काठमाडौं :
हिटहिट फिल्म दिएकी अभिनेत्री उपसना सिंहको पहिलो अभिनित म्युजिक भिडियो ‘बिजुली’ बोलको सार्वजनिक भएको छ । भिडियो रिलिज भएको युटुबमा २४ घण्टा वितिसक्दा पनि दर्शकको अभाव देखिएको छ । अहिलेसम्म २७ हजार हाराहारी दर्शकले भिडियो हेरेका छन् ।
गायक जनक ताम्राकारको स्वरमा सार्वजनिक भएको यो गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोमा निराजन र उपासनाको रोमान्टिक अवतार हेर्न सकिन्छ । भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ ।
भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् भने छायांकन उत्तम हुमागाँइको छ । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ रहेको छ ।