सुचना, समाचार र मनोरन्जन

सामाजिक, राजनीतिक एवं सांगीतिक क्षेत्रमा सक्रिय सुरेन्द्रको आरोह अवरोह

सन्तोष बस्याल
पोखरा / 

सुरेन्द्र गुरुङ भारतको कोलकोत्तामा जन्मिए । गण्डकी प्रदेशको रमणीय पर्यटकिय स्थल बिरेठाँटीका सुरेन्द्रको बाल्यकालको धेरै समय भारतमै बित्यो । बुबा मेखबहादुर गुरुङ र आमा चेलीमाया गुरुङका कान्छा सुपुत्र सुरेन्द्रको जन्म वि.सं २०४६ मंसिर ४ गते भयो । उनका दुई दाई र एक दिदी छन् ।

सानैदेखि उनी सामाजिक, साँगीतिक क्षेत्रमा घुलमिल भए । बाल्यकाल भारतमा बितेकाले नेपालको बारेमा ज्ञान उनलाई पछि मात्रै भयो । जब उनको परिवार २०६० सालमा नेपाल फर्कियो । त्यतिबेला सुरेन्द्र १४ वर्षका हुँदा हुन् ।

नेपाल फर्किएलगतै बिरेठाँटी माध्यमिक विद्यालयबाट उनको सामाजिक, साँगीतिक सँगै शैक्षिक जीवनस्तरको सुरुवात भयो । गाउँमा त्यतिबेला लाउरे आउँदा ‘लाउरे झार्ने’ (कोही व्यक्ति विदेशबाट आएबापत पैसा उठाउने ) चलन थियो । बेलुकाको समयमा सुरेन्द्र पनि कल्बका साथीभाईहरुसँगै लाउरे झार्न पुग्थे ।

विद्यालयमा दरबन्दी भन्दा निजी शिक्षकहरु धेरै भएकाले उनीहरुबाट शिक्षा हासिल गर्न विद्यार्थीले श्रमदान गर्थे । बिरेठाँटी पर्यटकिय स्थल । होटल लजहरुमा आएका पाउनालाई खुशी पार्न सुरेन्द्र सहित उनको टोली साँस्कृतिक कार्यक्रमका लागि पुग्ने गथ्र्यो । त्यहाँबाट उपलब्ध भएको रकमबाट उनीहरुले शिक्षकलाई तलब खुवाउँथे ।

विद्यालयमा हरेक शुक्रबार हुने सदनात्मक अतिरिक्त कार्यक्रममा समेत सुरेन्द्रको सहभागिता रहन्थ्यो । यस अलवा गाउँका आमा समुहहरु रोधी बस्दा समेत उनले साथ दिन्थे ।

सुरेन्द्र महात्मा गान्धी र मदर टेरेसाका प्रशंसक हुन् । उनीहरुकै विचारलाई अध्ययन गर्दै सामाजिक र राजनीतिक क्षेत्रमा प्रवेश गरे । भारत छँदा मदर टेरेसाका थुप्रै कार्यक्रममा उनको सहभागिता रह्यो ।

परिवारलाई छोरो आर्मी बनाउने ठूलो इच्छा । कारण उनका बुवा इण्डियन आर्मी । आर्मीस्कुलमै पढे । पछि आमाका कारण उनी नेपाल फर्किए । झण्डै आर्मी बनेका सुरेन्द्र कलाकारितामा भिजे ।

सुरेन्द्र कक्षामा समेत मोनिटर थिए । एउटा लिडरमा हुनुपर्ने गुण उनको अहिलेको मात्रै नभई सानैदेखिको हो । विद्यालयमा भएका अतिरिक्त कार्यक्रममा समेत लोकदोहोरी गाएबापत थुप्रै पुरस्कार उनले थापेका छन् ।

 

विभिन्न प्रतियोगितामा सहभागिता

त्यतिबेला स्रोतकेन्द्रिय स्तरिय, अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा रहेका विद्यालयहरुबिच हुने विद्यालय स्तरिय दोहोरीगीत प्रतियोगितामा सुरेन्द्रको समुह प्रथम, द्धितिय हुन्थ्यो । दशैंका बेलामा गाउँमा क्लबले आयोजना गर्ने भलिबल प्रतियोगिता सँगै दोहोरी गीत प्रतियोगितामा सहभागिता जनाउँदै उनको साँगीतिक यात्राले लय लियो ।

