सुचना, समाचार र मनोरन्जन

मुस्ताङमाथि चीन, भारत र अमेरिकाको खतरनाक सहयोग स्वार्थ

  •  
  •  
  •  
  •  

सुमन ढुंगाना
पोखरा / 

छिमेकीहरू सुखदुःखका साथी हुन् । सबै चिज फेर्न सकिए पनि छिमेकी किमार्थ फेर्न सकिदैन् । १ हजार ८ सय किलोमिटरभन्दा बढी खुला सिमाना भएको छिमेकी देश भारतले पूर्व, पश्चिम र दक्षिणबाट नेपाललाई घेरा हालेको छ । त्यस्तै १ हजार ४ सय किलोमिटरभन्दा बढी सीमा जोडिएको चीन उत्तरको छिमेकी मुलुक हो । नेपाल समुद्रसँग नजोडिए पनि विश्वको विशाल जनसंख्या भएको चीन र भारतसँग जोडिएको छ ।

नेपालको छिमेकी देश चीन र भारत नेपाली भूमिबाट आफ्नो राष्ट्रिय सुरक्षामा समस्या नआओस भनेर अत्यन्तै सतर्क छन् । त्यही सतर्कताको उपज हुन सक्छ सानोभन्दा सानो क्षेत्रमा नेपाललाई सहयोग गरेको देखाउनु । विगतदेखि नै उनीहरूले सहयोगका नाममा आफ्नो प्रभुत्व जमाउन खोजिरहेका थिए, खोजिरहेका छन् र खोजिरहने छन् । यी दुई देशका सहयोगका परियोजनाहरू हाम्रो देशको वडा स्तरसम्म पुग्नु त्यसैको ज्वलन्त उदाहरण मान्न सकिन्छ । यस्तै भू यथार्थसँग जोडिएको छ हिमालपारीको सुन्दर जिल्ला मुस्ताङ । जहाँ सहयोगको नाममा प्रतिस्पर्धा मार्फत् आफ्नो स्वार्थ पूरा गर्न तल्लिन छन् भारत, चीन र अन्य पश्चिमा मुलुकहरू ।

हाम्रो जस्तो विकासोन्मुख देशमा वैदेशिक सहायताको रसपस नपुगेको क्षेत्र र कुनै न कुनै रूपमा उनीहरूको उपस्थिति नभएको ठाऊँ भेट्न मुस्किल पर्छ । समग्रतामा सहयोगको प्याकेज पुग्नेमा मुस्ताङ अलि बढी चर्चामा छ । त्यहाँ भारत, चीन र अमेरिकाको त्रिकोणात्मक चासो देख्न सकिन्छ । सुदूर उत्तर र दूर्गम नै भए पनि उपल्लो थलो मुस्ताङसम्म ती मुलुकका नियोगमा कार्यरत उच्च अधिकारी बेरोकतोक घुम्छन् । सहयोगको आवारणमा पटकपटक तिनका पाइला त्यहाँ पुुुुुुुुुुुग्छन् । झट्ट हेर्दा उनीहरूको क्रियाकलाप सहयोगका लागि प्रतिस्पर्धा गरे जस्तै लाग्छ तर सत्य अर्कै छ । यो यथार्थलाई मुस्ताङवासीले पनि महसुस गरिरहेको विषय हो ।

चिसो मरुभूमिको फरक भूखण्ड, प्राकृतिक विविधता र संस्कृति भएकाले जो कोही पनि मुस्ताङ पुग्न लालायित हुनु सामान्य मान्न सकिन्छ । तर हाम्रा दुई शक्तिशाली छिमेकी भारत र चीनले मुस्ताङलाई हेर्ने नजर भने निक्कै फरक छ । दुई छिमेकी मात्र होइन निक्कै परको शक्तिशाली देश अमेरिकाले समेत मुस्ताङलाई अत्यन्तै चासो दिनुले पनि उनीहरू किन र केका लागि मुस्ताङमा केन्द्रित छन् भन्ने तथ्य बुझ्न आवश्यक छ । यसको मूलजड खोज्नु पर्ने निक्कै पहिले हो तर अहिलेसम्म सबै मौन छन् ।

मुस्ताङमा यी तिन देशको सहयोग र उपस्थिति आवश्यकताभन्दा निक्कै बढी देखिन्छ जो अस्वभाविक लाग्छ । उनीहरूको सहयोग शैली र तौरतरिका पनि एक अर्कामा अली फरक छ । चीनले त्यहाँको जीवनस्तरमा बढी सहयोग गरेको पाइन्छ । विद्यालयका भवन निर्माण, अत्याधुनिक कम्प्युटर ल्याव स्थापना, खाद्यन्न जस्ता सहयोगलाई प्राथमिकतामा राखेर सिधै जनस्तरमा पुग्ने सहयोगको पुल हालेको छ । आफ्नो स्वशासित क्षेत्र तिब्बत र राजधानीस्थित दुताबास मार्फत् चीनले प्रत्यक्ष सहयोग गर्दै आएको त्यहाँ पुग्दा देख्न सकिन्छ ।

