सुचना, समाचार र मनोरन्जन

‘आजको लोकतान्त्रिक गणतन्त्रको जन्म हिजोको पुष्पलालको सपनाले निर्माण भएको हो’

नेताहरूमा सद्बुद्धि आए कम्युनिस्ट आन्दोलन बच्छ, सुखी नेपाली र समृद्ध नेपालको नाराले पनि सार्थकता पाउनेछ ।

  •  
  •  
  •  
  •  

सोभियत ढकाल
पोखरा /

कम्युनिस्ट आन्दोलन व्यक्ति वा नेताप्रधान नभई नीतिप्रधान हुन्छ । सही नीतिको खोजमा नै योग्य नेता प्राप्त हुन्छ भन्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालको विचार थियो । अहिले उनको स्मृति–दिवस विभिन्न कार्यक्रमका साथ देशैभर मनाइँदै छ ।

सिद्धान्तअनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ, सिद्धान्त, संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन् । जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, परिवर्तन अवश्यम्भावी छ, यसलाई संसारका कुनै पनि शक्तिले रोक्न सक्दैनन् भन्ने पुष्पलालले कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रीयता कमजोर भएको अवस्थामा त्यसलाई लागू गर्ने काम गरे । कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता लागू हुन सकेन भने पार्टीजीवनमा नै बेथिति देखा पर्छ ।

जनवाद र केन्द्रीयता पार्टी संगठनका दुई पाटा हुन्, जुन जहिले पनि सन्तुलित हुन आवश्यक छ । अनुशासनविनाको स्वतन्त्रता स्वेच्छाचारी हुन्छ, स्वतन्त्रताविनाको अनुशासन निरंकुश हुन्छ, केन्द्रीयताविनाको जनवाद अराजक हुन्छ, जनवादविनाको केन्द्रीयता नोकरशाही हुन्छ । यी तराजुका दुई पल्ला हमेसा बराबर र सन्तुलित हुनुपर्छ भन्ने पुष्पलालले कम्युनिस्ट पार्टीभित्र लेनिनवादी संगठनात्मक पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्तलाई स्थापित गराउन र सामूहिक नेतृत्वको आधारमा कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

राजनीतिमा कुनै पनि शक्ति स्थायी मित्र वा दुस्मन हुन सक्दैन । आजको मित्रशक्ति भोलि दुस्मन हुन सक्छ । यो सबै देशको राजनीतिक परिस्थितिमा भर पर्ने कुरा हो ।

इतिहासको स्मरणले वर्तमानलाई गतिशील मात्रै बनाउँदैन, त्यसले पछिल्लो पिँढीलाई सिकाउन पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आजको लोकतान्त्रिक गणतन्त्रको जन्म हिजोको पुष्पलालको सपनाले निर्माण भएको हो ।

राजनीतिमा कुनै पनि शक्ति स्थायी मित्र वा दुस्मन हुन सक्दैन । आजको मित्रशक्ति भोलि दुस्मन हुन सक्छ । यो सबै देशको राजनीतिक परिस्थितिमा भर पर्ने कुरा हो । राजनीतिक परिस्थितिमा परिवर्तन आउनासाथ विभिन्न वर्ग तथा वर्गस्तरको आपसी सम्बन्धमा पनि परिवर्तन देखिन थाल्छ भन्ने पुष्पलालले जालझेल, षड्यन्त्र, मुढेबल वा छलकपटले परिवर्तन नहुने र पार्टी पनि सही ढंगबाट अगाडि बढ्न नसक्ने निष्कर्ष निकालेका थिए । उनले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गराउने सन्दर्भमा आफ्ना मान्यता विभिन्न ढंगबाट अगाडि सारेका थिए ।