गाउँको मेलापातमा हुरी लगाउने चलन थियो । सबै मिलेर खेतीपाती काम सँगै गीत गाउने गर्थे । त्यसमा उनको सहभागिता रहन्थ्यो । यसरी उनी कलाकार बन्न पुगे । अहिले उनी लोकदोहोरी कलाकारहरुको संस्था लोकदोहोरी प्रतिष्ठान नेपाल गण्डकी प्रदेशका अध्यक्ष हुन् । प्रदेशका ९ वटा जिल्ला भित्र रहेका कलाकारको नेतृत्वदायी भूमिकामा उनी पुगेका छन् ।

 

सामाजिक सेवामा सक्रियता

सामाजिक सेवामा समेत उनको सक्रियता पाइन्छ । नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका उनी कोषाध्यक्ष हुन् । विद्यालयमा जुनियर सर्कल रेडक्रस र ग्रीन फोर्स क्लबको अध्यक्ष हुँदै २०६२ सालमा उनी रेडक्रस दाङसिङ घान्द्रुक उपशाखाको सभापती बने । त्यतिबेला उनी कक्षा ९ पढथे ।

उनी निर्वाचन हुन साथ २०६३ सालमा दाङसिङको न्यौपाने गाउँमा ठूलो पहिरो गयो । ३१ जनाले ज्यान गुमाए । विपत पर्दा सहयोग गर्ने संस्थाको पदिय जिम्मेबारीमा सुरेन्द्र थिए । पहिरोमा उनको टोली खटियो । त्यसपछि सुरेन्द्रको नेतृत्व क्षमताको गुनगान हुन थाल्यो । आज सुरेन्द्र पोखराका एक दर्जन बढी संस्थाको कुनै न कुनै पदीय जिम्मेबारीमा छन् ।

एक पछि अर्को छलाङ मार्दै रेडक्रस कास्कीको कोषाध्यक्ष पदमा उनी निर्वाचित भए ।

 

राजनीतिको शुरुवात

गायन, सामाजिक क्षेत्रसँगै सुरेन्द्रको अर्को परिचय हो राजनीति । उनी नेकपा एमालेमा आबद्ध छन् । त्यतिबेला राजनीतिमा लागे जतिबेला जनआन्दोलनको समय थियो । गाउँका धेरै युवाहरु विदेश थिए । थोरै भएकालाई माओवादीले उठाउँथ्यो । सुरेन्द्र कहिले बाख्राको खोरमा कहिले भैँसी गोठमा लुक्थे ।

कम्युनिष्ट विचारधाराबाट प्रभावित बनेका सुरेन्द्रको रोजाइमा एमाले पार्टी पर्यो । ०६२ र ०६३ को जनआन्दोलनमा समेत उनको सक्रिय सहभागिता रहयो । २०६४ सालमा उनी पृथ्वीनारायण क्याम्पस भर्ना भए । नेपाली राजनीतिको क्षेत्रमा पृथ्वीनारायण क्याम्पसको महत्वपूर्ण भूमिका छ । उनी आदीवासी जनजाती विद्यार्थी महासंघको सदस्य, सचिव, उपाध्यक्ष हुँदै अध्यक्ष बने ।

जनजाती विद्यार्थीले गरेका हरेक आन्दोलनमा उनको सक्रिय सहभागिता रहयो । विद्यार्थीका हक, अधिकार देखि छात्रावृद्धिका कुरामा उनले जोडदार आवाज उठाए । त्यतिबेला उनी क्याम्पसको अनेरास्ववियूको प्रारम्भिक कमिटीमा समेत आबद्ध थिए । उनको राजनीतिको सुरुवाती समेत विद्यालयबाट भयो । विद्यालयमा अनेरास्ववियूको अध्यक्ष भएर काम गरेको अनुभव उनमा थियो । दाङसिङ, घान्द्रुक, लुम्ले र सल्यानको इलाका कमिटीका अध्यक्ष समेत बनेका सुरेन्द्र क्षेत्रिय कमिटिको सह—संयोजक, कोषाध्यक्ष हुँदै अध्यक्ष बने । त्यसपछि अनेरास्ववियू कास्कीको जिल्ला सदस्य हुँदै दुई कार्यकाल कोषाध्यक्ष पदमा रहेर समेत उनले काम गरे ।

२०६५ सालको स्ववियू निर्वाचनमा अनेरास्ववियूको तर्फबाट अत्याधिक बहुमतका साथ सुरेन्द्र सदस्यमा निर्वाचित भए । त्यसपछि पृथ्वीनारायण क्याम्पसमा हालसम्म स्ववियू निर्वाचन हुन सकिरहेको छैन ।

उनी नेकपा एमालेको तत्कालिन क्षेत्र नं ४ को सदस्य समेत भए । राजनीतिमा समेत एक पछि अर्को फड्को मारेका सुरेन्द्रले दोस्रो संविधान सभाको निर्वाचनमा कमान्डर भएरै खटिने मौका पाए ।

