प्रेम थापा
पोखरा /
यतिबेला देशमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । निषेधाज्ञा गरिएको अवस्था छ । प्राय सबै क्षेत्र ठप्प छ । मानिस घरबासमा छन् । सुरक्षित हुँदै बाहिर निस्कनुपर्ने हुन्छ । आफ्नै आफन्त बिच पनि दुरी बढाउनुपर्ने स्थिति छ । यस्तो बेलामा हामीले तस्वीर मार्फत समाजमा भएका घट्ना परिघटनालाई दर्शाउन खोजेका छौं । आजको साताको सात तस्वीरमा पछिल्लो एक हप्तामा पोखरामा भएका विषयवस्तुलाई प्रस्तुत गरिएको छ :
कोराना महामारीका कारण शैक्षिक क्षेत्रमा ठूलो धक्का पुगेको छ । विद्यार्थी विद्यालय गएर अध्ययन गर्न पाइरहेका छैनन् । वैकल्पिक शिक्षाको रुपमा घरमै अनलाइन कक्षा संचालन भइरहेको छ । अझै परिक्षा समेत अनलाइन मार्फत नै दिइरहेका छन् विद्यार्थी । शैक्षिक प्रणालीमा विकल्प खोजिएको आभाष हुन्छ । महामारीले पाठ सिकाएको छ ।

काम कुनै पनि ठूलो सानो हुँदैन । काममा लिङ्ग छुट्याइँदैन । यो पुरुषले गर्ने, त्यो महिलाले गर्ने भन्ने हुँदैन । काम काम हुन्छ । यत्ति हो कुनै पनि कर्ममा आफुलाई सन्तुष्ट मिल्नुपर्छ । ढाँटेर वा छलेर खानुभन्दा काम गरी पसिना बगाएर पेट पाल्नुको मज्जा बेग्लै हुन्छ । कर्म प्रति कर्मठ हुन आवश्यक छ । सफलता एकदिन अवश्य मिल्छ ।

नेपालमा कोरोना भाइरसको दोस्रो लहर चलिरहेको छ । धेरै जना संक्रमित भएका छन् । उसो त निको हुनेहरुको संख्या समेत उत्तिकै छ । मृत्युदर समेत बढीरहेकै छ । हिजो सरकारी अस्पतालमा मात्र कोरोना परीक्षण गराउने सर्वसाधारणको घुइँचो हुने गथ्र्यो भने अहिले सरकारले प्राइभेट सेक्टरका ल्याबहरुमा समेत पीसीआर परिक्षण गर्ने अनुमति दिएसँगै परीक्षण गर्ने सर्वसाधारणको लाइन हुन थालेको छ । पैसा तिरेर परीक्षण गर्न समेत पछि परेका छैनन् ।

सरकारको कमीकमजोरीलाई मात्र खोतल्नुभन्दा राम्रा कामहरुको समेत प्रचारप्रसार हुनुपर्ने आवश्यकता छ । विकासको पथमा विस्तारै लम्कँदै गरेको आभाष हुन्छ पोखरा महानगरपालिका । पर्यटन नगरी पोखराको लेकसाइड जाने बाटोको सुन्दरताले लोभ्याएको छ । वरिपरि डाँडाकाडाँ बिचमा मन प्रफुल्लित बनाउने सडकको दृश्य नै बेग्लै ।

पछिल्लो समय हाँस पाल्नेहरुको जमात पनि बाक्लो भएको छ । कृषि पेशालाई अप्नाउँदै यसमै भविष्य खोज्नुहरु धेरै छन् । परिवार नै यसमै रमाइरहेको उदाहरण नभएको होइन । आम्दानी गर्ने गतिलो व्यवसाय बनेको छ हाँस पालन । थुप्रैले रोजगारी पाएका छन् । बालबच्चाहरुलाई समेत सानै उमेरदेखि सिक्ने वातावरण मिलेको छ । आवश्यक जानकारी उनीहरुले अहिले देखि नै लिन थालेका छन् ।

एकातर्फ कोरोना महामारी अर्को तर्फ असारको तयारी । लकडाउनका समयमा पनि किसानहरु काम गर्न पछाडि परेका छैनन् । आवश्यक पूर्व तयारी भइरहेको छ । अहिले गाउँघरमा खेतबारीको आलीकान्ला ताछ्ने काम शुरु भएको छ । एक अर्थमा भन्दा रोपाईं गर्ने चाँजोपाँजोमा व्यस्त छन् किसान ।

प्राणी प्रकृति प्रेमी हुन्छ र सोही अनुरुप आफुलाई ढाल्ने प्रयत्न गर्छ । प्रकृति विनाको प्राणी र प्राणी विनाको प्रकृतिको कुनै औचित्य रहँदैन । प्राणीले प्रकृतिलाई आभाष गर्न पाउनुपर्ने हुन्छ र समयको परिवर्तनसँगै त्यो भएर नै छाड्छ ।

तस्वीर : प्रेम थापा/परिचय डटकम