पार्टी–परम्परा र पद्धतिलाई उनले सर्वाेपरी ठानेका थिए । कम्युनिस्ट पार्टीभित्र जनवादी केन्द्रीयता नै पार्टी–पद्धति हो । पार्टीभित्र अन्तरविरोध र वादविवाद हुँदा हमेसा एकमत हुन्छ भन्ने होइन । कहिले सहमति हुन्छ, कहिले हँुदैन । कहिले एकमत हुन्छ, कहिले हुँदैन । सहमति र समझदारी पार्टी सञ्चालनको सबैभन्दा उपयुक्त विधि हो । तर, कहिलेकाहीँ विभिन्न परिवेश र परिस्थितिका कारण पार्टीलाई निश्चित विधि र पद्धतिबाट अगाडि बढाउनुपर्ने हुन्छ । अल्पमत र बहुमत पार्टीजीवनमा देखिने जीवन्त प्रक्रिया हुन् । यसैबाट पाठ सिकेर बहुमतले अल्पमतको कदर र अल्पमतले बहुमतको फैसलालाई पार्टीको फैसलाको रूपमा शिरोपर गर्नुपर्छ । यो नै कम्युनिस्ट पार्टीको पद्धति हो ।

सबैको योगदानले नै पार्टी बलियो बनेको हो । सबैको सामूहिक पहलकदमीबाट पार्टीलाई सफलता मिलेको हो । अहंकार र दम्भले आपसमा वैमनस्य पैदा गर्छ । कुनै कीर्तनमण्डलीजस्तो व्यक्तिको स्तूतिगान गाउने र कुनै व्यक्तिको अभावमा प्रलय हुन्छ भन्नेजस्ता अतिवादी सोच कार्यकर्ताले प्रदर्शन गर्नु स्वयंमा घात हो ।

पार्टी एउटा जीवन्त संगठन भएको हुँदा पार्टीको पद्धतिअनुसार पार्टीभित्र देखा परेका वादविवाद र मतमतान्तर अन्त्य गर्नुपर्छ । जसले पार्टीका निर्मित विचार र पद्धति तोड्छ, त्यो कम्युनिस्ट पार्टीमा असल नेता र कुशल पात्र बन्न सक्दैन । गतिशील पार्टीभित्र अन्तरविरोध चलिरहन्छ । गति, वस्तु र प्रक्रिया, यी सबै अन्तरविरोध हुन् । अन्तरविरोधलाई नस्विकार्नु गतिलाई नस्विकार्नु हो ।

पार्टीको गतिशीलताका लागि समेत अन्तरविरोध स्वच्छ ढंगबाट अगाडि बढ्नु जरुरी हुन्छ । तर, पार्टीभित्र उठेका सम्पूर्ण विवादको हल पार्टी पद्धतिअनुसार नै खोज्नुपर्छ । त्यही नै कुशल नेतृत्व–क्षमता हो । सामूहिक नेतृत्वको आधारमा कम्युनिस्ट पार्टी चल्नुपर्छ । पार्टीमा कसैले पनि अहंकार, दम्भ र घमन्ड देखाउने होइन । यो पार्टी निर्माणमा सबैको उत्तिकै योगदान, त्याग, समर्पण र बलिदान छ । सबैको योगदानले नै पार्टी बलियो बनेको हो । सबैको सामूहिक पहलकदमीबाट पार्टीलाई सफलता मिलेको हो । अहंकार र दम्भले आपसमा वैमनस्य पैदा गर्छ । कुनै कीर्तनमण्डलीजस्तो व्यक्तिको स्तूतिगान गाउने र कुनै व्यक्तिको अभावमा प्रलय हुन्छ भन्नेजस्ता अतिवादी सोच कार्यकर्ताले प्रदर्शन गर्नु स्वयंमा घात हो ।

सामूहिक नेतृत्वको आधार नै पार्टी निर्माणको आधारशिला हो । सामूहिक नेतृत्वको आधारमा कम्युनिस्ट पार्टी चल्नुपर्छ । सामूहिक चिन्तन र व्यवहारविना पार्टी गतिशील हँुदैन । सामाजिक जीवनका प्रतिभाशाली व्यक्तिलाई झनै सामूहिकताको आवश्यकता हुन्छ । तसर्थ, पार्टीको गतिशीलता, अन्तरविरोधको व्यवस्थापन, विधि र पद्धतिको पालनाले नै पार्टीले सफलता हासिल गर्न सक्छ । तसर्थ, पार्टीभित्र सामूहिक नेतृत्वको विकास अपरिहार्य छ । निश्चित उद्देश्य, कार्यनीति र संगठनबाटै सर्वहारा वर्गको मुक्ति सम्भव छ । विधि, पद्धति र प्रणाली कम्युनिस्ट पार्टीमा अति महत्वपूर्ण हुन्छ, व्यक्तिवादी मनोवृत्ति होइन ।

