सुचना, समाचार र मनोरन्जन
safal cup

दोहोरी साँझबाट उदाएकी तुलसा

सन्तोष बस्याल
पोखरा / 

कास्की लाहाचोकमा जन्मे पनि लोकदोहोरी गायिका तुलसा जिसीको बाल्यकाल घाहाचोकमा बित्यो । सानै उमेरदेखि घाँसदाउरा, मेलापात गर्दै हुर्केकी जिसीलाई संगीतमा लगाव उही बेला देखिनै थियो । तर परिवारका कारण रहर पुरा गर्न पाएकी थिइनन् । तत्कालिन समयमा गाउँघरमा केटीमान्छेले गाउने गरेको त्यति साह्रै मन पराउन्नथे । कोही कसैको बिहेको रत्यौलीमा जाँदा समेत नराम्रो नजरले हेर्ने चलन थियो ।

दिदी पार्वती जिसी पहिल्यैदेखि नै यही क्षेत्रमा भएकाले बुवाको चाहना अर्की छोरी पनि सोही क्षेत्रमा नगईदिए हुन्थ्यो भन्ने थियो । मनलाई बुझाउन सकिनन् र उनी पनि लोकदोहोरी क्षेत्रमै होमिन पुगिन् । जिसी विद्यालय पढ्दादेखिनै गाउने गर्थिन् । एक्यापका समसामायिक मुलक गीतहरुमा गाउन उनलाई डाक्ने गरिन्थ्यो । गाउने भनेपछि हुर्कुक्कै हुने जिसी फुरुङ हुँदै भाका हाल्न पुग्थिन् । माइक समातेर अरुलाई आफ्ना गीत सुनाउँदा भविष्यको परिकल्पना गर्थिन् । जुन हाल आएर पुरा भएको आभाष गर्छिन् उनी ।

तत्कालिन समयमा रेडियो नेपालमा निकै मिठामिठा लोकदोहोरी गीत बज्थे । गाउँका खेतबारीमा काम गर्दा होस् वा बनपाखामा घाँसदाउरा गर्दा रेडियोबाटै सुनेका गीत गुनगुनाउँदै जिसी कलाकारिता क्षेत्रमा आएकी हुन् ।

दोहोरी साँझले नै गायिका बनायो

नेपालका अक्सर लोकदोहोरी कलाकारको पाठशाला दोहोरी साँझ हो । तुलसा जिसीको पाठशाला पनि दोहोरी साँझ नै बन्यो । दिदी पार्वती जिसी पहिले देखिनै उक्त क्षेत्रमा आबद्ध भएकाले उनलाई सहज भयो । पार्वती नै तुलसाको प्रेरणाको स्रोत भन्दा फरक नपर्ला । तुलसा पोखराको सिर्जनाचोकमा रहेको बिसौनी दोहोरी साँझमा आबद्ध भइन् । शुरुमा त दोहोरी गाउन डराइन् । पछि विस्तारै बानी पर्दै गयो । त्यसपछि जस्तो सुकै कलाकारसँग पनि दोहोरीमा संवाद गर्न सक्ने भइन् । फर्केर हेर्नुपरेन । दोहोरी साँझ नै उनको गरी खाने भाँडो बन्यो । हाल पनि उनी दोहोरी साँझमै आबद्ध छिन् ।

औपचारिक सांगीतिक शुरुवात

तुलसा जिसीले २०६८ सालबाट आफ्नो औपचारिक सांगीतिक शुरुवात गरिन् । दिदी पार्वती जिसीसँगै पशुपती शर्माको लय शब्दमा रहेको ‘वैंश जोवान..’ बाट उनको पर्दा उघारियो । स्टुडियोको बारेमा त्यति थाहा थिएन । डर असाध्यै लाग्थ्यो । तर पनि मनमा एक किसिमको गाउने चाहना थियो । सोही चाहना बमोजिम नै तुलसाले गीत रेकर्ड गराएकी थिइन् । जसले सफलता पायो । हरेकको मुखमा उक्त गीत झुण्डिन थालेपछि तुलसामा आशा पलायो । त्यसपछि उनले दिदीको स्वरको साहारा समेत लिइनन् ।

