सुचना, समाचार र मनोरन्जन

जो रेडियो सुनेर गीतकार भए

  •  
  •  
  •  
  •  

सन्तोष बस्याल
पोखरा ।

रेडियो नेपाल सुनेरै सिर्जनामा लागे उनी । सांगीतिक क्षेत्रमा उनको प्रेरणाको स्रोत रेडियो नेपालनै रहयो भन्दा फरक नपर्ला । उसो त रेडियोे नेपाल सुनेरै सिर्जनामा लाग्ने कलाकारहरु थुप्रै छन् । त्यसमा केही चर्चामा छन् त केही छाँयामा । तर गीत सँगीतमा लाग्ने कतिपय कलाकारहरुको पहिलो पाठशालानै रेडियो नेपाल भएका कथा हामी सुन्न सक्छौं ।

साविक बागलुङ जिल्लाको तित्याब गाविस, अहिलेको बागलुङ नगरपालिका वडा नं ९ का स्थायी बासिन्दा सुमन श्रापित रेडियोमा बज्ने गीत सुनेर रहरै रहरमा कलाकारितामा लागे ।

वि.सं २०३३ साल जेठ २ गते श्रापितको भारतको सिलोबमा जन्म भयो । लाउरेका छोरा श्रापितलाई पनि परिवारबाट लाउरे बन्न दबाद थियो । तर उनले परिवारको सुनेनन । आफ्नै बाटो समाउन थाले ।

बुबा भक्तबहादुर सुनार र आमा बालकुमारी सुनारका सुपुत्र सुमनका बुबा भने परलोक भएको केही वर्ष भयो ।

सुमन आज जुन ठाउँमा छन्, त्यो सबेै संगीतले दिएको परिचय हो । गायक बन्ने सपना बोकेका सुमन गीतकार भए । उनले दुई सय भन्दा बढी गीत रेकर्ड गराएका छन् । पोखराबाटै संगीतकर्ममा निरन्तरता दिइने गीतकार मध्य पर्छन श्रापित ।

६ वर्षको उमेरसम्म भारतको सिलोबमा बिताएका सुमनको त्यसपछिको समय बागलुङमा बित्यो । बाल्यकालमा उनी डर त्रासको सामाजिक परिवेशमा हुर्किए । सानैदेखि श्रापित सरल स्वभावका हुन् ।

तत्कालिन समयमा गाउँमा ३० घरको समुदाय थियो । आफ्नो समुदायमा पहिलो पटक एस.एल.सी पास गर्ने सुमन नै हुन् ।

बुवा इण्डियन आर्मी । उनको घरमा मात्रै रेडियो थियो । रेडियो सुन्न गाउँलेहरुको घरमा भीडभाड लाग्थ्यो । गाउँका सबैजसो रेडियो सुन्न उनको घर पुग्ने गर्थे । त्यही बिचमा हुन्थे सुमन । त्यसपछि घाँसदाउरा गर्दा होस् या खेतबारी जोत्दा उनीसँग रेडियो साथमा हुन्थ्यो । रेडियोमा आउने गीतसँगीत र साहित्यप्रदक कार्यक्रममा नछुटाई सुन्ने गर्थे । उनलाई पनि आफ्ना सिर्जनालाई रेडियो सुनाउन मन लाग्थ्यो । घरबाट लुकीलुकी पत्र मार्फत त्यस्ता कार्यक्रममा सहभागिता जनाउने गर्थे । जुन रुचीले उनलाई सिर्जनामा लाग्न प्रेरित गर्यो । रेडियोप्रति उनको एक किसिमको प्रेम थियो भन्दा फरक नपर्ला ।

सुमनको औपचारिक शिक्षा बागलुङकै तित्याब नि.मा.वि.बाट सुरु भयो । पढाईमा रुची भएपनि उनी प्रथम द्वितीय भने हुन सकेनन् । अरुभन्दा अब्बल चाहिँ थिए । कक्षा ८ पछिको अध्ययन उनको सिगांना माध्यमिक विद्यालयमा भयो । औषत विद्यार्थीको रुपमा उनले स्कुले जीवन पार गरे ।