नेपालका लागि भारतीय राजदूत हुने बित्तिकै त्यो राजदूतको रोजाइमा पहिलो भ्रमण हुन्छ मुस्ताङ । त्यसमा पनि उपल्लो मुस्ताङ । हरेक भ्रमणमा उनीहरू कुनै न कुनै चिजको शिलान्यास वा उद्घाटन गरेरै फर्कन्छन् ।

चीनको स्वशाशित क्षेत्र तिब्बतसँग सिमाना जोडिएकोले पनि उपल्लो मुस्ताङमा चिनियाँ सहयोग र आवतजावत अल्ली बढी छ । केही वर्ष अघिसम्म चीनले वर्षको ३ पटक खाद्यन्न र लत्ताकपडाको सहयोग बढी गर्ने गरेको थियो तर त्यो क्रम आजकल रोकिएको छ । ७० किलोवाटको सोलार जडान गरी लोमाङथाङलाई झलमल्ल उज्यालो बनाइदिएको पनि चीनले नै हो । उसले वर्षको २÷३ खेप नाका खोलेर आफ्नो व्यापार पनि गरिरहेको छ । उता भारतीय सहयोगको लर्को पनि हरेक वर्ष अगाडि बढिरहेकै छ । अमेरिकाले पनि सात समुद्र पारबाट मुस्ताङमा चासो दिइरहेको छ ।

चीनले जनस्तरमा आधारित सहयोग गर्छ भने भारतीय सहयोग गुम्बा र गुम्बा आश्रित स्कुलमा बढी खर्चिएको देख्न सकिन्छ । नेपालका लागि भारतीय राजदूत हुने बित्तिकै त्यो राजदूतको रोजाइमा पहिलो भ्रमण हुन्छ मुस्ताङ । त्यसमा पनि उपल्लो मुस्ताङ । हरेक भ्रमणमा उनीहरू कुनै न कुनै चिजको शिलान्यास वा उद्घाटन गरेरै फर्कन्छन् । उपल्लो मुस्ताङका धेरै गुम्बा र गुम्बाद्वारा सञ्चालित स्कुलमा भारतीय सहयोग पुगेको छ । मुस्ताङका सडकमा देखिने धेरै जसो एम्बुलेन्समा नेपाल भारत सहयोग लेखिएको पाइन्छ । त्यस्तै भारतीय सहयोग रहेको गुम्बा र स्कुलका विद्यार्थीलाई पोशाक, शिक्षकलाई तलब, खाना खाजाको व्यवस्था भने अमेरिकी संस्था ‘अमेरिकन हिमालयन फाउन्डेसन’ले गर्दै आएको छ ।

भनिन्छ तिब्बतमा मासिदै गएको संस्कृति र संस्कार मुस्ताङका गाउँघरमा अझै जीवन्त छन् । मनै लोभ्याउने प्राकृतिक दृश्य, फरक प्रकारको जीवन पद्धती र साँस्कृतिक चालचलनले पर्यटक आकर्षित हुनु स्वभाविक हो ।

काठमाडौंबाट पटकपटक मुस्ताङ पुग्छन अमेरिकी राजदूत पनि । मुस्ताङका नाममा आउने सहयोगबारे लगभग सबै जानकार छन् । यस्तो सहयोग नेपाल सरकार र सरकारी निकाय मार्फत् गरिदैन र गर्न चाहँदैनन् । सिधै सम्बन्धित देशका अधिकारीहरू मुस्ताङ पुग्छन र आफूले गरेको सहयोग भनी ताम्रपत्र झुन्ड्याएर फर्किन्छन । जुन तरिका अपनाएर सहयोग गर्ने शैली लिएका छन् त्यसमा उनीहरूको स्वार्थ लुकेको छ भन्नलाई त्यति असजिलो छैन् ।

दुई शक्तिशाली राष्ट्रबिचको कमजोर नेपाल र उनीहरूको देखावटी सहयोगले झन् कमजोर बनाएको अनुभूति भइरहेको छ । भनिन्छ तिब्बतमा मासिदै गएको संस्कृति र संस्कार मुस्ताङका गाउँघरमा अझै जीवन्त छन् । मनै लोभ्याउने प्राकृतिक दृश्य, फरक प्रकारको जीवन पद्धती र साँस्कृतिक चालचलनले पर्यटक आकर्षित हुनु स्वभाविक हो । एक पटक मुस्ताङ पुगेको व्यक्ति अर्को पटक जानु र आफ्ना मनमिल्नेलाई बचन विज्ञापन गर्नु मुस्ताङको मार्केटिङका लागि निक्कै राम्रो हो । तर दुई छिमेकी र अमेरिकाको चासो भने यसतर्फ खासै छैन् । आवरणमा उनीहरूले निस्वार्थ सहयोग गरेको देखिए पनि सहयोगका लागि जुन होडबाजी छ, त्यसले उनीहरूको स्वार्थ छर्लङ हुन्छ अन्य प्रमाण खोजिरहनु पर्दैन ।