Parichay

पहिलो पटक स्टुडियोमा गाएको अनुभव सुनाउँदै तुलसा भन्छिन्,“ एक्लै गाउन सकिरहेको थिइन् । दिदीको सहयोग लिनुपरेको थियो । त्यसपछि गीतले एक खालको सफलता प्राप्त गरेपछि आँट आयो । एक्लै रेकर्डिङ गर्न थाले ।”

तुलसालाई सबैभन्दा गाह्रो गाउने पेसा लाग्छ । भन्दा सजिलो भएता पनि गाउन जति अफ्ठयारो पेसा केही नभएको उनको बुझाई छ ।

वैंश जोबान पछि तुलसाले रामजी पौडेलको लयशब्दमा ‘कस्तो होला बोली..’ रेकर्ड गराइन् । जसमा पुरुषमा पौडेलले नै साथ दिएका थिए । सोही गीतले समेत सफलता पायो । पोखरा लगायत देशका अधिकांश जिल्लाका मेलामहोत्सवमा तुलसालाई सम्झिन थालियो । स्टेजमा उनले सो गीत प्रस्तुत गर्दा दर्शकले समेत गाएर साथ दिएका उदाहरण धेरै छन् ।

‘हेराउन जाम हिँड…’, ‘के मा बस्यो…’ लगायत दुई दर्जनभन्दा बढी गीत सार्वजनिक गरेकी जिसीले पछिल्लो समय चलचित्र क्षेत्रमा समेत अभिनय गरिसकेकी छिन् । ‘अग्नीदहन’, ‘क्या बात छ’, ‘यस्तो पो वडाध्यक्ष’ उनले अभिनय गरेका चलचित्र हुन् । तीनै चलचित्रमा उनको मूख्य भूमिका रहेको छ ।

जिसी विवाहित हुन् । उनकी एक छोरी छिन् । छोरीलाई समेत मोडलिङ मन पर्छ । टीकटकमा व्यस्त देखिन्छन् । केही गीतमा समेत अभिनय गरेको पाइन्छ । तुलसा भन्छिन्,‘ यो छोरीको रहर हो । पढ्दै पनि छ । मोडलिङमै भविष्य उसले देखेकी छैन । छोरीको इच्छा अनुसार नै उसलाई अगाडि बढाउने चाहना मेरो हो ।’

ट्रेण्डिङ भन्दा लोकप्रियतामा विश्वास

तुलसा जिसी युट्युब ट्रेण्डिङ भन्दा लोकप्रियतामा विश्वास गर्छिन् । टे«ण्डिङ पैसाको खेलो भएको उनको तर्क छ । कला र गलाको उचित मूल्याङ्कन हुनुपर्ने उनी बताउँछिन् । लोभले संगीत बजारलाई बिगारेको उनको बुझाई छ । गीतसंगीतमा आवश्यकता भन्दा बढी लगानी भइरहेको उनी पाउँछिन् । भन्छिन्,‘गीतमा नचाहिँदो लगानी भएको छ । जसले नयाँ आउने कलाकारलाई अफ्ठ्यारोमा पारिरहेको छ ।’ सिर्जना राम्रो हुँदाहुँदै पनि महङ्गो भिडियो निर्माण गर्न नसक्दा समस्या भोग्नुपरेको अनुभवका आधारमा जिसी बताउँछिन् । लोकदोहोरीमा मौलिकता हराएको उनी पाउँछिन् ।

लहरको पछाडी नलागी संगीतमा बुझेर सिकेर आउन नयाँलाई उनको आग्रह छ । पोखरामा होटल र दोहोरी रेष्टुरेण्ट संचालन समेत गरेकी तुलसा कलाकार अब उद्यमशिल पनि बन्नुपर्ने बताउँछिन् ।

नेपालका अधिकांश जिल्ला र एक दर्जन भन्दा बढी देशमा पुगेर सांगीतिक प्रस्तुति गरिसकेकी तुलसा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीको प्रथम उपाध्यक्ष हुन् भने सिटी रेवानको सहकोषाध्यक्ष पदमा छिन् । उनी क्षत्री समाजको केन्द्रिय सदस्य समेत हुन् ।

Comments
Loading...