पीर छ । अर्काको अवस्था जस्तो सुकै होस् कुनै मतलव छैन् । फेरि पनि हामी जनता तिनै नेतालाई चुनावमा भोट हालेर जितेर पठाउने गर्छौं ।
पछिल्लो समयले अब नागरिक पनि सचेत हुनुपर्ने बेला आएको देखाएको छ । नेतृत्व छनोटमा हामीले विचार पुर्याउनुपर्ने बेला हो यो । जसले नागरिकको भावना बुझेको छ उसैलाई चुनौं । अमुल्य भोटको दुरपयोग हुन नदिऔं ।
अहिलेको कोरोना कालिन समयमा राज्यको मात्र भर पर्नुभन्दा आफै सुरक्षित हुनु नै उचित हुन्छ । हामीले देखिरहेका छौं यस्तो समयमा पनि मान्छेलाई विवाह, पार्टी र भतेर जस्ता कार्यक्रम गर्नुपरेको छ । ज्यान रहे नै सबै रहन्छ । त्यसैले सचेत हौं, घरबासमा बसौं, आफु सहित परिवारलाई सुरक्षित राखौं । रमाइलो पछि गरौंला । घुम्न पछि निस्कौंला । तर अहिले सबै मिलेर कोरोना परास्त गरौं ।