सुचना, समाचार र मनोरन्जन

बेगनासकोट

कविता /

लमजुङ हिमाल
अन्नपूर्ण र माछापुच्छ्रे
नजिकै सम्वादमा
चिसो हावाको स्पर्श
कालिका र माझठानालाई
सुनाएर आफ्नो कुरा
कहिले मौन
कहिले सामान्य लवजमा
बोलाइरहन्छिन बेगनासकोट

आफैं आफ्नो नाम लेख्न असमर्थ
वृद्धभत्ता खाने आमाजस्ती
कता ल्याप्चे लगाउने हो सोच्दै
पर हुँदै गएका किशोर र युवा
हराउँदै गएको प्राकृतिक स्वरूप
चाउरिएको गालामा छुने
पहारिलो घाम
सन्तान पर्खदै गर्दै गन्थन
खै, किन दिन्छन् कोटमा बली ?
मन मनमा अझै धेरै प्रश्न गर्दै

Parichay

ऊ तल समथर भागमा
धान फल्ने खेत मासेर
किन बसाल्नु प¥यो बस्ती ?
किन छोडेर गएको होला पर
कता कता सन्तान हराएकोमा
दुःख मान्दै झन्डैझन्डै निर्जन बेगनासकोट

आफू कहाँ आइपुगेका
प्यारा सन्तानलाई
फर्कनै नसक्ने गरी
ममताले सुम्सुम्याउँदै
आफ्नो आरालो लाग्दो उमेर
घट्दै गरेको शक्ति
तथापि
चम्किलो दिव्य सौन्दर्य
महत्व बुझ्न
साङ्केतिक शैली प्रयोग गर्दै
रुपा र बेगनासताल
गुम्बा र सराङ्कोटको
खचाखच भीड हेर्दै
सुनसान एउटा सभ्यता
एउटा इतिहास
शान्त बस्तीको बीच उभिएकी
ममतामयी
सौन्र्दर्यकी खानी
इतिहासको शिक्षिका बेगनासकोट
केबल सन्तान भेट्न आउने आशामा
कहिले दिन लामो मान्दै
कहिले रातले कतिबेला बिहान जन्माउला भन्दै
कर्मयोगी पर्यटक अनि
पौरखी सन्तान सम्झदै
टोलाउदै अनि आँखा बिच्छ्याउदै बाटोमा
प्यारी धरती बेगनासकोट

–तेजविलास अधिकारी
काठमाडौं

Comments
Loading...