विद्यालयमा छिटफुट केही कार्यक्रम भएपनि त्यति धेरै क्रियाकलाप हुन्थेन । जति हुन्थ्यो सुमनको सहभागिता निरन्तर थियो । २०५१ सालमा सिगांना माध्यामिक विद्यालयबाटै एस.एल.सी पास गरेका सुमनले त्यसपछि बागलु्ङ बजारको महेन्द्र बहुमुखी क्याम्पसमा आइ. ए. सम्मको अध्ययन गरे ।

आइ.ए. पास गरेपछि सुमन आफ्नो दाई भएको ठाउँ भारतको चेन्नाई पुगे । आइ.ए.को अध्ययन पश्चातको खाली समयमा गएका सुमन २ वर्ष उतै भुले । त्यसपछि भारतबाट फर्किएर बागलुङमै उनले बोर्डिङ स्कुल पढाए ।

सुमनको पढाई सँगै गीत सँगीतलाई अगाडि बढाउन चाहा थियो । गीतसँगीतमै केही गर्ने उद्देश्यले उनी २०५७ सालमा पोखरा भित्रिए । स्नातक अध्ययनका लागि उनी पृथ्वीनारायण क्याम्पस भर्ना भए । पन्थी गल्लीमा एउटा फ्रेस हाउस पनि संचालनमा ल्याएका थिए । बिहान क्याम्पस, दिउँसो फ्रेस हाउस यसरी नै उनको दैनिकी चलिरहेको थियो । तर सुमन यतिमा मात्र सिमित हुन चाहन्नथे । खासमा उनी एक सपना बोकेर शहर छिरेका थिए । सपना थियो गीतको एल्बम निकाल्ने । त्यसका लागि पैसा जुटाउन थाले । तर जनयुद्दको समय भएकाले उनको सपना छिट्टै पुरा हुन पाएन । सबै क्षेत्रमा जनयुद्धले असर पुर्याएको थियो । हत्या भएका खबर दिन प्रतिदिन सुन्नपथ्र्यो । शुरु गरेको व्यवसायबाट पनि दुई चार पैसा आम्दानी हुँदैथ्यो । जनयुद्धका समय उक्त व्यवसायमा पनि सुमनले छाड्नुपर्यो ।

जीवनको आरोह अवरोहमा आफुलाई अब्बल ठहराउँदै आएका सुमन पत्रकारिता पेशामा समेत आबद्ध भए । बागलुङको धौलागिरी पत्रिकामा संवाददाताको रुपमा जागिर खाए । पत्रकारितालाई पेशा र संगीतलाई हबी बनाउँदै उनको यहाँसम्मको यात्रा तय भएको हो ।

मध्यमवर्गीय परिवारमा हुर्किएका सुमन परिवारको सहयोगलेनै आफुलाई यो स्थान मिलेको बताउँछन् । भन्छन्, “आर्थिक अवस्था कमजोर भएर दुई छाक टार्न मुस्किल हुने धेरै आफन्तीलाई भेटेको छु । हाम्रो परिवारले त्यो भोग्नु परेन ।”

सुमनको सिर्जनालाई माथि उकास्ने काम संगीतकार बीबी अनुरागीले गरे । चर्चित संगीतकार अनुरागीको पनि सुरुवाती साँगीतिक संघर्षको क्षेत्र हो पोखरा । अनुरागीसँग सुमनको नङमासुको जस्तो सम्बन्ध बन्न पुग्यो । बीबी अनुरागी पोखराको केही समयको बसाई पछि काठमाडौं हाँक्किए । त्यसपछि अनुरागीले प्राप्त गर्ने हरेक एल्बममा सुमनका गीतले ठाउँ पाउन थाले ।

