सुचना, समाचार र मनोरन्जन

“छोटे राजाहरूको कब्जामा गणतन्त्र”

  •  
  •  
  •  
  •  

सन्तोष न्यौपाने
पोखरा / 

जननेता मदन भण्डारी चर्को स्वरमा स्पष्ट भन्नुहुन्थ्यो,’एक जना राजा रहने र नरहने कुराले त्यति ठुलो असर गर्दैन। तर यदि सामन्तवाद, नोकरशाही पुँजीवाद र साम्राज्यवाद रहिरहयो भने जनताको जिवनमा केही परिवर्तन आउदैन।’

आज राजा त छैनन् तर जनताको कर माथी स्वार्थका रोटी सेक्ने उदयमान छोटे राजाहरूको कुनै कमी छैन। दलाल पुँजीवादका उपज नेतालाई चुनाव, यात्रा, घर बनाउन, बस्न खान व्यवस्था मिलाए वापत सुविधा प्राप्त गर्नेको कुनै कमी छैन। आफुलाई विष्णुकै अवतार त कस्ले पत्याउने तर दुत सम्म आफै घोषणा गरेर हिँडिरहेका छन्।

हुन त अहिलेका छोटे राजाहरू कोहि प्रत्यक्ष र कोहि अप्रत्यक्ष रुपमा निर्वाचित हुन तर उनिहरूको आफ्नै अदभूत क्षमताको आडमा आएको भनठान्छन। उनीहरूको शैली कुनै धनी देशको राजा महाराजको भन्दा कम पक्कै छैन। उनिहरू आफ्ना कार्यलयहरू गरिब निषेध गरेर बसेका छन। सोफा, दराज, एसी, तातो चिसो पानी, पिउन नभएको कार्यालय कहिँकतै छैन। राष्ट्रपति कार्यालय देखि पानीजहाजको कार्यालय सम्म, प्रधानमन्त्री कार्यालय देखि वडा सदस्य कार्यकक्ष सम्म तलबी सहयोगी नभएको ठाउँ छैन। काम नपाएको हुलाकको हाकिम पनि आफै पानी तताउदैन बेल बजाउछ। मन्त्री हुँदा प्रयोग गरेका गाडी माथी उनिहरू स्वामित्वको अभ्यास गर्छन। पद विना उहाँहरूको रात जाँदैन।

प्रधानमन्त्रीले चीनको विदेश भ्रमणमा १५० जना लिएर गए। राष्ट्रपतिले २ करोडको कार्पेट ओछ्याइन्। पशुपतिमा करोडौंको सुन लेपियो। बग्गीको यात्रा महाराजको भन्दा भव्य छ। ठोरिका रामले न्याय पाएनन बनेर हुकुमले मन्दिर यस्तो बेला बनाइसियो जतिबेला कोरोनाका विरामी छुट्टै सुताउने आइसोलेसन बनाउनु पर्ने थियो। बाच्ने अक्सिजन चाइएकालाई जलाउने दाउरा पठाउछन काठ मन्त्री। महाराजले जहाँ हेर्छन तेहि मात्र सुन्दर दृश्य बनाएर छोटेराजालाई नेपाल विकसित छ भन्ने देखाएका छन भारदारले।

२०७२ मा भुकम्प गयो। कोहि कोहि जनताको घर २ तले बने, छोटेहरूको घर ८ तला नाघ्यो। पहिला राजाले भारदारलाई उपहार दिन्थे,तलब थिएन। अहिले छोटेहरूलाई तलब पनि उपहार पनि। राजा गए भनेर के गर्नु राजा अर्को रुपमा धेरैपटक बाटोमा देखिन्छन। संविधान माथी राजा मुनि भन्थे, अहिले संविधान नै नमान्ने राजा आए। हुँदै नभएको धारा प्रयोग गरि संसद दुइपटक मासे। फेरि पनि उनैलाई जनताको मत प्राप्त भनिदिनु पर्ने! नागरिकता बाँढेर सत्ता जोगाए उनैलाई राष्ट्रबादी र त्यागी नेता भनिदिनु पर्ने! कुन दिन देश लगेर अन्तै मिसाउलान अनि दक्षिण एसियाकै प्रभावशाली नेता भनिदिनु पर्ने होला! आलोचकलाई देशद्रोही देख्ने मैसुफले आफुलाई देश सम्झिरहेछन। तेसैले मैले भन्ने गरेको छु राजा फेरिएको हो राजतन्त्र गएको छैन। साचो अर्थको गणतन्त्र आएको छैन।

