सुचना, समाचार र मनोरन्जन

साताको सात तस्वीर

  •  
  •  
  •  
  •  

प्रेम थापा
पोखरा /

साताको सात तस्वीर मार्फत हामीले पछिल्लो समय समाजमा घटेका घटनाक्रम र विकासका सन्दर्भलाई प्रस्तुत गर्न खोजेका छौं । तस्वीर मार्फत पोखरा सँगै आसपासमा भएका गतिविधिलाई दर्शाउन खोजिएको छ ।

 

गरे सबै सम्भव छ, नगरे केही छैन । विकासका आयोजना कागजमा मात्र थन्काएर राख्नु भन्दा ठोस तवरले यसरी प्रस्तुत गर्नुको अर्थ नै बेग्लै छ । सुन्दर नगरी पोखरामा आर्कषक स्टेडियमको आवश्यकता थियो । जो अहिले पूरा हुँदैछ ।

बन्दै गरेको पोखरा रंगशाला

 

बुबा आमाको सेवामा समर्पित हुने सन्तानको कमी छ । वृद्ध वा अपाङ्ग भएका बुबा आमालाई सडकमा छाडेर हिड्ने सन्तान धेरै देखिएको छ । तर केही यस्ता सन्तान जो बाबाकै सेवामा खटिरहेका छन्, सिमित भेटिन्छन् । सन्तानको माया होस् त यस्तो ।

अपाङ्ग बुबाको सेवामा समर्पित बालक

 

विपत बाजा बजाएर आउँदैन । त्यसैले यसबाट बच्न पूर्वतयारीको आवश्यकता छ । वर्षेनी सेती नदीमा बाढी गइरहेको छ । तर व्यवस्थापनमा हामी कमजोर रहँदा सेतीमै बालुवा चालेर पेट पाल्नेहरु मर्कामा परिरहेका छन् । सरकारको ध्यान चाँडो पुगोस् ।

अविरल वर्षाका कारण उर्लिएको सेती

 

असार लाग्यो, रोपाई शुरु भयो । मानो छरेर मुरी उब्जाउने बेला हो यो । खेतमा छुपुछुपु हिलो खेल्दै असारे भाका सँगै रमाउनुको मज्जा अरु कहाँ । रोपाई हाम्रो संस्कार बनेको छ । यसको संरक्षणमा सबै लागे हाम्रा सन्ततिलाई समेत यसको महत्व दर्शाउन सकिनेछ ।

खेतमा रोपाई गर्दै वृद्ध आमा

 

गण्डकी प्रदेश पर्यटन क्षेत्रको पर्याय बनेको छ । पोखरा मात्रै नभई नजिकको तनहुँ जिल्लामा समेत मन लोभ्याउने पर्यटकीय स्थलहरु छन् । जसको प्रचारप्रसार र संरक्षणमा प्रदेश सरकारको चासो हुनुपर्ने देखिन्छ । रक क्लाम्बिङका लागि एक आर्कषक गन्तव्य बन्न सक्छ तनहुँको बन्दिपुर ।

तनहुँमा रक क्लाम्बिङ गर्दै पर्यटक

 

पोखरामा हाल निशेधाज्ञा छ । बजार सबै ठप्प छ । सवारी साधन सिमित संख्यामा मात्र चलेका छन् । सो समयमा विकासले समेत गति लिँदैछ । सिर्जनाचोक क्षेत्रमा आकाशेपुलको निर्माणको क्रम जारी छ ।

पोखरा सिर्जनाचोकमा निर्माण हुँदै गरेको आकाशेपुलबाट खिचिएको दृश्य

 

पर्यटकीय नगरी पोखरामा पर्यटकीय गन्तव्य थप्ने काम भइरहेको छ । गाउँगाउँमा पर्यटकका लागि लोभ्याउने स्थलहरु निर्माण भइरहेका छन् । पर्यटकलाई थप एकदिन बस्न लालयित बनाउने प्रयत्न जारी छ । धार्मिक पर्यटकका लागि एउटा आकर्षक गन्तव्य पूम्दीभूम्दीकोट बन्नेमा दुईमत छैन ।

निर्माणाधिन अवस्थामा रहेको पुम्दीभूम्दी कोटको पछिल्लो दृश्य

 

तस्वीर : प्रेम थापा/ परिचय डटकम

 

कमेन्ट्स
Loading...