सुचना, समाचार र मनोरन्जन

स्कुलको ड्रेस नै दसैंको नयाँ लुगा हुन्थ्यो : उत्तम केसी

काठमाडौं :

नेपालीहरुको महान चाड बडादसंैको आज विजया दशमी । देशभर मान्यजनबाट टीका ग्रहण गर्दै हर्षउल्लासका साथ मनाइरहेका छन् । यसै अवसरमा हास्यकलाकार,लेखक तथा निर्देशक उत्तम केसी (चुइँ चुइँ पारेर)सँग भोला अधिकारीले दसैं विशेष कुराकानी गरेका छन् । उनीसँग गरेको कुराकानीको अंश :

दसैं कसरी मनाउँदै हुनुहुन्छ ?

घर परिवार तथा आफन्तका साथ दसैंमा टीका लगाएर भेटघाट गरेर मनाउने तयारीमा जुटेको छु ।

बाल्यकालको दसैं र अहिलेकोमा कति फरक छ ?

बाल्यकालमा नयाँ लुगा लगाउनका लागि दसैं नै कुर्नुपर्ने हुन्थ्यो । दसैं आउन साथ नयाँ लुगा लगाउन पाइन्थ्यो । नत्र वर्षौ समयसम्म पुरानै लुगा लगाउनु पर्ने हुन्थ्यो । दसैंको लुगा किनिहालियो भने पनि स्कुलको ड्रेस हुन्थ्यो। त्यहि लगाएर मामाघर जाने, आफ्ना आफन्तकामा गएर टीका जमरा थाप्ने गर्थे । किनभने त्यो समयमा अरु लुगा खासै किनिदैन थियो ।

दसैं भनेपछि बासँग खसी किन्न बजार जानुहुन्थ्यो होला,केहि प्रष्ट पारिदिनुस् न?

खसी किन्न होइन । हामी बेच्न जान्थौ । खसी,कुखुरा बेच्न बा र म बालाजु नेपालटारबाट थैटी क्षेत्रपाटीमा रहेको छ । त्यहाँ ल्याउँथौ । खसी बेच्न डो¥याउदै हिड्ने अनि कुखुरालाई काखीमा च्यापेर बेच्न जान्थ्यौँ । त्यो बेला खसी,कुखुरा,हाँस, लगायतका बेचबिखन गर्ने ठाउँ त्यहाँ थियो।

अहिले पो बजार र बस्ती बढेका कारण अन्त सरे । पहिलाको मुख्य बजार त्यहाँ थियो । खसी, कुखुरा बेचेको पैसाले क्षेत्रपाटीमा एउटा बाहुनको कपडा पसल थियो । त्यो बाहुनको पसलमा हामी लुगा किन्थ्यौँ । नयाँ लुगा किनेपछि रमाउँदै घर जान्थौं ।

अहिले दसैं निकै परिवर्तन भएको देखिन्छ । तपाईको बिचारमा पहिला र अहिलेको दसैंमा कुन रमाइलो लाग्छ ?

दसैं त पहिला कै रमाइलो नि । अहिले त कहाँ रमाइलो छ र ? अहिलेको दसैं डिजिटल भइसक्यो ।

दसैंमा टीका थापेपछि दक्षिणा दिने चलन छ । पहिला पनि थियो। त्यो पाएको दक्षिणा केमा खर्च हुन्थ्यो ?

खै के गरिन्थ्यो,गरिन्थ्यो । स्कुल जाँदा कहिले बरफ खाइन्थो, कहिले के किनिथ्यो । त्यो बेला खुवा बरफ भन्ने हुन्थ्यो । दुइतर्फ झुन्ड्याएर थर्मसमा ल्याउने गरेको थियो । त्यसमा चट्ट लाएर खुवाको बरफ काटेर सिन्काले घोचेर दिन्थ्यो । त्यो क्षण निकै रमाइलो थियो । अहिले पनि मलाई दसैंको समयमा ति दिनहरुको याद आउने गर्छ ।

दसैं लागेपछि मन्दिर जाने,चङ्गा उडाउने पहिला पहिला होड बाजी नै चल्ने गरेको सुनिन्छ । तपाईले चङ्गा उडाउनुभयो कि भएन ?

ए,म त बिहान चारै बजे उठेर घर छेउका मन्दिरमा पुजा गर्न पुग्थेँ । घर छेउमा महादेवको मन्दिर छ ,त्यहाँ पहिला दीप बाल्ने र त्यही नजिकै रहेको गुह्ेश्वरी,शोभा भगवती, मनमैजु मन्दिर घुम्ने पुजाअर्चना गर्ने गर्थेँ ।

चङ्गा उडाउने काम पनि त गरियो होला नि ?

कति उडाइयो उडाइयो । चङ्गा उडाउने त म च्याम्पियन नै थिए । अरुको चङ्गा चेट पारेर झगडा समेत परेको अवस्था थियो ।

चङ्गा उडाउँदा पनि झगडा पथ्र्यो र ?

पथ्र्यो नि । चङ्गा लुट्न जानुपथ्र्यो,चङ्गा चेट भएपछि चङ्गा छोप्नलाई दौडिनुपथ्र्यो । त्यसरी छोप्न जाँदा आफु भन्दा अघि जानेलाई छिर्के हानेर लडाउथेँ नत्र उसले उछिनिहाल्थ्यो । यति गरेपछि उ चुप लागेर बस्दैन थियो । उनीहरु चुप नलागेपछि हानाहान परिहाल्थ्यो ।

आफुले कुटाई खाइयो कि खाइएन ?

मैले कहिलै पनि कुटाई खाइनँ । किनभने म कुटाई खाने माहोल बन्यो भने पहिला नै कुलेलाम ठोकिहाल्थेँ । आफुले जित्ने अवस्था आएमा मात्रै बस्थेँ नत्र टाप कस्थेँ । मैले कुटेपछि आमा बाउ बोलाउन घर जान्थेँ केटाहरु त्यो समयमा म भागेर कहाँ पुग्थेँ पुग्थेँ । मलाई कुट्नका लागि भेला भएकाहरु नभेटेर आफै घर फर्किन्थेँ । त्यस्तो अवस्था थियो ।

लडाईमा जाँदा तपाईको पनि ग्याङ थियो कि ?

मेरो कोही पनि थिएन । अहिले पनि मेरो घनिष्ट मित्र छैनन् । म पहिलाबाट नै एक्लै हो । म सिङ्गल लड्ने हो ।

अनि तपाईले यतिका वर्ष विभिन्न चाडपर्व मनाउदै आउनुभएको छ । तपाईलाई दसैं चाड कस्तो लाग्छ ?

मलाई रमाइलै लाग्छ । दसैंले भेटघाट आफन्तजनमा गराउँछ । यो निकै राम्रो पक्ष हो ।

दसैको राम्रो पक्ष के हो ?

देश परदेश गएका आफ्ना आफन्तको भेट हुने एउटा पर्व हो । यहि क्रमा छरछिमेक,साथीभाई इष्टमित्र सबैको भेट हुन्छ । रमाइलो हुन्छ । विदेश गएकाहरुको पनि परिवार जम्मा हुने हुँदा यो दसैंको राम्रो पक्ष हो ।

अनि नराम्रो पक्ष चाही के लाग्छ ?

नराम्रो पक्ष चाँही काटमार नै हो । बलिप्रथा एकदमै नराम्रो लाग्छ । म शाकाहारी त हैन तर पनि यो काटमार गर्ने चलन चाही मन पर्दैन । अनि यो काटमार नभए हुन्थ्यो जस्तो लाग्छ ।

कमेन्ट्स
Loading...