“दुईटा डुंगामा खुट्टा हाल्दा डुंगा डुब्न सक्छ”, तर सुरेन्द्रले तिनवटा डुंगामा खुट्टा हाले । अहिले सम्म तैरिरहेका छन् ।

 

दोहोरी गीत प्रतिष्ठानमा सक्रियता
सुरेन्द्र कलाकारिता क्षेत्रमा पनि एक्कासी माथि आएका होइनन । जसरी सामाजिक र राजनीति क्षेत्रमा उनको संघर्ष रहयो त्यसरीनै कलाकारिता क्षेत्रमा समेत संस्थागत तवरले संघर्ष गरे । दोहोरी प्रतियोगितामा सहभागी बन्दै २०६६ सालमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको तत्कालिन गण्डकी अञ्चल कार्यसमितिको सदस्यमा उनलाई चयन गरियो । अध्यक्ष चोलेन्द्र पौडेलको कार्यसमितिले उनलाई मनोनयन गरेको हो ।

सुरेन्द्र प्रतिष्ठानमा जोडिएसँगै कलाकार समाजसँग पनि जोडिनुपर्छ भन्ने मान्यताअनुसार रक्तदान कार्यक्रमको सुरुवात हुन थाल्यो । जुन आजसम्म पनि निरन्तर छ । त्यसपछि प्रतिष्ठानमा सह—सचिव, सचिव, कोषाध्यक्ष हुँदै अहिले गण्डकी प्रदेशको अध्यक्षमा पदमा छन् ।

“लोकदोहोरी क्षेत्र व्यवसायिक बनेको छ”

पहिला कलाकार कम हुन्थे । मिडिया कम थियो । विकृति विसँगतीको नामै सुनिन्थेन । अहिले मिडियाको पहुँच सँगै कलाकारहरुको विगविगी छ । विकृति विसँगतीले सिमा नागेको सुरेन्द्र बताउँछन् । भन्छन्, ‘हिजो दिनभरी गीत गाएर पैसा पाउन मुस्किल हुन्थ्यो । आज केही भए पनि कलाकारले पाएका छन् । मेलामहोत्सव हुदैन्थ्यो । कल्बले आयोजना गर्ने वार्षिक उत्सव कार्यक्रम र विवाहव्रतबन्धमा गाएर पेट पाल्नुपर्ने अवस्था थियो । अहिले त्यस्तो छैन । एउटा गीत गाएबापतको पारिश्रमिक पाउन थालेका छन् । लोकदोहोरी क्षेत्र व्यवसायिक बनेको छ ।’

तर कोरोना महामारीका कारण यस क्षेत्रमा पनि धेरै समस्या रहेको उनी बताउँछन् । भन्छन्,“सरकारले सबै क्षेत्रलाई सोच्यो तर कलाकारितालाई सोच्न सकेन । गर्छु भनेर मात्र हुँदैन ठोस रुपमा गर्नुपर्ने आवश्यकता छ ।” अहिले त सुरेन्द्र गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा नियुक्त भएका छन् । उनको कर्तव्यक्षेत्र अझै बढेको छ । सिङ्गो प्रदेशको सांस्कृतिक संरक्षणको नेतृत्वदायी भूमिकामा उनी छन् ।

 

सुरेन्द्रको औपचारिक सांगीतिक यात्रा

सुरेन्द्रका हालसम्म १५ वटा गीत रेकर्ड भएका छन् । बाल गीत गाएर औपचारिक साँगीतिक यात्रा सुरुवात गरेका सुरेन्द्रका ‘हुरी बतास…’,‘मायाको भोको छु(पण्चे बाजा)…’ ‘तिम्रै छ तिर्सना…’, ‘रुवाउनु रुवायौ साइलो दाई…’, ‘बोली हजुरको…’ लगायतका लोकदोहोरी भाकालाई रुचाइएको छ ।

परिवारको पूर्ण सहयोगलेनै आफु यहाँसम्म आएको उनी बताउँछन् । भन्छन्, ‘परिवारको सहयोग हुन्थेन भने यो ठाउँमा आज म हुन्थिन ।’

तिनवटै क्षेत्रमा सक्रिय हुने वातावरण उनलाई परिवारबाट मिल्यो । सुरेन्द्रको हातमा अक्सर डायरी टुट्दैन । उनी कार्यक्रममा सेड्युल बनाएर हिड्छन् । अहिलेका धेरै युवाहरुलाई सुरेन्द्र प्रेरणा बन्न सक्छन् । युवाअवस्थामै सबै क्षेत्रमा एक पछि अर्को छलाङ मार्नु चानचुने कुरो होइन ।