इतिहासको भौतिकवादी नियमअनुसार सत्यलाई केही समय छोप्न सकिन्छ, तर त्यो अन्ततः उजागर भएरै छाड्छ । आजको आवश्यकता कम्युनिस्ट पार्टीलाई विधि र पद्धतिमा चलाउनु नै हो । कुनै व्यक्ति महान्, कुनै व्यक्ति तुच्छ भन्ने कम्युनिस्ट पार्टीमा हुन सक्दैन । यो पार्टी सबैको त्याग, समर्पण र बलिदानले निर्माण भएको पार्टी हो ।

जसरी पुष्पलालले अनेकौँ आरोप र षड्यन्त्रलाई चिर्दै कम्युनिस्ट पार्टीलाई पद्धतिसम्मत चलाए र पार्टीलाई जीवन्त बनाउने काम गरे, त्यसबाट आजका कम्युनिस्ट पार्टीले सिक्न सक्नुपर्छ ।

पार्टीमा विचार, विधि, पद्धति स्थायी हुन्छन्, पात्र त आउँछन्–जान्छन् । नेतृत्व आउँछ–जान्छ, विचार स्थायी हुन्छ । विचारको जगमा अडिएको पार्टीले कार्यकर्ताहरूको भावनालाई सम्बोधन गर्न सक्छ । तर, आज मित्रमण्डली प्रवृत्ति पार्टीमा देखा परेको छ । यस्तो मनोवृत्तिले विधि, पद्धतिभन्दा व्यक्तिवादी प्रवृत्ति बढेर जाने निश्चित छ । बुझ्नुपर्छ, नेताहरूका कारण पार्टी बन्दैन, पार्टीले नेता बनाउने हो । हामी नै हो सर्वेसर्वा भन्ने घमन्डले परिणाम हात लाग्दैन । पार्टी विधिमा चल्नुपर्छ, नेतृत्वले अहं त्याग्नुपर्छ र संस्कारमा सिर्जनशीलता देखाउनुपर्छ ।

जसरी पुष्पलालले अनेकौँ आरोप र षड्यन्त्रलाई चिर्दै कम्युनिस्ट पार्टीलाई पद्धतिसम्मत चलाए र पार्टीलाई जीवन्त बनाउने काम गरे, त्यसबाट आजका कम्युनिस्ट पार्टीले सिक्न सक्नुपर्छ ।

पुष्पलालको सन्दर्भमा मदन भण्डारीले भन्नुभएको छ, ‘पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका हस्ती हुन् । अरू थुप्रै नेतामा जस्तो उनमा घामछाया पाइँदैन । नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट छ । पुष्पलालले गरेको योगदानप्रति कम्युनिस्ट आन्दोलन कृतज्ञ छ र रहिरहनेछ । पुष्पलाल कम्युनिस्ट आन्दोलनको साझा सम्पत्ति र एउटा सर्वोच्च व्यक्तित्व हुन् ।’

पुष्पलाललाई जननेता भण्डारीले उसै कम्युनिस्ट आन्दोलनका नक्षत्र भनेका होइनन् । उनले कम्युनिस्ट आन्दोलनभित्र रोपेको बिउका कारण यतिवेला नेपालका कम्युनिस्टले फल खाइरहेका छन् । कम्युनिस्ट आन्दोलन उनैले हालेको जगमा उभिएको हो । त्यसैले, यो वेला साँच्चै पार्टी, विधि, विधान र पद्धतिअनुसार चल्न सके प्राविधिक समस्या आफैँ समाधान हुँदै जानेछन् । र, नेकपा एमाले जनताको सारथी बन्न सक्छ । अन्यथा, नेपालको कम्युनिस्ट आन्दोलन विसर्जनको दिशामा अग्रसर हुने निश्चित छ ।

नेताहरूमा सद्बुद्धि आए कम्युनिस्ट आन्दोलन बच्छ, सुखी नेपाली र समृद्ध नेपालको नाराले पनि सार्थकता पाउनेछ ।

(लेखक ढकाल नेकपा एमालेका युवा नेता हुन् )

कमेन्ट्स
Loading...