विस्तारै साँगीतिक क्षेत्रमा गीतकार सुमन श्रापित भनेर चिन्न थाले । उनका सिर्जनाले पनि रेडियोमा ठाउँ पाउन थाल्यो । हिजो रेडियो नेपाल सुन्दा आफैले गीत रोज्ने गर्थे । आज सुमन श्रापित कै गीतलाई स्रोताले सुन्न थालेका छन् । यसलाई सुमन समयको परिवर्तन भन्छन् । “अठोट र निरन्तर मिहिनतको प्रतिफलका कारण नै आज म यहाँ छु, यसमा प्रिय मित्र संगीतकार बीबी अनुरागीको ठूलो हात छ”, उनले भने ।

सुमनले २०५८ सालमा पहिलो पटक ‘पूर्णिमाको रात…’ सार्वजनिक गरे । एल्बम निकाल्ने उनको धोको पुरा भयो । बीबी अनुरागीका प्रिय गीतकार मध्येका एक गीतकार हुन् सुमन श्रापित । सुमनलाई गाीतकारको रुपमा स्थापित गर्नुमा बीबीको नाम नजोड्ने हो भने सुमनको संगीत यात्राको कथा अपुरो हुन्छ । नुन नहालेको तरकारी जस्तो फिक्का ।

सुमनका ‘पूर्णिमाको रात…’, ‘मेरो धडकन तिमी मेरो प्राण तिमी…’,‘जस्लाई मुटुको अंश ठानेको थिए…’ लगायतका गीत चर्चामा छन् । यिनै गीतले उनलाई गीतकारको रुपमा चिनाए ।

सुमनले लोकदोहोरी, भजनसँगै चलचित्रमा समेत गीत लेखेका छन् । परदेशी, निशानी, दृष्टिकोण, जीवनलीला लगायतका चलचित्रका गीतमा उनको शब्दलाई सुन्न पाइन्छ ।

बी.बी. अनुरागी संगीत घराना काठमाडौं अध्यक्ष, अन्तराष्ट्रिय नेपाली गीतसंगीत मञ्च महासचिव, डागर स्मृति प्रतिष्ठान सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज, सप्तरंगी सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थामा आबद्ध भएका सुमन हालसम्म दर्जनौं बढी पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

अजरअमर सिर्जनामा कमी आइरहेको सुमन पाउँछन् । गीतसंगीतको क्षेत्र फराकिलो भएता पनि सिर्जनामा भने साँघुरो हुँदै गएको तर्क उनको छ । चर्चाको हुटहुटीमा लाग्दा राम्रा गीतले ठाउँ पाउन मुस्किल भएको श्रापित बताउँछन् । क्षणिक गीतले सँगीत क्षेत्रनै धरापमा पारेको उनी सुनाउँछन् ।

सुमनका अनुसार गीतकारको पारिश्रमिकलाई समेत ख्याल गरिनुपर्छ । संगीतकार र गायकलाई पारिश्रमिक दिन सक्नेले गीतलाई समेत उचित पारिश्रमिक दिनुपर्ने उनको माग छ । सिर्जना गर्नु आफैमा गाह्रो काम भएको उनी बताउँछन् । भन्छन्, “सिर्जनाको उचित मूल्य नपाउँदा राम्रा गीतकारहरु विलिन हुनुपर्ने अवस्था छ ।’ यसतर्फ संगीत सम्बन्धी विभिन्न संघसंस्थाहरुको ध्यान पुग्नुपर्ने उनी बताउँछन् ।

गीत लेखेकै भरमा आफु र परिवार बाच्न सक्ने आधार तय भए सिर्जनामा कमी नआउने उनको बुझाई छ । बुझेर मात्रै साँगीतिक क्षेत्रमा लाग्न सुमन अनुजलाई सल्लाह दिन्छन् ।

कमेन्ट्स
Loading...