गुरुङ समुदायमा जन्म लिए पनि क्षेत्री ब्राह्मण समुदायमा उनी हुर्किए । साथी सर्कल पनि उनको त्यस्तै भयो । जहाँबाट उनलाई केही सिक्ने अवसर मिल्यो ।

सुरेन्द्र युवा व्यवसायी पनि हुन् । पोखरा पार्दी बिरौटामा उनको अन्नपूर्ण रेष्टुरेन्ट एण्ड लण्च बार र अन्नपूर्ण सपीङ सेन्टर छ । बिहान र दिउँसो समय उनले संस्थागत कामलाई छुट्याउँछन् । साँझ उनलाई रेष्टुरेन्टमा भेट्न सक्छौ । यसरी उनको दैनिकी चलिरहेको छ ।

 

अहिलेसम्म प्राप्त गरेको सम्मान तथा पुरस्कार

सुरेन्द्रले २०६४ सालमा राष्ट्रिय बाल प्रतिभा पुरस्कार प्राप्त गरे । ०६६ सालमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मार्फत उनी वातावरण सदभावना दुत भए । त्यतिबेला पर्यटन मन्त्री शरदसिंह भण्डारी थिए । यसका अलवा दोहोरी गीत प्रतिष्ठानबाट चोलेन्द्र पौडेल, जिवन दाहाल, शंकरविरही गुरुङ अध्यक्ष हुँदा निरन्तर उनले उत्कृष्ट काम गरे बापतको सम्मान पाएका छन् । प्रतिष्ठान केन्द्रबाट समेत उनी सम्मानित भएका छन् । रेडक्रस केन्द्र र कास्कीजिल्ला बाट समेत उनले सम्मान पाएका छन् । कला क्षेत्रमा योगदान पुर्याएबापत कास्कीका दुई दर्जन भन्दा बढी विभिन्न संघसंस्थाबाट उनी सम्मानित भएका छन् ।

“क्लाकारितामा देखिएको अनियमितताका विरुद्ध खरो उत्रनेछु” 

सुरेन्द्र नेपालमा हुने मेलामहोत्सव र कलाकार एकअर्काका परिपुरक भएको बताउँछन् । पछिल्लो समयमा मेलामहोत्सवमा भएको ठेक्कापट्टालाई उनी कलाकार संयोजनको परिभाषा दिन्छन् । शब्दचयनमा ध्यान दिइ कलाकार सभ्य हुन सके समाज सभ्य बन्ने उनको धारणा छ ।

क्लाकारितामा देखिएको अनियमितताका विरुद्ध अहिले उनी खरो उत्रिएका छन् । प्रतिष्ठान गण्डकीको अधिवेशनताका उनले आफ्नो घोषणा पत्रमै मेलामहोत्सवमा कलाकारितामा देखिएको अनियमितताका विरोधमा आवाज उठाउँछु भनेका थिए । त्यही अनुरुप उनी लागिरहेका छन् ।भन्छन्,“सबै एकैचोटी पुरा हुदैन । विस्तारै परिवर्तन गर्दै जाने हो । सफल अवस्य भइन्छ ।”

नव कलाकारलाई संगीत सिकेर आउन उनको सल्लाह छ । भन्छन्, ‘अहिले नव कलाकारहरु दोहोरी प्रतियोगितामा भाग लिन छाड्नुभएको छ । क्षणिक चर्चा कमाउने हुटहुटीमा लाग्नुभएको छ । बेसुरमा गीत गाएर संगीत क्षेत्र बद्नाम बनाउने केही कलाकार नेपालमा नभएको होइन । एउटा गीत रेकर्ड गराएको भरमा स्टेज पाउनुपर्छ भन्नु गलत हो ।”

मेलामहोत्सवमा कलाकार संयोजन गरिरहँदा आफुहरु आयोजकको नियममा बाँधिएर सबैलाई सम्झिने प्रयास गरिरहेको उनले बताए । सुरिला र संगीत साधक कलाकारलाई मेलामहोत्सवमा पहिलो प्राथमिकता रहनेमा विश्वस्त हुन उनको आग्रह छ ।

संस्थाको बारेमा सामाजिक सञ्जालमा भडास पोख्नुभन्दा संस्थाको गतिविधिमा सक्रिय रही सहयात्रा गर्न कलाकारलाई उनको अनुरोध छ । उनले कोरोनाका कारण असहज परिस्थितिबाट गुज्रिएका कलाकारका लागि राहतको व्यवस्थापन गर्न सहयोग अभियान समेत थालिएको जानकारी गराएका छन् ।

कमेन्ट्स
Loading...