सन् १९७४ मा चीन विरुद्धको ‘खम्पा विद्रोह’ मुस्ताङबाटै भएकाले पनि चीन फेरि त्यस्तो कुनै गतिविधि नहोस भन्ने चाहन्छ । त्यसैले सहयोगको हात बढाएर मुस्ताङको भौतिक विकासमा लागेको देखिन्छ ।

संसारले ‘दि हिडन किङडम’ भनेर मुस्ताङलाई चिने पनि चीन, भारत र अमेरिकाको बुझाई फरक छ भन्ने कुरा त्यहाँका स्थानीयले बुझ्न थालेका छन् । उनीहरूको स्वार्थ पर्यटन प्रवद्र्धन गर्नभन्दा पनि सामरिक महत्वका विषयमा बढी देखिएको छ । यसको पुष्टी उनीहरूको क्रियाकलाप र गतिविधिले गर्छ । मुलुक नै वैदेशिक सहयोगका भरमा चलेका बेला मुस्ताङमाथिको उनीहरूको नजर शंकाको घेरामा छ । जुन स्थानीयको भनाइबाट पनि स्पष्ट हुन्छ । उपल्लो मुस्ताङका समाजसेवी एवम् गण्डकी प्रदेश सभाका सभासद् इन्द्रधारा बिष्ट भन्छन् ‘उनीहरूको सहयोगलाई जनताले स्वीकार गरेका छन् तर उनीहरूको स्वार्थमा जनता माध्यम बनेका छैनन् ।’ बिष्टको बुझाई छ, ‘चीन आफ्नो सुरक्षाको लागि गम्भीर छ र आफ्नो खतराको लागि यो भूभाग प्रयोग नहोस भन्ने चाहन्छ भने भारत लगायत अन्य पश्चिमा मुलुक चीनको गतिविधि बुझ्न पनि लागेको हुन सक्छन् ।’

चीनले तिब्बतलाई आफ्नो स्वशासित क्षेत्रको रूपमा लिएपछि तत्कालीन समयमा तिब्बतीहरू भागेर मुस्ताङ आई क्याम्प बनाएर बसेका थिए । त्यतिबेला उनीहरू मुस्ताङबाटै चिनियाँ सेनासँग लडेका थिए । सन् १९७४ मा चीन विरुद्धको ‘खम्पा विद्रोह’ मुस्ताङबाटै भएकाले पनि चीन फेरि त्यस्तो कुनै गतिविधि नहोस भन्ने चाहन्छ । त्यसैले सहयोगको हात बढाएर मुस्ताङको भौतिक विकासमा लागेको देखिन्छ । तत्कालीन खम्पा विद्रोह तुरून्तै निस्तेज भए पनि कतै फेरि त्यस्तै केही हुने त होइन भन्ने चीन र नेपालको साझा चिन्ता र चासोको विषय हो । त्यतिबेला खम्पाहरूलाई अमेरिकी सहयोग मिलेको थियो । चीन आफू विरोधी गतिविधि नहोस भनेर सचेत भै मुस्ताङका स्थानीयसँग सामिप्यता बढाउँन चाहन्छ । चीनले लिएको चिन्ता यहाँबाट नहुनेमा स्थानीय ढुक्क छन् ।

उता अमेरिका र भारत चीनको योजना थाहा पाउन र कुनै पनि हिसाबले चीनलाई अप्ठ्यारो पार्ने वहाना खोज्दै मुस्ताङमा आफ्नो गतिविधि बढाएको बुझ्न त्यति कठीन छैन् । उपल्लो मुस्ताङका युवा व्यवसायी ट्स्वाङग विष्ट भन्छन, ‘राम्रो मनले दिएको सहयोगलाई नराम्रो सोच्न सकिन्न तर उनीहरूले जनतालाई आफ्नो स्वार्थसँग समाहित गर्न खोजे हामी प्रतिकार गर्ने छौं ।’ पछिल्लो समय उपल्लो मुस्ताङको युरेनियम खानीले पनि यी सहित अन्य शक्तिराष्ट्रको चासो बढेको विष्टको जिकिर छ ।

