काठमाडौ । । कास्की प्रहरीले ठगी गरेको अभियोगमा एक जना महिलालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पीडित जाहेरवालाको छोरालाई जर्मन पठाइदिन्छु भन्दै ठगी गरेका आरोपमा जिल्ला कास्की लेखनाथ न.पा.वडा नं.१३ स्थाई घर बताउने ३७ वर्षिय डा.क्रिष्टिना गुरुङ भन्ने कान्ती राना (गुरुङ) लाई पक्राउ गरेको हो । उनले रू.१४,००,०००।– (अक्षरेपी चौध लाख) रुपैयाँ ठगी गरेको कसूरमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलालाई घटनाको सम्बन्धमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–२१ अन्तर्गत दफा २४९ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत काठमाडौ जिल्ला अदालतबाट दिन–५ को म्याद थप गरि अनुसन्धान थालेको प्रहरीको भनाई छ ।
प्रहरीले आरोपित महिलाको वाफल स्थित डेराकोठाबाट विभिन्न व्यक्तिहरुका थान– २१ राहदानी,नाता प्रमाणित प्रमाण–पत्र, अविवाहित प्रमाण–पत्र, प्रहरी चारित्रिक प्रमाणपत्रहरु समेत बरामद भएको जनाएको छ । प्रहरीका अनुसार हालसम्म निजबाट ठगिएका ३६ जना व्यक्तिहरू सम्पर्कमा आएका र प्रारम्भिक अनुसन्धानका क्रममा निजले प्रलोभनमा पारी झुक्याई विदेश पठाई दिन्छु भनी बिभिन्न व्यक्तिहरुबाट अं. २ करोड ३१ लाख रुपैँया लिई ठगी गरेको भन्ने जानकारी प्राप्त हुन आएकोले निजहरुबाटसमेत जाहेरी दरखास्त लिने लगायतका कार्य भई रहेको छ ।

घटनामा अन्य ब्यक्तिहरुको समेत संलग्नता रहेको र प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भई रहेको बताइएको छ । प्रहरीले निजबाट ठगिएका अन्य ब्यक्तिहरु हुनुहुन्छ भने महानगरीय प्रहरी बृत्त स्वयम्भूमा जाहेरी दर्ता गराउन हुनसमेत अनुरोध गरिएको जनाएको छ ।