आफ्नो ज्यान हतकेलामा राखी उपचारमा खटेका नर्सलाई अस्पतालमा गएर कुटेको मैसुफले देख्नुहुन्न। पत्रकारले प्रश्न गर्दा जागिर खाइदिनु भो। आफ्नाले औसधि किन्दा पैसा खाए उत्कृष्ट मन्त्रीको उपाधी पाए। छोटेराजाहरू न विज्ञ सहन्छन, न सत्य तथ्य मान्छन। हाम्रा राजाहरू आफुलाई जन्मिदै काली नागले बेरेको अनि अदभूत ज्ञान सागर आफै भित्र भएको महसुस गर्छन।

टिकट लिँदा पार्टी सम्झन्छन, भोट हाल्ने दिन जनता सम्झन्छन अरु बेला बेफिक्री सँग काममै तल्लीन हुन्छन तेसैले त काठमाडौमा छोटेहरूका महल खडा छन्। लोभलाग्दो छोटेराजाको जीवन देखेर एक जनाले सोध्यो कसरी ‘छोटेराजा बन्ने होला?’ मैले सुझाए, आफ्नै थर भएको एकजना राजा समातेर नाता लगाउ अनि पछिपछि लाग र चाप्लुसी गर, तारिफ भन्दा बाहेक केही नगर, जे भन्छ तेहि मान त केही वर्षमै छोटे राजा बन्नेछौ। अहिले उ बनिसक्यो मलाई गुरु मान्दैन, गाडी रोक्दैन। आफैले जानेर राजा भए भन्छ। हुनत यो भारदार नियुक्तिको मापदण्ड पुरानै हो। यहि मापदण्ड पहिला श्री ५ ले प्रयोग गर्थे अहिले छोटेराजाले। यस्तो मापदण्डमा उक्त काम यति साल गर्नुपर्छ भनेर लिखित पनि हुँदैनन्। किनकी छोटेराजाहरू यसमा पनि छक्कापन्जा गर्छन। छोटे राजाको देश अब कसरी जनताको बनाउने बारे सोच्ने कमै छन् यहाँ।

अहिले कोभिडको महामारी छ। हुन त जनताले अस्पतालमा नपाएको अक्सिजन र वेड मात्र हो, मर्न पाएकै छन। उता छोटे राजाका सन्तान र आसेपासेलाई अक्सिजन मात्र हैन भ्यान्टिलेटर रिजर्भ गरि राखिएका छन क्यारे। नियम नभएका हैनन्, लिखित छन तर ती भारदारलाई लाग्दैन। छोटेराजाका त के कुरा उनिहरू नियम बङ्गाएर तेसैबाट शासन चलाउँछन्। जनताले यिनलाई सजाय दिन पनि सक्दैनन किनकी सजाय दिने निकायमा उनैका भारदार भर्ती छन्।

अब चुनाव आउँदा पनि अलमल्याउन यिनै काफी छन। जबसम्म जनता पुर्ण बुझ्ने हुँदैनन् र छोटेराजा विरुद्ध संघर्षको लागि हिम्मत गर्दैनन्, तबसम्म जनताको लागि गणतन्त्र कहिल्यै पनि आउनेछैन। गणतन्त्र कसैको रजाईको साधन बन्यो तर जनताकोलागी खुसी र उत्साहको कारण बन्न जनताको भावना अनुरुप काम गर्ने नेतृत्व चाहिन्छ। जनता मर्दा आत्तिने राष्ट्रपति, जनतालाई अप्ठ्यारो पर्दा सबैलाई लिएर सामना गर्ने प्रधानमन्त्री चाहिन्छ। भ्रष्ट, घुसखोरको झुण्डले गणतन्त्र प्रयोग गर्दा गणतन्त्र फाट्ने छ। कुनै पनि राजनैतिक व्यवस्था तब सम्म रहन्छ जबसम्म जनताको त्यस व्यवस्था प्रति आसा र विश्वास रहन्छ। यदि यस्तै भ्रष्ट र स्वेच्छाचारी नेतृत्वलाई गणतन्त्र रक्षाको जिम्मा दिइरहने हो भने गणतन्त्र च्यातिँदै गएर सिलाउने ठाउँ बाकी नरहला भन्न सकिदैन। त्यस दिन हामी अर्को प्रतिगामी व्यवस्थामा फर्किनेछौ जुन यो भन्दा कुरुप हुनेछ।

लेखक न्यौपाने अनेरास्ववियु केन्द्रीय सदस्य हुन्।

कमेन्ट्स
Loading...