तिब्बती संस्कृतिसँग आफ्नो संस्कृति मिल्दोजुल्दो भएकोले पनि उत्तरसँगको उठबस केही मात्रामा स्वीकार योग्य मान्न सकिन्छ । तर अन्य मुलुकको स्वार्थ भने निक्कै फरक छ । पर्यटकीय गन्तव्य भएकाले धेरै राष्ट्रका राजदूत त्यहाँ पुग्छन तर भारत, चीन र अमेरिकी राजदूतको आवतजावत बाक्लिँदा निहित स्वार्थ झल्किएको भान हुन्छ जो असुहाउँदो लाग्छ । अझ् त्यसमाथि उनीहरू अर्को देशको राजदूतले के भन्यो के सहयोग ग¥यो भनेर स्थानीयसँग खुलेरै कुराकानी गर्छन् ।

तर त्यो सहयोग केन्द्रीय वा प्रदेश सरकार मार्फत् नभई वडा स्तरमै गएर राजदूत र दूतावासका कर्मचारीले गर्नु भनेको अत्यन्तै लाजमर्दो विषय हो । यसको असर दूरगामी त हुन्छ नै राष्ट्रियतालाई पनि कमजोर र फितलो बनाउँछ ।

उद्यमी बिष्ट भन्छन्, ‘भारत र चीनको त सहयोग गर्ने होडबाजी नै चले जस्तो लाग्छ । भारत र चीन नेपालको हिमाली क्षेत्रमा आफ्नो पहुँच बढाउनका लागि सहयोगको गतिविधिलाई बढावा दिन चाहन्छन् ।’ फ्री तिब्बत गतिविधिमा पश्चिमा मुलुक कै लबेदा समातेकाले पनि भारत मुस्ताङमा सहयोगीको रूपमा आफ्नो प्रभुत्व जमाउँन खोजेको देखिन्छ । चीन, भारत र अमेरिका साथै अन्य पश्चिमा मुलुकको सामरिक स्वार्थका कारण उत्तरको ‘सांग्रिला मुस्ताङ’ चेपमा परेको छ । हुन त उनीहरूको सहयोग स्वार्थ बमोजिम सफल भएको त छैन् तर यो चिन्ताको विषय हो राजनीतिक मुद्धा नबन्नु । भावी दिनमा उनीहरूको स्वार्थ बमोजिम केही भइहाल्यो भने त्यसले देशलाई अवश्य नै घाटा हुनेछ ।

छिमेकीको उदार मनले गर्ने हरेक सहयोगलाई शंका गर्न नहुने तर्क पनि गर्न सकिन्छ तर चीनले आफ्नो सीमा जोडिएको क्षेत्र भनेर रवाफ देखाउनु र भारत पनि हेपाहा प्रवृत्ति देखाउँदै हिमालपारिसम्म पुग्नुले समस्त नेपालको भूराजनीति हाम्रो आफ्नै हातमा छैन भन्ने सन्देश दिन्छ । सिमाना, जनसंख्या, नाका र क्षेत्रफलका हिसाबले मुस्ताङमा देखिएको त्रिकोणात्मक सहयोगलाई सामान्य सौहाद्रता र हार्दिकता मात्रै मान्न सकिदैन । नेपाललाई ‘दुई ढुङ्गाबिचको तरुल’ भन्ने पृथ्वीनारायण शाहको उक्ति परिवर्तन गरेर ‘दुई तरुलविचको ढुङ्गा’ सोच्ने राजनीतिक नेतृत्वको होशियारी आवश्यक देखिएको छ ।

भनिन्छ थाहा पाउनु पीडा हो, सहयोगका नाममा भैरहेका चलखेल थाहा पाएर पनि थाहा नपाए जस्तो गरिरहेका छन् राजनीतिक दलहरू । हो मुलुक गरिब छ, अर्थतन्त्र सानो छ, वैदेशिक व्यापार घाटामा छ, विकासोन्मुख छ, यो ग्राफ हेर्दा जरुर विदेशी सहयोग चाहिन्छ । तर त्यो सहयोग केन्द्रीय वा प्रदेश सरकार मार्फत् नभई वडा स्तरमै गएर राजदूत र दूतावासका कर्मचारीले गर्नु भनेको अत्यन्तै लाजमर्दो विषय हो । यसको असर दूरगामी त हुन्छ नै राष्ट्रियतालाई पनि कमजोर र फितलो बनाउँछ । सवाल मुस्ताङको मात्रै होइन देशको हरेक साँध सिमानामा समस्या र सास्तीका चाङ छन् । मुस्ताङप्रतिको सहयोग स्वार्थ केन्द्रित छ यो नेपथ्यमा रचिदै गरेको खतरनाक खेल हो । ठाडो हस्तक्षेपमा भइरहेको सीमा मिचाई भन्दा ‘मन्द विष’ हजारौं गुणा खतरनाक हुन्छ । समय मै चेतना भया ।

कमेन्ट्स
Loading...